
नेपालगञ्ज उपमहानगरपालिका, नेपालको एक प्रमुख सीमावर्ती सहर, जहाँ व्यापार, सांस्कृतिक विविधता, र धार्मिक आस्थाले आफूलाई अद्वितीय रुपमा उभ्याएको छ। यस शहरका गल्ली, सडक, बजार र बस्तीहरुमा विभिन्न जात, धर्म, संस्कृति र समुदायको आत्मिय सह–अस्तित्व पाइन्छ। यिनै सामाजिक र धार्मिक मूल्य–मान्यता समेट्ने स्थलहरूमध्ये नेपालगञ्ज–२० स्थित पशुपतिनाथ मन्दिर एक महान ऐतिहासिक, धार्मिक र पर्यटकीय थलोको रूपमा विकसित भइरहेको छ।

➤ सहर भित्रको आध्यात्मिक वन : सुरुवाती चरण
बि.सं. २०४५ तिर, जब यो स्थान अझै वनजंगलको स्वरूपमै थियो, त्यतिबेला एक साधुज्यू—पण्डित श्री रामेश्वर प्रसाद आचार्य—ले वरको वृक्षमुनि वास गर्न थाल्नुभयो। उहाँले निरन्तर ध्यान, जप, तप गरेर भगवान शिवको आराधना गर्नुभयो। कुनै मूर्ति थिएन, कुनै मन्दिर थिएन—एक बृक्ष, केही घाँस–जङ्गल र उहाँको शुद्ध चित्त मात्र थियो। त्यसै ठाउँमा एकान्तवासमा जीवन समर्पण गरेका त्यो साधुजी अन्ततः ब्रह्मलीन हुनुभयो। उहाँको तपोभूमि मानिएको यस स्थानलाई पछि दैविक शक्तिको वासस्थानका रूपमा सम्मान गर्न थालियो।

त्यही समयमा बिहानको समय, मर्निङ वाकमा गएका केही नेपाली सेना गणका जवानहरू उहाँको समाधिमा पुगेको देखेर स्तब्ध भए। तत्कालिन सेनाका गणपति श्री यादब बहादुर रायमाझीको अगुवाइमा उक्त स्थानको महत्वलाई आत्मसात गर्दै त्यहाँ मन्दिर निर्माण गर्ने संकल्प गरियो।
➤ काठमाडौँबाट शिवलिङ्ग ल्याइयो
योजना अनुसार नेपाली सेनाले राजकीय गोपनियताका साथ काठमाडौँस्थित राष्ट्रदेव पशुपतिनाथ मन्दिरबाट शिवलिङ्ग झिकि नेपालगञ्जमा प्रतिस्थापन गर्ने निर्णय गर्यो। त्यसै अनुरूप, फाल्गुन १५ गते, बि.सं. २०४५, धार्मिक विधिपूर्वक शिवलिङ्गलाई प्रतिस्थापन गरी भव्य पूजाआजा सम्पन्न गरियो। राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको बाहुलीद्वारा सम्पन्न सो पूजालाई धेरै प्रचार नगरिएको भए पनि, यसले त्यो स्थानलाई एक प्रतिष्ठित धार्मिक क्षेत्रको रूपमा स्थापित गर्यो।

➤ मन्दिरको विस्तार र संरचना
यो मन्दिर अहिले झण्डै १३ बिगाहा क्षेत्रफलमा फैलिएको छ। यहाँको मन्दिर क्षेत्र मात्र होइन, वरिपरिका हरियाली, वनस्पति, र आध्यात्मिक वातावरण पनि आकर्षणको केन्द्र बनेको छ।
मन्दिर परिसरमा रहेका देवालयहरू यस्ता छन्:
मुख्य मन्दिर: शिवलिङ्गसहितको पशुपतिनाथ मन्दिर
शिव पञ्चायत: शिव, गणेश, नारायण, सूर्य, देविका
अन्य मन्दिरहरू:
उत्तर दिशामा नागस्थान
पूर्व–दक्षिण दिशामा भैरव, मष्टा देवता, भवानी मन्दिर
श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्थानीय बासिन्दाहरूको श्रमदानमा बनेको श्रीकृष्ण मन्दिर
निर्माणाधीन माता स्वस्थानी मन्दिर
साथै, वर्षेनी १०८ शिवलिङ्गको अभिषेक, रुद्री, शिवमहिमा स्तोत्र, श्रावण पाठ, बाला चतुर्दशीमा सतबीज छर्ने कार्य आदिले धार्मिक गतिविधिलाई जीवन्त बनाएको छ।
➤ हरियाली र बनस्पतिको आध्यात्मिक महत्व
मन्दिर परिसरमा लहरिएका फलफूल र औषधीय बनस्पतिहरूले यस स्थानको आध्यात्मिक महत्त्वलाई अझ सुगन्धित बनाएको छ। यहाँ रहेका वृक्षहरूमा निम, बर, पिपल, रक्तचन्दन, पारिजात, बेलपत्र, आक, अमला, कल्पवृक्ष, सिसौ, जामुन, केरा, आँप, सिन्दुर आदि पाइन्छन्। ती बनस्पतिहरू न केवल सजावटका लागि, तर प्रकृतिसँगको आत्मिक सम्बन्ध र ध्यानको ऊर्जाका लागि पनि राखिएका हुन्।
यस हरियालीले ध्यान, योग, तपस्या र मानसिक शान्तिको वातावरण सिर्जना गरेको छ। यहाँ समय बिताउने जोकोहीले शारीरिक, मानसिक र आध्यात्मिक ताजगीको अनुभूति गर्छन्।
➤ सामाजिक योगदान र सहभागिता
स्थानीय बासिन्दाहरू, समाजसेवी, तथा धार्मिक अगुवाहरूको संघर्ष र समर्पणले आजको पशुपतिनाथ मन्दिरको आकार लिएको हो। स्थानीय पण्डित श्री मोहनप्रसाद दाहाल प्रारम्भदेखि नै पूजाआजा तथा व्यवस्थापनमा समर्पित रहँदै आउनु भएको छ।
बि.सं. २०८० साल असार १५ गते श्री नवराज भण्डारीको अध्यक्षतामा २१ सदस्यीय मन्दिर व्यवस्थापन समिति गठन गरियो। यस समितिमा श्री जय बहादुर हितान (उपाध्यक्ष), गोपाल बुढाथोकी (सचिव), कल्पना बानियाँ (कोषाध्यक्ष) लगायतका सदस्यहरू सक्रिय छन्।
समाजसेवीहरू — पदम अर्याल, सुरज आचार्य, नवराज सापकोटा, कल्पना थापा, लालबहादुर थापा आदि — धार्मिक जागरण अभियानमा जुटेका छन्। समितिको प्रयासमा ८०० जना क्षमताको धर्मशाला निर्माण प्रारम्भ गरिएको छ, जसमा नेपालगञ्ज–२० वडा कार्यालयबाट रु. ९,४४,०००, र जनसहभागिताबाट थप रु. ६ लाख खर्च भइसकेको छ।
➤ धार्मिक सद्भाव र सामाजिक एकता
नेपालगञ्ज सहर — विशेषतः वडा नं. २० — जात, धर्म, संस्कृति र समुदायको बहुलता भएको क्षेत्र हो। यहाँका बासिन्दाहरूले आफ्ना पारम्परिक चालचलन र पर्वहरूलाई जीवन्त राख्दै सामाजिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।
“नाइस नेपालगञ्ज” द्वारा स्थापित धार्मिक सद्भाव समितिले युवाहरुलाई साम्प्रदायिक मेलमिलाप, सहिष्णुता र आपसी सम्मानका लागि प्रेरित गरिरहेको छ।
पशुपतिनाथ मन्दिर आज केवल पूजा आराधनाको केन्द्र मात्र नभई, धार्मिक पर्यटनको सम्भावना बोकेको धरोहर बन्ने दिशामा अग्रसर छ। नेपालगञ्ज–२० बाट कैलाशमानसरोवर मार्गको सम्भावना, स्वस्थानी र १०८ शिवलिङ्ग जस्ता आयोजनाहरू, र सामाजिक सहभागिताले यस क्षेत्रलाई राष्ट्रीय र अन्तर्राष्ट्रिय धार्मिक पर्यटन नक्सामा स्थापित गर्ने संभावना उच्च छ।
नेपालगञ्जको कोलाहलबाट केही भित्र रहेको यो शान्त, स्वच्छ र आध्यात्मिक स्थलले जनचेतना, संस्कार, सद्भाव, र राष्ट्रप्रेमको सुगन्ध फैलाइरहेको छ।









