सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाको वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि–२०८२ को मस्यौदा तयार गरेकोछ ।
वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि–२०८२ को मस्यौदालाई क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) र आइ. एम. स्वीडिस डेभलोप्मेन्ट पाटर्नरले कपुरकोट गाउँपालिकाको समन्वयमा उक्त मस्यौदा तयार गरेको हो ।
तयार भएको मस्यौदा कार्यविधिलाई पालिकासंग छलफल गरि कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताइएको छ । यो कार्यविधि नेपालमै पहिलो पटक पालिकाले बनाएको समन्वय गर्ने संस्था क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले असल शासनलाई बताए । शनिवार मस्यौदा कार्यविधिलाई क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले औपचारिक रुपमा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनलाई हस्तान्तरण गरिएको क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलास बिक्रम शाहीले बताए ।

गाउँपालिकामा सामाजिक संघसंस्था, नीजि तथा सरकारी विद्यालय, निर्माण क्षेत्र, व्यवसायी, सरकारी कार्यालय, उद्योग, फार्म, आदिबाट गरिने काम तथा कार्यहरु वातावरणमैत्री तथा हरित कार्य होस भन्ने उद्धेश्यले कार्यविधि तयार गरिएको बताइएको छ ।
तयार गरिएको मस्यौदा कार्यविधिमा कार्यान्वयनमा पालिका भित्र फोकल ईकाइ तोक्ने, गाउँपालिका योजना र बजेटमा हरित कार्य सञ्चालन एकीकरण गर्ने, आधारभूत वातावरणीय मूल्याङ्कन तयार गरि लागु गर्ने, क्षमता अभिवृद्धि र तालिम संचालन गर्ने, जनचेतना अभियान संचालन गर्ने, एकल–प्रयोग प्लास्टिकमा निषेध र कार्यान्वयन गर्ने, फोहोर व्यवस्थापन र पुनर्चक्रण प्रणाली लागु गर्ने, पर्यावरण–मैत्री यातायातको प्रवद्र्धन गर्ने, हरित खरिद नीति कार्यान्वयनमा ल्याउने, पानी र ऊर्जा दक्षता उपायहरू अबलम्बन गर्ने, साझेदारी विकासका लागि सहकार्य गर्ने, समुदाय र व्यवसाय संलग्नता गराउने, नियमित अनुगमन र मूल्याङ्कन गर्ने र वार्षिक समीक्षा र प्रक्रिया अद्यावधिक गर्ने लगायतको प्रमुख कार्यहरुलाई समेटेको छ । क्लिन अप नेपालले देश भरीनै वातावरण संरक्षण र सरसफाई प्रबद्र्धनमा कार्य गर्दै आएको छ ।










