टीआइको स्थापना दिवसमा आचारसंहिता माथि छलफल

हेमराज भट्ट

काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले काठमाडौमा ३० औं स्थापना दिवसको अवसरमा मन्त्रीपरिषदका सदस्यहरुको प्रस्तावित आचारसंहिताको मस्यौदा माथि छलफल गरेको छ ।
छलफल कार्यक्रम टीआई नेपालका अध्यक्ष मदन कृष्ण शर्माको अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अवसरमा न्यायालय, संबैधानिक निकाय, मन्त्रालय, संसद सचिवालय, पूर्व न्यायाधिश, सरकारी कार्यालय, संघसंस्था, पत्रकार, टीआई नेपाल आबद्ध सदस्यहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसमा सन्देश प्रवाह गर्दै संस्थाका अध्यक्ष शर्माले सरकारले जनमुखी कार्य भन्दा निजी स्वार्थपूर्तिका लागि नियम, कानून समेत परिवर्तन गरी भ्रष्टाचारमा लिप्त भएको अनुभूति भएकाले मन्त्रीपरिषदकालागि आचार संहिताको विषय छलफलमा ल्याएको बताए । उहाँले देश आर्थीक रुपमा अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै बिद्यमान अवस्था आउनुमा भ्रष्टाचार नै प्रमुख कारण रहेको जनाए।

छलफलमा संस्थाका पुर्व अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव भरत बहादुर थापाले मन्त्रीपरिषद्का सदस्यहरुको निमित्त प्रस्तावित आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै मन्त्रीहरुले आफ्नो निष्ठा र ब्यवहारमा लोकतान्त्रीक मुल्य र मान्यतामा दृढ रहने, संविधान र कानुनको मर्म र भावना विपरित नजाने, सार्वजनिक हितलाई सर्वोपरी ठान्ने, सार्वजनिक आचरण स्वच्छ बनाउने, काम गर्ने प्रकृया र शैली विश्वसनीय तथा जनमुखी हुने, कर्मचारीहरुसँगको ब्यवहार आत्मसम्मान र आत्मविश्वाश बढाउने खालको हुनुपर्ने, नीजी जीवन र आचरण सादा र सरल हुनुपर्ने जस्ता विषयहरु उठाएका थिए ।
सो अवसरमा प्रमुख अतिथि माननीय राजेन्द्र प्रसाद लिङ्देनले आचार संहिताको मस्यौदा अगाडी बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धता गरे। छलफलका सहभागिहरुले आचार संहिता मन्त्रीपरिषद, ब्यवस्थापीकाका सदस्यहरु र समग्र राजनीतिक क्षेत्रमा लागु हुनुपर्ने सुझाव दिए। छलफलमा पुर्व न्यायाधिश टोप बहादुर सिंहले बोलेका थिए भने संस्थाकी कोषाध्यक्ष सुनीता गुरुङले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech