नेपालगन्ज/सुशासनको क्षेत्रमा क्रियाशिल संस्था बास नेपालको ५१ औँ पुर्णकालिन बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
बर्दियाको ठाकुरद्धारामा साउन ३१ गते सम्मन्न भएको पुर्णकालिन बैठकले भ्रष्टाचार बिरुद्धको अभियानलाई थप सशक्त बनाउन जिल्ला शाखाहरुको सशक्तिकरण तथा क्षमता अभिबृद्धि गर्ने लगायतका निर्णयहरु गरेको छ ।
हरेक चार महिनामा हुने बैठकले चार महिनामा भएका कार्यक्रम तथा उपलब्धिको समिक्षा तथा आगामी चार महिनाको सांगठनिक कार्ययोजना तयार गरेको छ । बैठकले आगामी मंसिर २४ गते संस्थाको रजत जयन्ती बनाउने, आगामी चार महिनामा असल शासन यात्रा गर्ने, संस्थालाइ डिजिटाइजेशनमैत्री बनाउने, असल शासन प्रबद्र्धनका लागी हरेक महिना देशब्यपि साझा कार्यक्रम गर्ने, संस्थाको भवन निर्माण कार्यलय सहयोग पुग्ने गरी १ हजार अभियान सञ्चालन गर्ने, लगायतका २० वटा महत्वपुर्ण निर्णय गरेको बास नेपालका महासचिब तथा प्रवक्ता कल्पना अधिकारीले जानकारी दिइन् ।

बैठकमा चार महिनाको अवधीमा केन्द्र तथा सबै शाखाहरुले गर्ने साझा कार्यक्रहरु तय गरिएको छ । जस अन्र्तगत भाद्र महिनामा भ्रष्टाचार बिरुद्ध बिध्यार्थी जागरण कार्यक्रम गर्ने, असोज महिनामा संबिधान दिवस मनाउने, कार्तिकमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम, मंसिरमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बिबिध कार्यक्रम सञ्चालन गर्ने रहेकाछन् ।
बैठकको अध्यक्षता संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने संचालन महासचिव कल्पना अधिकारीले गरेका थिए । बैठकमा संस्थाका उपाध्यक्ष खुमेश सुवेदीले सांगठिन प्रतिवेदन, कोषाध्यक्ष धिरेन्द्र शाहीले आर्थिक प्रतिवेदन र कार्यकारी निर्देशक नमस्कार शाहले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।









