नेपालगन्ज/ बाँकेकी जगदिश्वरी शाह (जस्मिन) मिस नेपाल २०२५ को प्रतिष्पर्धामा छन् ।
द हिडन ट्रेजर्सको आयोजनामा हरेक बर्ष हुने मिस नेपाल २०२५ मा शाह बिभिन्न चरणहरु पार गर्दै अन्तिम प्रतिष्पर्धामा प्रबेश गरेकि हुन् ।
८ नम्वर प्रतिष्पर्धी उनले मिस नेपालको मन्च मार्फत आफ्नो कामको प्रभावलाई धेरै व्यक्तिहरु समक्ष पुर्याउने लक्ष्य बोकेकी छन् । मिस नेपाल २०२५ अन्तरगत पब्लिक च्वाईस अवार्डका लागि हाल भईरहेको भोटिंगमा अग्रपंतिमा छन् ।
देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्दै आएका २६ जना प्रतियोगि मध्येकी एक शाहले डुडुवा गाउँपालिका हिरमिनियाँमा रहेको मगन्ताबस्तीको उत्थानको लागि काम गर्ने योजना अघि सारेकी छन् ।

उनका अनुसार, मिस नेपालका लागि गर्नु पर्ने ब्यूटी विथ अ प्रपोजज परियोजनाको लागि, नेपालको सबैभन्दा सीमान्तकृत समूहहरू मध्येको एक, बाँकेको मगन्त समुदायलाई उनले छनौट गरेकि छन् ।
१२५ भन्दा बढी घरपरिवार रहेको हिरमिनियाँको मगन्ता टोलमा जम्मा ४ वटा मात्रै शौचालय हुनुका साथै एउटा पनि सार्वजनिक शौचालय नभएको कुराको महसुस गर्दै उनले खुला दिसापिसाब गर्नुपर्ने दैनिक वास्तविकतालाई परिवर्तन गर्न सहयोगको योजना अघि सारेकि छन् ।
पुस्तौंदेखि, ६ महिना मागेर हिँड्ने र मागेर जम्मा भएको रकम र खाद्यान्नबाट ६ महिना गुजारा गर्ने सो समुदायका नागरिकहरु चरम गरिबी र बहिष्करणको चक्रमा छन् । हाल आएर सो पेशामा केही परिवर्तन आएता पनि आमुल परिवर्तन हुन नसकेको कुरालाई महसुस गर्दै उनले सो समुदायको सामाजिक रुपान्तरणमा आफ्नो ध्यान केन्द्रित गरेको उनले बताईन् ।
सशक्त मगन्ता नामक परियोजना मार्फत उनले पर्यावरणमैत्री शौचालय निर्माण, बालबालिकाहरुको शिक्षाका लागि सहयोग, महिलाहरूलाई सिपमुलक तालिम, बजारिकरणमा सहयोग गर्नका लागि प्रश्ताव गरेकि छन् ।
१२ वर्षदेखि सामाजिक क्षेत्रमा कार्यरत उनले आफ्नै जिल्लामा रहेको अति सिमान्तकृत समुदायको उत्थानका लागि काम गर्ने योजना बनाउन पाउँदा खुशी लागेको उनले बताईन् ।

कोहलपुर नगरपालिकाका फर्केका आप्रवासीहरूसँग कम्युनिटी फ्रन्टलाइन एसोसिएट (CFA) को रूपमा काम गरेकि उनले परियोजना बारे भनिन् –यो परियोजना केवल मगन्ता समुदायको उत्थानको परियोजना मात्र होइन, यो नेपालभरि ठूलो प्रभाव सिर्जना गर्ने सामाजिक कदम हो । निर्भरतालाई सम्मान, आशा बिहिन भएका व्यक्तिहरुलाई आशाबादी बनाउने र कुनै पनि समुदाय राज्यको मूल प्रबाह भन्दा बाहिर बस्न नपरोस् भन्ने सामाजिक पैरबि पनि हो ।
अछामको बिकट तुर्माखाँद गाउँपालिकामा जन्मिएर सोही ठाउँमा रहेको सरकारी बिद्यालयमा कक्षा ९ अध्ययन गर्दा १२ बर्षकै कलिलो उमेर देखि उनी सामाजिक कार्यमा अग्रसर छन् । अछाममा हालसम्म रहेको छाउपढि प्रथालाई उनले नजिकबाट नियालिकि छन् । आफ्नै उमेरका कैयौं दौँतरीहरुले छाउ गोठमा बिताएका कष्टकर दिनहरुलाई उनले राम्ररी महसुस गरेकि छन् । त्यहि महसुसिकरणले होला उनले छाउपढि कुप्रथाका बिरुद्ध गाउँ, गाउँमा सडक नाटक प्रर्दशन गरिन् । छाउपढि प्रथा बारे गरिएका अध्ययनमा अध्ययनकर्ताको रुपमा सरिक भईन् ।

सानै देखि भलिबल खेलाडीको रुपमा बिभिन्न प्रतियोगितामा सहभागि भई प्रतियोगितामा बिजयि भएकि शाहले नेपालगञ्ज कल्चरल फेशन शोमा फस्ट रनर अपको ताज जितेकि थिईन् ।
अछामबाट एसएलसी उतिर्ण गरि उनले नेपालगन्जबाट बिबिए र काठमाडौबाट एमबिए सम्मको शिक्षा हाँसिल गरेकी छन् ।
पढाईमा मेघाबी शाह सानै उमेर देखि सामाजिक कार्यमा अग्रसर छन् । भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपाल, एकाउन्टबिलिटी ल्याब, राष्ट्रिय अपाङ्ग महासँघ नेपाल मार्फत सुशासन प्रबद्र्धन, अपाङ्गता अधिकार प्रबद्र्धन र सामाजिक न्यायका लागि कार्य गर्दै आएकी शाह सार्वजनिक बक्तव्यमा लोकप्रिय छन् । उनी हाल युएस एम्बेस्सी युथ काउन्सिल मेम्बर छन् । उनले दर्जनौँ पब्लिक स्पिच कम्पिटिशनहरु जितेकी छन् ।
उनले पोखरा युनिभर्सिटिबाट डि लिस्ट अवार्ड (हाईयस्ट एकेडेमिक अवार्ड) प्राप्त गर्नुका साथै बिश्वबिद्यालयबाट स्नातक र स्नातकोत्तरमा पूर्ण छात्रबृत्ति प्राप्त गर्न सफल भएकि थिईन् ।

बैदेशिक रोजगारबाट फर्केका युवाहरु र कोहलपुर नगरपालिका बिच दोहोरो सम्बाद गराउँदै सम्बन्ध स्थापित गरि बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि नगरपालिकाबाट बजेट बिनियोजन गराउन सफल शाह २०२४ मा क्लाईमेट जस्टिस नेटवर्कमा थिंकट्याँक मेम्वरको रुपमा काम गरेकि थिईन् भने २०२४ मैं एकाउण्टबिलिटि ल्यावबाट सञ्चालित युथ ईन स्ट्रेन्थिंग डेमोक्रेसिको फेलोको रुपमा छनौट भई कार्य गरेकि थिईन् । । शाह अमेरिकन एम्बेसिबाट गरिएको खुला आह्वानबाट देशभरिका टप ५५ युवाहरुमा परि युएस एम्बेस्सी युथ काउन्सिल मेम्बरको रुपमा छनौट भई कार्यरत छन् ।
मिस नेपाल २०२५ को ग्राण्ड फिनाले आगामी भदौ १४ गते गोदावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा आयोजना हुने छ ।









