भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा झापाका प्रतिभावान गायक अर्जुन खरेलले उत्कृष्ट लोकपप गायक अवार्ड हात पारेका छन् ।

निकिला मिडिया नेटवर्क, एस.एम.पि. र ग्रीन लाइफ योग दनाङ्गको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल र भियतनामका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नेपालबाट साहित्य, संगीत, उद्यमशीलता, कानुन, स्वास्थ्य र समाजसेवा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरिएको हो।
झापाका अर्जुन खरेलले आफ्नो चर्चित गीत ‘दुई चुल्ठी’ का माध्यमबाट लोकपप क्षेत्रमा खास पहिचान बनाउन सफल भएका छन् भने अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकपप गीतको प्रतिष्ठा बढाएको भन्दै खरेललाई उक्त अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा भियतनामको पूर्व राष्ट्रपतिकी बुहारी हुयेन थि लिउ प्रमुख अतिथि रहनु भएको थियो। पूर्व राष्ट्रपतिकै हातबाट अर्जुन खरेलसहित नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो।
यो उपलब्धि अर्जुन खरेल मात्र नभई समग्र झापाली र नेपाली संगीत क्षेत्रकै गौरवको विषय बनेको छ।
गायक अर्जुन खरेल गायनको अलावा शुसासनको क्षेत्रमा काम गर्दै आएको बास नेपाल झापा शाखा अध्यक्षको रुपमा पनि काम गर्दै आएका छन् ।









