काठमाडौँ / जेन–जी आन्दोलन दोस्रो दिन थप आक्रामक बनेको छ। राजधानीसहित देशका विभिन्न ठाउँमा प्रदर्शनकारीले मन्त्री र शीर्ष नेताहरूको घर तोडफोड रआगजनी गरेका छन्।
बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । त्यस्तै ललितपुरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा ढुंगा प्रहार गरिएको छ। सोमबार मात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरसमेत जलाइएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित निवासमा समेत ढुंगा प्रहार भएको छ। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घर प्रदर्शनकारीले जलाएका छन्। त्यस्तै, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पनि ढुंगा प्रहार गरिएको छ। आन्दोलनकारीले ठुला राजनीतिक दलका बिभिन्न स्थानका पार्टी कार्यालय, नगरपालिकाका कार्यालय र जिल्ला प्रशासन कार्यामा समेत तोडफोड र आगजनी गरेका छन् । राजधानीसहित देशभरि फैलिएको जेनजी आन्दोलन नेतामाथिको जनआक्रोशको स्वरूपमा देखिएको छ, जसले आन्दोलनलाई अझै चर्काउने संकेत गरेको छ।









