काठमाडौं / नेपाली सेनाले देशभर निशेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा वस्थालाई मध्यनजर गर्दै साे आदेश जारी भएको सेनाले सूचना मार्फत जानकारी दिएकाे छ ।
आजका लागि साँझ ५ बजेसम्म निशेधाज्ञाकाे समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।
व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाकाे भनाइ छ ।
अपराधजन्य गतिविधि नियन्त्रणको कार्यमा सहकार्यका लागि नेपाली सेनाले सबैलाई आह्वानसमेत गरेको छ । आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।
साथै राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास सेनाले लिएको छ ।









