अर्गानिक खेतीबाट आत्मनिर्भर स्थानीयहरु

असल शासन प्रतिनिधि

सुर्खेत/  बिरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ लाटिकोईलि तिलपुरका कृषकहरु अर्गानिक तरकारी खेती उत्पादनमा अग्रसर छन् ।

उक्त वडामा रहेको साना किसान कृषक समूह २०७३, २०७४ देखि कृषि कार्यमा संलग्न छ ।

लाटिकोईलि तिलपुरका २१ जना कृषकहरुले ७ बिगाह जग्गामा तरकारी र खाद्यान्न खेती गरेर अर्गानिक उत्पादन गरि बिक्रि, बितरण गर्दै आएका छन् ।

पिजिएस सर्टिफाईड समूहको रुपमा सक्रिय रहेको उक्त समूहले प्रांगरिक उत्पादनका लागि आफुसँग भएको जग्गामा रसायनिक मल प्रयोग नगरि सुधारिएको माटो, मलबाट तरकारी उत्पादन गर्ने गरेका छन् ।

अर्गानिक तरकारीका लागि तिलपुर सुर्खेत क्षेत्रमा लोकिप्रिय छ । उत्पादन धेरै, खपत कम हुने समस्याबाट पीडित रहेका उनीहरुले कम्तिमा सवा लाख देखि बढिमा १४ लाख सम्म बार्षिक आम्दानी गर्ने गरेका छन् । स्थानीय कृषक अगुवा राम कुमारी चौधरी एक सिजनमैं ३ लाख बढि रकम तरकारीबाट आम्दानी गर्छिन् ।

२१ जना समूहमा आबद्ध कृषकहरु पूर्णरुपमा तरकारी खेतीमा निर्भर छन् । उनीहरुको आयश्रोत भनेकै तरकारी हो । शुरुवाती देखिनै कोपिला भ्याली सेवा समाजबाट सहयोग पाईरहेका उनीहरुको स्थानीय उत्पादन राम्रो मूल्यमा कोपिला भ्याली सेवा समाजले नियमित खरिद गर्ने गरेको छ ।

उक्त संस्थाले अर्गानिक उत्पादन बाहेक अन्य उत्पादनहरु खरिद गर्दैन । कोपिलाले खरिद गर्ने भन्दा बढि उत्पादन हुँदा बजार व्यवस्थापनमा असहज भएको, राम्रो मुल्य नपाईने गरेको स्थानीय कृषक अगुवा निता चन्दले बताईन् ।

कोपिला बाहेक बिचमा सिप्रेड बाहेक अन्य कुनै संस्थाले सहयोग नगरेको कृषक दिपेन्द्र कार्कीको भनाई रहेको छ ।

उनका अनुसार, कोपिलाले सिचाईं मोटर, कम्पोष्ट मल उत्पादनका लागि ट्रस्ट, बिउ, बिजन लगायतमा सहयोग गरिरहेको छ । संस्थाले लस र ड्यामेज फण्डका लागि १ लाख समूहलाई सहयोग गरेको संस्थाले जनाएको छ ।

सोही गाउँमा होमस्टे सञ्चालित छ । होमस्टे १० वटा घरमा छ । जसलाई पनि संस्थाले प्रबद्र्धन गरिरहेको छ । कोपिलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने गरेको छ ।

उत्पादन धेरै हुँदा बजारिकरणमा समस्या हुनुका साथै बेला, बेलामा मल, रोग, किराको समस्या कृषकहरुले भोग्नु परेको उनीहरुको भनाई रहेको छ । स्थानीय स्तरमा संकलन केन्द्र स्थापित छ, जहाँ सबै कृषकहरुले तरकारी पुर्याउने काम गर्दछन् ।

समूहको सशक्तिकरणमा योगदान पुर्याईरहेको संस्थाले संस्थाको कार्यालयमै हरेक शुक्रवार आयोजना गर्ने फामर्स मार्केटमा स्थानीयहरुले उत्पादनहरु बिक्रि गर्न पाउने गरेका छन् । तिलपुरको तरकारीको बिश्वसनियता सुर्खेत क्षेत्र भरि कायम रहेको छ ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech