नेपालगन्ज । बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष नहुने भएको छ ।
परिवर्तित राजनीतिक अवस्था र सुरक्षाका कारणले रामलिला यस बर्ष नगरिने भएको हो ।
घटस्थापनाबाट सुरु हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम गरिने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।
उनले ऐतिहासिक रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती हुने भएकाले रामलिला नगर्ने निर्णय गरेको बताए ।
यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन् ।
स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगन्ज्मा रामलिला महोत्सवको सुरुवात गरेको बताइन्छ ।









