नेपालगञ्ज / बाजुराको हिमाली गाउँपालिकामा स्थापना गरिएको राजेन्द्र बहादुर शाही स्मृति अक्षयकोषले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

यस वर्षको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरू मध्ये किशोर रोकायाले रु. ७,०००, दिलीप तिमिल्सिनाले रु. ५,००० र उर्मिला उपाध्यायले रु. २,००० नगद पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार ग्रहणपछि विद्यार्थीहरूले आफूलाई प्राप्त भएको सम्मानले अझ मेहनतपूर्वक अध्ययन गर्न प्रेरणा मिलेको बताउँदै अक्षयकोष, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष मल्लले गाउँपालिकाले शिक्षाको क्षेत्रमा गर्दै आएको प्रयासलाई अझै परिणाममुखी बनाउन यस्ता प्रेरणादायी कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलेको गरे। उनले शिक्षा नै समाजको दिगो विकासको आधार भएकाले विद्यार्थीहरूलाई अझ परिश्रमशील, इमानदार र जिम्मेवार बन्न आग्रह गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री दिपचन्द्र उपाध्यायको अध्यक्षतामा सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले र अक्षयकोषकी संस्थापक सदस्य श्रीमती भुवनेश्वरी शाहीले उत्कृष्ट विद्यार्थीहरूलाई aनगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
त्यस्तै अध्यक्ष उपाध्यायले स्व. राजेन्द्र बहादुर शाहीको सम्झनामा स्थापना गरिएको अक्षयकोषले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। आयोजक श्री जनता माबि ले कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरेको छ।









