नेपालको राजनीति आज त्यस्तो मोडमा पुगेको छ, जहाँ जनता निराशा भन्दा पनि आक्रोशित हुँदै गएका छन्। विगतका दशकमा भएका हरेक चुनावले जनतामा नयाँ आशा जगाएको थियो। तर हरेकपटक त्यो आशा निराशामा परिणत भयो। चुनाव आउँदा नेताहरू गाउँगाउँ पुग्छन्, मिठो भाषण गर्छन्, भविष्यका रंगिन तस्वीर कोर्छन्। तर चुनाव जितेपछि जनताको जीवन सुधार्ने भन्दा पनि आफ्ना कार्यकर्ता र आफन्तलाइ पोस्ने काम गर्ने, भ्रष्टाचारलाई संस्थागत गर्ने, र पाँच वर्षे कार्यकाललाई व्यक्तिगत स्वार्थ पूर्तिको साधन बनाउने कार्यमा उनीहरू रमाउने गरेको पाइन्छ।
आज म खुलेर भन्न सक्छु । आम नागरिकले अब कुनै पनि राजनीतिक दल वा तिनका नेता कार्यकर्ताबाट आशा गर्ने अवस्था छैन । किनभने विगतका अनुभवहरूले प्रस्ट देखाइसकेको छ । यी दलहरू विकास, सुशासन र पारदर्शिताका लागि नभई, सत्ताका लागि मात्र सक्रिय छन्। नेताहरू चुनावी सभामा चर्को स्वरमा भन्छन् अबका पाँच वर्षमा तपाईंहरूका समस्या अन्त्य हुन्छन्। सडक कालोपत्रे हुन्छ, बिजुली प्रत्येक घरमा पुग्छ, शिक्षा र स्वास्थ्य सबैका लागि सहज हुन्छ।” तर समय बितेपछि ती वाचा कागजमा मात्रै बाँकी रहन्छ। सडक उस्तै, अस्पताल उस्तै, विद्यालय उस्तै। काम भएपनि आफ्नो नाममा श्रेय लिने, नभए “स्रोत छैन, के गरौँ भन्ने प्रवृत्ति नेपालको राजनीतिक संस्कृतिको अभिन्न अङ्ग बनेको छ। जनताले दिएको विश्वासलाई सम्मान गर्ने साटो नेताहरूले जनतालाई मूर्ख ठान्ने प्रष्ट देखिन्छ।
जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाललाई हेर्ने हो भने त्यो विकास र नीति निर्माणभन्दा बढी भ्रष्टाचार र कार्यकर्ताको स्वास्र्थ पुरा गर्ने साधन बनेको छ। मन्त्रीदेखि वडाध्यक्षसम्म, सबैको प्राथमिकता भनेको “आफ्नो मान्छेलाई पद दिलाउने, ठेक्का दिने, सुविधासम्पन्न बनाउने” भन्ने हुन्छ। दक्ष र सक्षम कर्मचारीलाई पन्छाएर, पढ् लेख नै गर्न नसक्ने आफ्नै अन्धभक्त कार्यकर्तालाई सचिवसरह सुविधा दिने जस्तो अनैतिक अभ्यास सर्वसाधारण बन्दै गएको छ। यसरी दक्षताको हत्या गरेर कसरी राज्य अगाडि बढन सक्ला ? यस्तो कार्यशैलीलाई देख्दादेख्दै पनि हामी जनता फेरि पनि उही नेताहरूलाई दोस्रो कार्यकालमा जिताउन दौडिन्छौं। यो भन्दा ठुलो गल्ति अरु के हुन सक्छ ? जनताले आफैंलाई फेरि(फेरि धोका दिने, झुटलाई पुनः अनुमोदन गर्ने प्रवृत्तिले देशलाई अझै अँध्यारोतिर धकेलेको छ।
सत्य के हो भने नेताहरूले जनतालाई भेडा ठानेर हाँकिरहेका छन्। हामीले सोच्नैपर्छ—के हामी वास्तवमै भेडा हौं कि विवेकशील, अधिकारप्रेमी नागरिक हौं आफनो मुल्याँक गर्नुपर्ने समय आएको छ। नेपालमा विकास नहुनुको मूल कारण भ्रष्टाचार हो भन्ने कुरा नयाँ होइन। तर दुखद कुरा के छ भने—भ्रष्टाचारलाई नेताहरूले अब सामान्य अभ्यास बनाएरै स्वीकार गराएका छन्। बजेट विनियोजन हुन्छ, योजना बन्छ, तर कार्यान्वयन हुदैन। जनताको पसिनाबाट उठेको करको पैसा नेताहरू, ठेकेदार र दलका कार्यकर्ताहरूको खल्तीमा जान्छ। सडक, अस्पताल, विद्यालय भने कागजी योजनामा मात्रै सीमित रहन्छ। यस्तो अवस्थाले नेपालको शासन प्रणालीप्रतिको विश्वास मात्रै होइन, लोकतन्त्रकै आधारलाई कमजोर बनाइरहेको छ।
अब ढिला गर्ने समय छैन। हामीले परिवर्तनको आवाज बलियोसँग उठाउनैपर्छ। परिवर्तन केवल नारामा होइन, व्यवहारमा देखिनुपर्छ। २०८२ साल फागुन २१ मा घोषणा गरीएको चुनाव केवल सामान्य चुनाव होइन, यो राष्ट्रलाई नयाँ बाटोमा डो¥याउने ऐतिहासिक अवसर हुनेछ। त्यसैले, अब फेरि उही झुटा र असफल नेताहरूलाई अवसर दिनु मूर्खता हुनेछ। नेपालले सक्षम, इमानदार, र जनउत्तरदायी नेतृत्व खोजिरहेको छ। दलहरूको मौजुदा संस्कृतिले त्यो दिन नसक्ने स्पष्ट भइसकेको छ। त्यसैले अब स्वतन्त्र र नयाँ विचार बोकेका नेतृत्वलाई अवसर दिन जरुरी छ। जसरी केही स्थानहरूमा स्वतन्त्र नेतृत्व उदाएर सकारात्मक परिवर्तन देखाएका छन्—त्यसरी नै स्थानीय तहदेखि केन्द्रसम्म यस्ता नयाँ व्यक्तित्वलाई अगाडि ल्याउन जरुरी छ। नेतृत्वमा रहेका व्यक्तिले जनताको हितलाई भन्दा पनि आफ्ना स्वार्थलाई प्राथमिकता दिने परिपाटी अब तोडिनैपर्छ।
परिवर्तन केवल नेताले ल्याउने कुरा होइन, यसको मुख्य जिम्मेवारी नागरिककै काँधमा हुन्छ। हामीले आफ्नो मतलाई विवेकपूर्वक प्रयोग गर्नुपर्छ। चुनावी घोषणापत्र मात्र होइन, नेताको विगतको कामकाजको मूल्याङ्कन गर्नुपर्छ। पार्टी वा जातीय निष्ठाभन्दा पनि, क्षमता र इमानदारीलाई प्राथमिकता दिनुपर्छ।
जनप्रतिनिधिलाई निरन्तर निगरानी गर्नुपर्छ, मौन बस्नु भनेको भ्रष्टाचारलाई खुला समर्थन गर्नु हो। परिवर्तन तब मात्रै सम्भव हुन्छ, जब जनता सचेत हुन्छन्। हामीले स्थानीय बजेटको हिसाब( किताब माग्नुपर्छ, कामको प्रगति सार्वजनिक गर्न दबाब दिनुपर्छ, अनियमितता देखे आवाज उठाउनुपर्छ।
यदि हामी मौन रह्यौं भने, नेताहरू अझै ढाडस पाउँछन्। त्यसैले अब नागरिक समाज, युवा, महिला, किसान, शिक्षक सबै एकजुट भएर नयाँ युगको सुरुवात गर्नुपर्छ। हामीले अझै पनि पुराना दलहरूलाई अवसर दिने हो भने, अर्को पाँच वर्ष फेरि पनि झुट र निराशामा बित्नेछ। तर यदि हामीले सक्षम र इमानदार नेतृत्वलाई चुन्न सक्यौं भने, आगामी पुस्तालाई उल भविष्य दिन सक्नेछौं।









