चलिरहेको छ शालिक राजनीति

परिवर्तनको निशानामा निर्जिब शालिकहरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज शालिकै, शालिकहरुको शहर हो, शालिककै कारणले धेरै चौक र ठाउँहरुको परिचय कायम भएको छ । तर तिनै निर्जिव शालिकहरु हरेक राजनीतिक परिवर्तनमा निशाना बन्दै आएका छन् ।

हरेक परिवर्तनमा परिवर्तनको अगुवाई गर्नेहरुले ईतिहासको रुपमा रहेका शालिकहरु तोडफोड गर्ने संस्कृतिले प्रशय पाउँदा नेपालगञ्जमा शालिक माथि राजनीति हुने गरेको छ ।

नेपालगञ्जको मुटुमा रहेको त्रिभुवन चौक, धम्बोझिमा रहेको बिरेन्द्र चौक र न्यूरोडमा रहेको सहिद सेतु बि.क. चौक सबै भन्दा बढि निशानामा पर्ने गरेका छन् ।

नेपालगञ्जमा शुरुमा रहेको जुद्ध शम्शेरको शालिक हटाएर राजावादीहरुले राजा त्रिभुवनको शालिक राखेसँगै हरेक परिवर्तनको आन्दोलनमा साविकका शालिकहरु माथि तोडफोड गर्ने श्रृंखला जेन जिको आन्दोलनको क्रम सम्म जारी रह्यो ।

भाद्र २३ र २४ गते भएको जेन जिको आन्दोलनका क्रममा नेपालगञ्जको पुष्पलाल चौकमा रहेको नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक ढालियो, बिपि चौकमा रहेको नेपाली काँग्रेशका संस्थापक बिपि कोईरालाको शालिक तोडियो, भृकुटिनगर चौकमा रहेको जनआन्दोलन भाग १ का सर्बाेच्च कमाण्डर गणेशमान सिंहको शालिक तोडफोड गरियो भने न्यूरोडमा रहेको सहिद सेतु बि.क.को शालिक फुटाईयो । यो आन्दोलनमा पूर्ब राजा त्रिभुवनको शालिक मात्रै जोगियो ।

२०६२/६३ सालको जनआन्दोलनका बेला बाँकेको नेपालगञ्जस्थित धम्वोझी चोकमा रहेको तत्कालीन राजा वीरेन्द्र, त्रिभुवन चौकमा रहेको राजा त्रिभुवनको शालिक, न्यूरोडमा निर्माणाधिन पूर्ब राजा ज्ञानेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गरेको थियो ।

न्यूरोडमा निर्माणाधिन पूर्ब राजा ज्ञानेन्द्र चौकको नाम परिवर्तन गरि जनआन्दोलनकै क्रममा सहादत प्राप्त गर्ने सहिद सेतु बि.क.क. चौक राखियो । पछि गएर उनको शालिक राखियो । राखिएको शालिक तोडफोड भएपछि पुनः तत्कालि जिल्ला बिकास समिति, बाँकेले सेतुको शालिक बनाएर राख्यो, जुन शालिकको अनावरण पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । उक्त शालिक पटक, पटक तोडफोड हुँदै आएको छ । अहिले जेनजिको आन्दोलनका क्रममा पुनः सो शालिक तोडफोड भएको छ ।

सदरलाइनस्थित त्रिभुवन चोकको नाम परिवर्तन गरि केही समय मधेस आन्दोलनको समयमा ज्यान गुमाएका कमल गिरीको नाममा राखियो तर पछि गएर राजावादीहरुले त्रिभुवनकै शालिक राखे ।

राजा बिरेन्द्रको शालिक भत्काएको १० वर्षपछि २०७३ सालको दोस्रो साता राजतन्त्रमा आस्था राख्नेहरूले वीरेन्द्रकै शालिक पुनस्र्थापना गरेका थिए । तर प्रशासनले मध्यरातमै हटायो । दोश्रो पटक वीरेन्द्रको शालिक राख्न राजतन्त्रवादीहरूले गरेको अर्को प्रयास पनि प्रशासनले नै विफल पारिदिएको थियो। शालिक राख्न नपाएको आक्रोशमा उक्त भीडले नेपालगञ्जकै न्युरोडमा रहेको जनआन्दोलनका सहिद सेतु विकको शालिकमा तोडफोड गरेको थियो ।

बिरेन्द्रको शालिक हाल सम्म पुर्नस्र्थापना हुन सकेको छैन, पटक, पटकको प्रयास असफल भएपछि सामाजिक अभियन्ता तेज बिक्रम शाहले राजा बिरेन्द्र शालिक पुर्नस्र्थापना समितिनै गठन गरि हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेका छन् । उनका अनुसार शालिक निर्माण भईसकेकोछ, राख्न मात्र बाँकी छ । बिरेन्द्रको शालिक राख्न नदिएपनि राजा त्रिभुवनको शालिक १५ वर्षपछि उक्त स्थानमा पुनस्र्थापना गरिएको छ ।

शालिक र प्रतिमाले इतिहास देखाउँछ । हिटलर पनि नामुद तानाशाह थिए । तर उनको देशमा हिटलरको शालिक अझैँ देख्न पाइन्छ ।’ पत्रकार पूर्णलाल चुके भन्छन् –शालिक भत्काउने, तोडफोड गर्ने काम राम्रो होईन ।

१ दर्जनभन्दा धेरै चौक रहेको नेपालगञ्जमा कसको शालिक राख्ने ? भन्ने बिबाद हुँदै आएको छ । जनआन्दोलन पूर्ब नेपालगञ्जकै कारकाँदो चौकलाई पूर्व युवराज पारसको नामबाट चोक घोषणा गरिएको थियो । तर नेवार समुदायले शङ्खधर साख्वा चौक बनाउनुपर्ने भनी गरेको मागलाई तत्कालीन खास कारकाँदो गाविसले सहमति दिए पनि नेपाल उद्योग वाणिज्य सङ्घले औद्योगिक स्तम्भ बनाउने प्रस्ताव गरेपछि सो ठाउँमा हाल सम्म कुनै शालिक राखिएको छैन सो ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ ।

जनआन्दोलनकै समयमा बाँकेमा प्राध्यापक हरिहर अधिकारीको निधन भयो । उनको नामबाट ट्राफीक चोकलाई हरि अधिकारी चौक नामाकरण गरेर बोर्ड राखियो तर शालिक राखिएन । बरिष्ठ साहित्यकार सनत रेग्मीका अनुसार, त्रिभुवन चौकको नामाकरण हुनुपूर्ब सो ठाउँलाई चौक बजार भनिन्थ्यो ।

रेग्मी एउटा आलेखमा यस बारे लेख्छन्– एक आलेखमा महाराजा जुद्ध समशेर एक पटक सिकार खेल्न नेपालगन्ज आउने कुरा चलेपछि तत्कालीन बडाहाकिमले हाल नगर भवन नजिक भन्सार कार्यालय सारे । अनि त्यहाँ महाराजा जुद्ध समशेरको शालिक राख्ने निर्णय गरे । भन्सार भएको चारपट्टि घर भत्काइयो । त्यहाँ गोलाकार गुम्बद भएको शालिक निर्माण स्थल तयार गरेर काठमाडौंबाट अष्ट धातुको शालिक निर्माण गराएर त्यहाँ स्थापित गराइयो ।

उनले अगाडी लेखेका छन् –गोलाकार भित्र चार ओटा खम्बा माथि गुम्बद त्यही तल माझमा राजसी पोशाकमा श्रीपेच लगाएका जुद्ध समशेर जबराको भव्य शालिकले चोक बजार सुशोभित भएको थियो । नेपालगन्जका बुढापाका भन्थे, सुरु सुरुमा सदरलाइनबाट दक्षिण जाने चोकको चारैतिरबाट आउने जाने बटुवाहरु चोकबाट अघि बढ्नु पर्दा जुद्ध समशेरको शालिकलाई सलाम गरेर मात्र अघि बढ्नु पथ्र्यो रे ।

२००७ सालको जनक्रान्तिको प्रभाव, चोक बजारमा पनि पर्यो । क्रान्तिकारी युवकहरुले जुद्ध समशेरको शालिक तोड्न खोजे तर शालिक ढाल्ने बाहेक अरु कुनै क्षति पुगेन शालिक । जुद्ध समशेर शालिक श्री पेचहीन अवस्थामा चोक बजारमा स्थापित नै थियो ।

२०१६ सालमा नेपालगन्ज पहिलो नगरपालिका गठन भयो । जसको मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । त्यस नगरपालिकाको बोर्डले सामन्ती अवशेष, जुद्ध समशेरको शालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोष्ट बनाउने निर्णय गर्यो र चोक बजारबाट जुद्ध समशेरको शालिक हटाइयो र त्यहाँ ट्राफिक पोष्ट बनाइयो ।

उनका अनुसार, २०२०, २१ सालतिर तत्कालीन नगर पंचायतले त्रिभुवनको शालिक चोक बजारमा स्थापित गरेपछि यो स्थान चोक बजारबाट त्रिभुवन चोक हुन पुग्यो ।
चौकहरुको सन्दर्भमा बिबाद भएको बेला नेपालगञ्ज उपमहानगरपालिकाले चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा राखेर समस्याको समाधान गरेको थियो ।
जेनजि आन्दोलनको क्रममा तोडफोड भएका शालिकहरुमा रातो कपडा बेरिएको छ । यसरी स्थापित भएका शालिकहरु पटक, पटक भत्काउँदा, तोडफोड गर्दा ईतिहास मात्रै नामेट हुँदैन, यसले सहर कुरुप हुन्छ, पहिचान मेटिन्छ, खर्च बढाउँछ, तनाब सृजना गर्छ ।

शालिकका नाममा राजनीति गर्नु, आक्रोश निर्जिब शालिक माथि पोख्नु कुनै पनि हिसावले राम्रो मान्न सकिदैन, यस तर्फ सबैको ध्यान जाओस् ।

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech