थपुवा, नयाँबस्तीको सडक दुर्दशा : स्थानीयलाई सास्ती

पवनराज उपाध्याय

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० अन्तर्गत पर्ने थपुवा, नयाँबस्ती क्षेत्रको सडक अवस्था हेर्दा तत्कालै विकासका खोक्रा नाराको याद आउँछ।

चुनावी जुलुसमा घन्काइने “हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज” भन्ने नाराले कान त भरेको छ, तर व्यवहारमा त्यो नाराको अर्थ कतै देखिँदैन। नगरकै प्रवेशद्वार नजिकै रहेको यो बस्तीमा आधारभूत पूर्वाधार नहुँदा जनताले दैनिक जीवनयापनमै कठिनाइ भोग्नु परेको छ। सडकको दुर्दशा केवल एउटा वडाको समस्या होइन, नगरकै विकास र शासन प्रणालीमा रहेको कमजोरीको प्रमाण बनेको छ।

हाम्रो समाजमा चुनाव आउँदा नेताहरू गाउँगाउँ पुग्छन्, खोक्रा आश्वासन बाँड्छन्, “सडक छिट्टै कालोपत्रे हुन्छ”, “तपाईँहरूको घरघरमा सुविधा पुर्‍याउँछौँ” भनेर जनताको विश्वास जित्छन्। तर चुनाव सकिनासाथ ती नेताहरू जनताको नजरबाट हराउँछन्। थपुवा, नयाँबस्तीका नागरिक पनि यस्तै राजनीतिक चालबाजीको सिकार भइरहेका छन्। सडक निर्माणलाई प्राथामिक्ता दिनुपर्नेमा यसलाई वर्षौँसम्म उपेक्षा गरिएको छ।

स्थानीय तहमा पटक–पटक बजेट विनियोजन भएको भनाइ छ। तर, काम सुरु हुन सकेको छैन। प्रश्न उठ्छ—जनताको करबाट संकलित बजेट कहाँ गयो? के त्यो रकम भ्रष्टाचार र ढिलासुस्तीको दलदलमा हरायो? वा केवल कागजी योजना बनेर धुलाम्य हुँदै गयो?

थपुवा, नयाँबस्तीका अधिकांश बासिन्दा कृषि, पशुपालन, दुग्ध उत्पादनजस्ता व्यवसायमा निर्भर छन्। किसान बिहान सबेरै खेतबारीमा पसिना बगाउँछन्, गाईभैंसी दुहुन्छन्, उत्पादन तयार गर्छन्। तर सडकको अवस्था बिग्रनु उनको सबैभन्दा ठूलो पीडा बनेको छ।

उत्पादन बजारसम्म पुर्याउन नसक्दा मर्का  किषानलाई हुन्छ। दूध ढुवानी गर्न कठिन हुन्छ, तरकारी समयमै पुर्याउन सकिँदैन, जसका कारण किसानले न्यून मूल्य पाउन बाध्य हुन्छन्। गाउँमा उत्पादनले भण्डारणस्थान भरिन्छ, तर सडक नभएकै कारण बजारसम्म पुग्न सक्दैन।

सडक दुर्दशाले केवल आर्थिक मात्र होइन, सामाजिक जीवनलाई समेत प्रभावित पारेको छ। विद्यालय जाने बालबालिकालाई हिलो र धुलोको बीचबाट हिंडेर पढ्न जानु सजिलो छैन। बिरामी, सुत्केरी, वृद्ध–वृद्धा, अपांगता भएका व्यक्तिहरू त झन् बढी सास्ती भोग्छन्। कुनै आपतकालीन अवस्थामा एम्बुलेन्स गाउँसम्म पुग्न सक्दैन, बिरामीलाई काँधमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेकाे। स्थानीयकाे गुनासो छ ।

राझा विमानस्थल नजिकै पर्नु पर्ने यो क्षेत्रमा मानिसहरू दुर्गम गाउँजस्तै जीवन बिताउन बाध्य हुनु विडम्बना मात्र होइन, स्थानीय शासनको असफलताको प्रत्यक्ष प्रमाण पनि हो। थपुवा, नयाँबस्तीको सडक अवस्था मौसमसँगै बदलिन्छ। वर्षात लागेपछि सडक हिलोमय हुन्छ। बगिरहेको पानीले सडकका खाल्डाखुल्डी अझै गहिरो बनाउँछ। यस समयमा पैदल यात्रा मात्र होइन, साना–ठूला सबै सवारी साधन चलाउन असम्भव हुन्छ।

जाडो लागेपछि उस्तै दुर्दशा अर्को रूपमा देखिन्छ। धुलोको तुवाँलोले मानिसलाई सास फेर्न कठिन हुन्छ। स्थानीय बासिन्दा भन्छन्, “सडकमा हिंड्दा धुलोले अनुहार, कपडा मात्र होइन, पानीको गिलाससम्म भरिन्छ।” यसरी वर्षभर नागरिकलाई असुविधा हुन्छ, तर सम्बन्धित निकाय भने मौन देखिन्छ।

नेपालमा विकासको ढिलाइका मुख्य कारणमध्ये एक हो—भ्रष्टाचार र ढिलासुस्ती। योजना त बन्ने गर्छ, तर कार्यान्वयनमा ढिलाइ हुन्छ। कतिपय अवस्थामा योजना कागजमै सीमित हुन्छ। जनताले तिरेको करको पैसा नेताहरू र ठेकेदारहरूको चाकरीमा खर्च हुन्छ, सडक भने उस्तै रहन्छ।

थपुवा, नयाँबस्तीका नागरिकले सडकलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन्। नेताहरूले यसलाई आफ्नो स्वार्थपूर्तिको साधन बनाएको भन्दै उनीहरूको आक्रोश बढ्दो छ। सडक केवल आवतजावतको साधन होइन। यो आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासको मेरुदण्ड हो। सडक नहुँदा किसानको पसिना बजारमा पुग्दैन, विद्यार्थीको शिक्षा अपूर्ण रहन्छ, बिरामीको जीवन संकटमा पर्छ।

एक स्थानीय बासिन्दाले भनेका छन्, “हामीले सडक नपाएसम्म अन्य विकासको कुरा गर्नै सक्दैनौँ। सडक भए मात्रै गाउँमा अन्य सेवा र सुविधा आउँछ।” यस कथनले सडकको महत्वलाई प्रष्ट्याउँछ। थपुवा, नयाँबस्तीको सडक निर्माण केवल स्थानीय सरकारको जिम्मेवारी मात्र होइन। यसका लागि सबै पक्षले मिलेर पहल गर्नुपर्छ। स्थानीय निकाय, नागरिक समाज, गैरसरकारी संस्था, संघ–संस्था सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ।

जनताले पनि आफ्ना मागलाई बलियो ढंगले प्रस्तुत गर्नुपर्छ। मौन भएर बस्दा नेताहरू अझै लापरबाह हुन्छन्। त्यसैले सचेत नागरिकले आवाज उठाउनुपर्छ, जनप्रतिनिधिलाई जवाफदेही बनाउनुपर्छ।

थपुवा, नयाँबस्तीको सडक दुर्दशा केवल एक वडाको समस्या होइन, यसले सम्पूर्ण नगरपालिकाको असफलता र बेवास्तालाई उजागर गरेको छ। विकासको नारा खोक्रो बन्नु, बजेट भ्रष्टाचारमा हराउनु, नागरिकको जीवनमा आधारभूत सुविधा नपुग्नु—यी सबै विडम्बना हुन्। अब ढिलाइ गर्ने समय छैन। तत्काल सडक निर्माणको पहल हुनुपर्छ। जनप्रतिनिधिले आफ्ना वाचा पूरा गर्नुपर्छ, नागरिकले निरन्तर दबाब दिनुपर्छ, संघ–संस्था र सरोकारवाला निकायले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।

यदि आजै कदम चालिएन भने, भोलि यो समस्या अझ गम्भीर बन्दै जानेछ। सडक विकासको मेरुदण्ड हो, र यसको अभावमा कुनै पनि समाजले प्रगतिको बाटो समाउन सक्दैन। त्यसैले थपुवा, नयाँबस्तीको सडक सुधार केवल स्थानीय माग मात्र होइन, यो सम्पूर्ण नगरको गरिमा र विकाससँग जोडिएको अत्यावश्यक आवश्यकता हो। नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्षले धेरै पटक पहल गरीरहेका छन।तर पटक पटक असफल भइरहनुले निराशा पैदा गरेकोछ।

 

  • १३ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech