नेपालको सुदुरपश्चिम तथा कर्णाली क्षेत्रमा गाइने प्रचलित गीत हो—देउडा। यसलाई विभिन्न नामले चिनिन्छ, देउडा भाषाका गीत, लोकगीत, मागल गीत, ठाढी भाका आदि। देउडा गीत विशेषगरी सुदुरपश्चिमका ग्रामीण जिल्लाहरू—बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, डोटी, डडेल्धुरा आदिमा प्रचलित छ। त्यस्तै कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख र जाजरकोट जिल्लामा पनि देउडा मुख्यतया गाइन्छ। साथै, लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रहरूमा पनि कतैकतै यसको प्रभाव देखिन्छ।
देउडा गीतको उत्पत्ति खस भाषिकाको सभ्यता सँगै सुरु भएको अनुमान गरिन्छ। यो गीत केवल मनोरञ्जनको माध्यम नभई, सामाजिक एकता, सामुदायिक मेलमिलाप, र सांस्कृतिक पहिचानको प्रतीक पनि हो। पहिला गाउँका मानिसहरूले पर्व, उत्सव, विवाह तथा अन्य सामाजिक अवसरहरूमा देउडा गीत गाएर समय बिताउने र समुदायलाई एकसाथ बाँध्ने गरेका थिए। देउडामा प्रयोग हुने शब्द, गीतका भाव, र नृत्य शैलीहरूले सुदुरपश्चिम र कर्णालीका स्थानीय जीवनशैली, सामाजिक मूल्य र संस्कृतिको प्रतिनिधित्व गर्छन्।
तर पछिल्लो समय देउडा संस्कृतिलाई छोडाइने वा अपहेलना गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसको प्रमुख कारणको रूपमा आधुनिक प्रविधि देखिन्छ। मोबाइल, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनका अन्य माध्यमले युवाहरूको ध्यान तान्दा देउडा अभ्यास घट्दै गएको छ। पहिले खाली समयमा आफ्नै समुदायमा गुनगुनाइने देउडा गीत अब मोबाइल वा रेडियो सुनेर मात्र आनन्द लिने अभ्यासमा सीमित हुँदै गएको छ। सामाजिक सञ्जालमा हुने विदेशी संगीत, आधुनिक गीत तथा मनोरञ्जन सामग्रीले स्थानीय सांस्कृतिक अभ्यासलाई प्रतिस्थापन गर्दै गएको छ।
युवाहरू वैदेशिक, विशेषगरी पश्चिमी साहित्य र संस्कृतितिर आकर्षित हुँदै गएपछि आफ्नो कला र संस्कृतिलाई जोगाउन असक्षम भइरहेका छन्। यसले गर्दा वृद्ध अवस्थामा रहेका बुवा–आमाहरूले मात्र देउडा संस्कृति संरक्षण गर्ने जिम्मेवारी उठाउनु पर्ने स्थिति सिर्जना भएको छ। तर केवल वृद्ध पुस्ताले मात्र यस संस्कृतिलाई जोगाउन सक्दैनन्। दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि युवा सहभागिता अपरिहार्य छ। वर्तमान अवस्थामा देउडा संस्कृति लोपोन्मुख बन्न थालेको छ। यदि यसलाई तत्काल संरक्षण र प्रवर्द्धन नगरेमा भविष्यमा यस मौलिक सांस्कृतिक सम्पदाले आफ्नो अस्तित्व गुमाउने खतरा बढ्दो छ। त्यसैले पश्चिम नेपालमा रहेको देउडा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सरसफाइका लागि युवाहरूले सामाजिक संस्था स्थापना गर्नु अनिवार्य छ। यस्तो संस्था मार्फत देउडा संस्कृतिलाई जीवन्त राख्न सकिन्छ। यसले मात्र समुदायमा सांस्कृतिक चेतना जागृत गर्न, परम्परागत गीत र नृत्यलाई पुनः जीवन्त बनाउन, र आगामी पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग परिचित गराउन सक्नेछ।
देउडा केवल मनोरञ्जनको माध्यम नभई, हाम्रो पहिचान र इतिहासको अंश हो। यसको संरक्षण हाम्रो सांस्कृतिक उत्तरदायित्व हो। यदि हामीले समयमै यसको संरक्षणको उपाय अपनाएनौं भने, भविष्यमा सुदुरपश्चिम र कर्णालीको सांस्कृतिक पहिचानमा ठूलो रिक्तता देखा पर्ने निश्चित छ। त्यसैले देउडा संस्कृति संरक्षण, प्रवर्द्धन र आगामी पुस्तासम्म पुर्याउन सबै तहमा सचेत प्रयास आवश्यक छ।











