नेपालगञ्ज / बाजुराको कर्णाली नदीमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त शव हुम्ला जिल्ला, चंखेली गाउँपालिका–४ माथिल्लो पालीकी २० वर्षीया कर्मा बोहराको रहेको पुष्टि भएको हो। बुधवार बिहान हिमाली गाउँपालिका–६ झुगाला नजिकै कर्णाली नदीको किनारमा दुई ढुंगाबीच सडेको अवस्थामा शव फेला परेको थियो।
शव फेला परेपछि प्रहरीले उक्त शवलाई उद्धार गरी दिउँसो कोल्टी अस्पतालमा ल्याएको थियो। शवको पहिचानका लागि हुम्लाबाट मृतकका बुबा हर्क बोहरासहित आफन्तहरू कोल्टी अस्पताल पुगेका थिए। परिवारका अनुसार घाँटीमा रहेको सिक्री र शारीरिक बनावटका आधारमा शव कर्मा बोहराको भएको पुष्टि गरिएको हो।
मृतकका बुबा हर्क बोहराका अनुसार उनकी छोरी केही दिनअघि सोही गाउँका २३ वर्षीय हंस बुढाथोकीसँग घरबाट सम्पर्कविहीन भएकी थिइन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। असोज ११ गते बिहान दुवैले कर्णाली नदीमा हाम फालेको खबर गाउँमा फैलिएपछि खोजीकार्य सुरू गरिएको थियो। तर १२ दिनसम्म कुनै अत्ता-पत्ता नलागेपछि बुधवार बाजुरामा शव फेला परेको समाचार आएको परिवारले जनाएको छ।
प्रेम सम्बन्धमा रहेकी ती युवती र युवकले सामाजिक तथा मानसिक दबाबका कारण आत्महत्या गरेको अनुमान गरिएको छ। अहिले पनि हंस बुढाथोकीको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पोष्टमार्टम पछि मृतक युवतीको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ।











