नेपालगञ्ज/ शोकलाई शक्तिमा बदल्नु भन्छन् धेरैले भने जस्तो सजिलो त छैन तर भने जस्तै ग¥यो भने साँच्चिकै शक्तिमा बदल्न सकिन्छ भन्ने समाजमा धेरै उदाहरणहरु छन् । त्यस्ता धेरै उदाहरणहरु मध्येको एक हो – द्वन्द्व पीडित एकल महिला सञ्जाल बाँके ।
जो पीडा, शोकबाट जन्मेको हो, जो अहिले समाजमा एउटा शक्तिको रुपमा संगठित भएर अघि बढिरहेको छ ।

दश बर्षे सशस्त्र द्वन्द्वका क्रममा बाँके सितापुरकी शोभा बिसीका श्रीमान जो नेपाली सेनामा थिए । उनले २०५९ साल भदौ २३ गते दोहोरो भिडन्तमा ज्यान गुमाए । जति बेला शोभा २१ बर्षकि मात्रै थिइन् ।
सानै उमेरमा श्रीमान गुमाउँदाको पीडा शोभालाई कति असह्य भयो होला कल्पना गर्दा समेत आङ जिरिङ्ग हुन्छ । उनी एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन्, उनी जस्ता धेरै महिलाहरुको सिउँदो उजाडियो, कैयौंका बालबालिका टुहुरा भए, कैयौं अंगभंग भए, कति घरबार बिहिन भए । सरकार र बिद्रोही माओवादी पक्षबाट धेरै महिलाहरु एकल भए । एकल भएर बाँच्न र अघि बढ्न कति सकस थियो कति ?
घरपरिवार, आफन्त, समाज सबैले एकल महिलालाई गर्ने ब्यबहारबाट एकल महिलाहरुले सास्ति भोग्न सम्म भोगे, शोभा जस्ता धेरै एकल महिलाहरुले भोगेको पीडा, क्रन्दन, जीवन साथि गुमाएको पीडा, जसले बनाएको शोकाकुल बाताबरणबाट उनीहरु यति बिरक्तिए कि जसको लेखाजोखानै गर्न सकिएन । शोककै घडिमा शोभा जस्ता एकल महिलाहरु सँगठित भए खजुराकी एकमाया बिक लगायतले शोभालाई साथ दिए ।

आफुजस्तै पिडामा भएका एकल महिलाहरुको हक, हित र अधिकारको लागि आवाज उठाउन शोभाहरु सामाजिक कार्यमा सहभागी हुन थाले । फलस्वरुप उनीहरुले २०५९ सालमा द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल स्थापना गरे । शोभाले उक्त संस्थाको नेतृत्व गरिन् । २०६३ सालमा संस्था जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भयो ।
संस्था स्थापना गर्दा १३ जनाको समिति गठन गरि काम शुरु गरेको सो संस्थाकी संस्थापक अध्यक्ष शोभा बिसिले बताईन् । एउटा सानो बाकस हामीलाई त्यो बेला ठुलो दरबार जस्तै लाग्थ्यो –उनले भनिन्– जसमा हामीले संस्थाका सामानहरु राख्ने गथ्र्यौ ।
तत्कालिन २५ वटा गाबिसमा २५०० जति एकल महिलाहरुलाई संगठित गरेर काम गरेको उक्त संस्थाले आवाज बिहिनको आवाज बन्ने काम गर्यो ।
घर, समाज, आफन्तले नसुन्दा कसरी राज्यले सजिलै हाम्रो कुरा सुन्थ्यो र ? शोभाले भनिन् – एकल महिलाहरुले सेतो कपडा मात्रै लगाउनु पर्छ भन्ने मान्यता भएको समाजमा रातो रंगको साडी लगायतका कपडा लगाएर बिद्रोह ग¥यौं । जसमा हामी सफल पनि भयौं ।
एकल वा बिधुवा महिलाहरुलाई समाजले गर्ने ब्यबहार एकदमै नकारात्मक भएको बेला उक्त संस्थाको कार्यालयका लागि भाडामा कोठा पाउन पनि गाह्रो थियो । उनीहरुलाई देखेपछि साइत नपर्ने, शुभ नहुने जस्ता कुरा समाजका प्रतिनिधिहरुले सुनाउँथे । फलस्वरुप उनीहरुले करिब ८ /९ वटा घरमा कार्यालय सार्नु पर्यो ।

एउटा बाकसबाट शुरुवात भएको सो संस्थाको अहिले आफ्नै भवनमा कार्यालय छ । नेपालगञ्जको बाँके गाउँमा डेढ करोडको लगानीमा उनीहरुले भवन निर्माण गरेका छन् । भवन बनाउन उनीहरुलाई फलामको च्युरा चपाए सरह जस्तै भयो तर आँट गरे के हुँदैन भन्ने कुरा एकल महिलाहरुले गरेर देखाए ।
संस्थापक अध्यक्ष शोभा बिसीले लामो समय संस्थाको नेतृत्व लिईन् भने तत्पश्चात जयन्ति केसीले संस्थाको नेतृत्व सम्हालिन् । शोभाको कार्यकालमा शुरु भएको भवन निर्माणको कार्यले केसीको कार्यकालमा पूर्णता प्राप्त गरेको थियो । हाल सो संस्थाको नेतृत्व संस्थापक मध्येकी एक एकमाया बिकले सम्हालिरहेकि छन् उनी बाँकेको खजुरा गाउँपालिकाको निबर्तमान उपाध्यक्ष समेत हुन् ।
सो संस्थाको संघर्षपूर्ण बिगत र आफ्नै भवनमा रहेको कार्यालयबाट अघि बढेको संस्थालाई तुलना गर्दा उक्त संस्थाका पदाधिकारीहरु दंग पर्दछन् । संघर्ष अहिले पनि छ तर बिगतको जस्तो होईन । उनीहरु भन्छन् – हाम्रो पुरानो बाकसलाई कहिल्यै बिर्सिदैनौ, तसर्थ अहिले पनि कार्यालयमा सुरक्षित राखेका छौं ।
यो सञ्जाल सम्पूर्ण एकल महिलाहरुको छाता संस्था हो, जसले उनीहरुको हकहितका लागि काम गरिरहेको छ ।











