कृत्रिम श्वासले बच्यो नवजात शिशुको ज्यान

पवन राज उपाध्याय

बाजुरा /बाजुराको गौमुल गाउँपालिका–१ माडीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको अदम्य प्रयासले एक निसासिएको शिशुको ज्यान बच्न सफल भएको छ। लगातार पाँच घण्टासम्म मुखबाट कृत्रिम श्वास दिँदै स्वास्थ्यकर्मीहरूले शिशुलाई पुनर्जीवन दिएका हुन्।

२९ वर्षीया निशा बोहोरालाई प्रसव पीडा बढेपछि आफन्तहरूले माडी सामुदायिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। अस्पताल पुग्दा शिशुको टाउको आमाको पेटमै अड्किएको र खुट्टा बाहिर निस्किएको अवस्था थियो। स्वास्थ्यकर्मीहरूले जोखिमपूर्ण अवस्थामै हातले शिशुलाई निकाल्न सफल भए।
तर जन्मँदा शिशुले कुनै प्रतिक्रिया देखाएन । न स्वास फेरेको थियो, न मुटुको धड्कन चलिरहेको।

त्यसपछि अनमी रमा बोहोराले मुखबाट कृत्रिम श्वास दिन थालिन्। लगातार पाँच घण्टासम्म कृत्रिम श्वास र छातीको मृदु मालिस गरिरहँदा अन्ततः साँझ साढे ९ बजेतिर शिशुले बिस्तारै स्वास लिन थाल्यो। ूपहिलोपटक जब मुटुको धड्कन चलेको महसुस भयो, आशा पलायो। १० बजेतिर बच्चा एकछिन रुयो, हामी सबै खुशीले रुन थाल्यौं,ू अनमी रमाले भावुक हुँदै भनिन्।

शिशुलाई त्यसपछि चम्चाले दूध खुवाइयो र उसको अवस्था विस्तारै सुधार हुँदै गयो। हाल २६ सय ग्राम तौल भएको शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अहेब ललिता रोकायाले जानकारी दिइन्। उनीहरू अहिले घरमै स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। अनमी रमा बोहोरा, अनमी अनिता रोकाया, अहेब ललिता रोकाया, र कार्यालय सहयोगी मनिषा बोहोराको सामूहिक प्रयासले यो अद्भुत कार्य सम्भव भएको हो।
यातायात सुविधा नपुगेको दुर्गम माडीमा तत्काल अन्यत्र लैजान नसकिने अवस्थामै स्थानीय स्वास्थ्यकर्मीहरूले गरेको यो सेवा उदाहरणीय बनेको छ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech