काठमाडौं/ नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार तथा अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ वरिष्ठ गायक कमल बिक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद ५१ हजार रुपैयाँ छ ।
नेपाली गीत–संगीतलाई सम्वर्धन तथा प्रवर्धन गर्नका लागि विगत लामो समयदेखि सक्रिय रहेका निर्मोही मध्य पश्चिम तथा सुदूर पश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शकमाझ प्रस्तुत गर्दै आईरहेका छन् ।
विशेषतः गायक निर्मोहीका बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, वनको फूल फूलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया आदि दर्जनौँको संख्यामा रहेका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।
टिका गोपाल डिजिटल एम्. क्रियशन प्रालिका सञ्चालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्वा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको उल्लेख छ ।
यसअघि ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), वरिष्ठ गीतकार विश्व वल्लभ (२०७९), वरिष्ठ वाद्यवादक कृष्ण गन्धर्व (२०८०) तथा वरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।









