जेन -जी पुस्ताको आन्दोलन

पवनराज उपाध्याय

देश फेरि ढुंगाजस्तो मौन थियो,
नेता बोल्थे जनताले सुन्दैनथे,
जनता बोल्थे नेताले बुझ्दैनथे।
नारा र भाषणको भीडमा
सत्य कतै हराएको थियो,
आशा पनि थकित जस्तो थियो
एकैपटक उठ्यो स्वर
“हामी मौन रहँदैनौं अब!”

त्यो स्वर नयाँ थियो,
तर पीडा पुरानो,
आँखामा स्वप्न थिए
तर ओठमा विद्रोह।
कसैले भन्यो “यो त बाल्य उत्साह हो”,
तर त्यो उत्साह होइन,
त्यो आत्मसम्मानको गर्जन थियो।

भ्रष्टता, झूट र ढोंगका बीच
नयाँ पुस्ताले खोज्यो आफ्नो पहिचान,
कसैले सिकाएको होइन
सडकले सिकाएको, भोकले, असमानताले,
र देशप्रेमले सिकाएको आन्दोलन थियो त्यो।

हातमा ब्यानर थिएन,
मनमा असन्तोष थियो।
कसैले गोली चलायो,
कसैले ग्यास छर्‍यो,
तर आवाज दबिएन,
बरु अझै बलियो बन्यो
“हामी हौं राज्यका मालिक!”
“हाम्रो मत नै हाम्रो मन्दिर हो!”

जेन जी आन्दोलन
कुनै एक दिनको घटना होइन,
यो दशकौंको निराशाको विस्फोट हो,
सत्तामा रहेका कान्हा पात्रहरूका मुखमाn
जनताको आँसु टाँसिएको दिन हो।

संसद् टुट्यो, विश्वास टुट्यो,
नीति र निष्ठा टुक्रिए,
र जनता फेरि सडकमा फर्किए
भन्ने शक्ति बोकेर,
भविष्य लेख्ने आँट बोकेर।

सत्ताको सिंहासन थरथर काँप्यो,
कुरसीमा बस्नेहरू डराए,
किनकि यो आन्दोलनमा
न थे ठेकेदार, न थे दलका झण्डा,
थिए त मात्र आफ्नै देशका सन्तानहरू
सपना बोकेका, न्याय खोज्ने,
र परिश्रमको घाममा पाकेका।

कसैले भने “यो अराजकता हो”,
तर उनीहरूले कहिल्यै बुझेनन्
अराजकता तब जन्मिन्छ,
जब शासक बहिरा बन्छ।
यो त तिनै कानहरूमा घण्टी थियो,
जो कानुनी तरिकाले पनि
जनताको आवाज सुन्न डराउँछन्।

सडकका ढुंगामा,
रातको करेन्ट बत्तीमा,
लाठीका निलडाममा
लेखिएको थियो इतिहास
“यो देश फेरि ब्यूँझिएको छ।”

जेनजी आन्दोलनले देखायो
लोकतन्त्र केवल संविधानमा होइन,
यो त जनताको मुटुमा बस्ने भरोसा हो।
जब त्यो भरोसा मर्छ,
संसद् पुनःस्थापना होइन,
जनताको पुनर्जन्म चाहिन्छ।

राष्ट्रपति बोल्दै थिए,
प्रधानन्यायाधीश सरकारको मुखमा थिए,
दलहरू अझै गन्ती गन्दै थिए
“कसरी सत्ता फर्काउने?”
तर सडकले भने
“हामीलाई सत्ता होइन,
सच्चा शासन चाहियो।”

चुनाव आउँदैछ
तर यो चुनाव केवल मिति होइन,
यो परीक्षा हो
जनताको विश्वास फेरि जन्माउने।
यदि फेरि लोभ र झूट जिते भने,
इतिहास पुनः रोएर लेखिनेछ।

नयाँ दलहरू उठ्दै छन्,
पुरानाहरू भत्किँदै छन्,
तर देश अझै खोज्दै छ
उत्तरदायी अनुहार।
किनकि जनता अब चुप छैन,
उनीहरू पढेका छन्, बुझेका छन्,
र बोल्न डराउँदैनन्।

जेनजी आन्दोलनले सिकायो
आन्दोलन केवल ढुंगा हान्ने होइन,
यो सोच बदल्ने प्रक्रिया हो।
यो देश प्रेम गर्ने
र जिम्मेवारी बोक्ने साहस हो।

यदि दलहरूले यो बुझेनन् भने,
फेरि उठ्नेछ लहर
तर यसपटक नारा होइन,
निर्णय हुनेछ जनताको कलमले।

नेपाल फेरि मोडमा उभिएको छ,
इतिहास हातमा कलम लिएर पर्खिरहेको छ
दलहरूले लेख्नेछन् भविष्य,
वा जनता फेरि लेख्नेछन्
रगत, आँसु र विद्रोहले।

जेनजी आन्दोलन
केवल नाम होइन
यो एक पुस्ताको आत्मसम्मान हो,
यो चेतनाको पुनर्जन्म हो,
र यो देशप्रेमको घोषणापत्र
हामी जनताको शासन फर्काउँदैछौं।

  • ५ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech