नेपालको सांस्कृतिक धरोहर र सामाजिक जीवनमा गहिरो अर्थ बोकेको पर्व हो तिहार । यसलाई दीपावली, यमपञ्चक वा भाइटीका पनि भनिन्छ । यो केवल धार्मिक वा पारिवारिक पर्व होइन, नेपालको संस्कृतिमा तिहार केवल उज्यालो र सजावटको पर्व होइन, यो मानव, देवता, जनावर र प्रकृतिबीचको सम्बन्धको उत्सव हो । हिन्दू परम्परा अनुसार कार्तिक महिनाको कृष्णपक्षमा पर्ने पाँच दिनलाई यमपञ्चक भनिन्छ, जसलाई हामी तिहारका रूपमा मनाउँदछौं । यो पर्वले अन्धकारलाई ज्योतिको माध्यमबाट हराउने, नकारात्मकतालाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्ने र सम्बन्धहरूलाई पुनःजीवित गर्ने सन्देश दिन्छ । “अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य, द्वेषमाथि प्रेम” को विजयको सन्देश दिन्छ । तिहार उज्यालो, सौन्दर्य र ममत्वको पर्व हो । यसमा घर, आँगन र समाजमा दीप बालिन्छ, फूलले सजाइन्छ, परिवार र छिमेकीबीच माया र मेलमिलापको सम्बन्ध नवीकरण गरिन्छ । तिहारले मानिस र प्रकृतिबीचको नाता उजागर गर्छ जहाँ प्रत्येक प्राणी र तत्वलाई आदरका साथ सम्झिन्छ । तिहार र दीपावली दक्षिण एसियाबाट संसारभर फैलिएको पर्व हो । भारत, नेपाल, श्रीलंका, मलेसिया, सिङ्गापुर, इङ्गल्याण्ड र अमेरिकासम्म यसले “प्रकाश र सकारात्मकताको संस्कृति” फैलाएको छ । संयुक्त राष्ट्रसंघले समेत दीपावलीलाई “विश्वको साझा उज्यालो पर्व” का रूपमा मान्यता दिएको छ । विश्वका धेरै देशमा तिहार/दीपावलीले सांस्कृतिक एकता, धार्मिक सहिष्णुता र सकारात्मक सोच फैलाएको छ ।
वैदिक र प्राचीन कथा अध्यन गर्दा तिहारमा विभिन्न धार्मिक कथाहरू हेर्दा यमराज–यमुनाको कथा: मृत्यु र अमरत्वबीचको सम्बन्धको प्रतीक जनाउछ भने, गोवर्धन पूजा कथा: भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर प्रकृतिको शक्ति र संरक्षणको सन्देश दिएका थिए । लक्ष्मीको उत्पत्ति कथा: समुद्र मन्थनबाट लक्ष्मी प्रकट भएकी थिइन्, जसले सन्तुलन र समृद्धिको दर्शन दिएको छ भन्ने चलन छ यी कथाहरूले तिहारलाई केवल परम्परा होइन, जीवन र मृत्यु, धन र धर्म, प्रकृति र मानवबीचको सन्तुलनको दर्शनको रूपमा स्थापित गर्छन् ।
तिहारको इतिहास वैदिक काल सम्म पुग्छ । यमराज र यमुनाको कथा यस पर्वको मूल आधार हो । कथाअनुसार यमुनाले आफ्नो दाजु यमराजलाई घरमा निम्त्याइन्, दीप बालेर रङ्गोले सजाइन् र उनको दीर्घायुको कामना गर्दै पूजा गरिन्। त्यस अवसरमा यमराजले भने, “जसको घरमा दीप बालिन्छ र आदर गरिन्छ, त्यहाँ असमय मृत्यु हुँदैन । ” त्यसबेलादेखि दीपदान, पूजा र भाइटीकाको परम्परा सुरु भएको विश्वास छ। नेपालमा तिहारको लिखित प्रमाण लिच्छवीकाल (ई.सं. ४००–७५०) कै शिलालेखहरूमा भेटिन्छ, जसमा दीपदान, लक्ष्मीपूजा र सामूहिक उत्सवको उल्लेख पाइन्छ। यसरी तिहारको इतिहास कम्तीमा १५ सय वर्षभन्दा पुरानो सांस्कृतिक परम्परा हो, जुन आज पनि निरन्तर रहँदै आएको छ ।
विविधता र प्रतीकको पर्वको रूपमा हेर्दा तिहारको प्रत्येक दिनले फरक सन्देश बोकेको हुन्छ।
काग तिहारः कागलाई सन्देशवाहक र सूचना दिने पक्षीको रूपमा पूजा गरिन्छ। यो दिन सञ्चार, खबर र बोधको प्रतीक हो ।
कुकुर तिहारः कुकुरलाई निष्ठा, विश्वास र सुरक्षाको प्रतीक मानी टीका, माला र खाना अर्पण गरिन्छ ।
गाई र लक्ष्मी पूजाः गाईलाई “माता”को रूपमा पूजा गरिन्छ, जसले कृषिजन्य सभ्यता र समृद्धिको प्रतिनिधित्व गर्छ। साँझमा लक्ष्मीपूजा गरिन्छ, जसले धन, सौन्दर्य र सन्तुलनको प्रतीकत्व दिन्छ ।
गोरु पूजा र आत्मपूजा (म्ह पूजा) किसानका मित्र गोरुको सम्मान र आत्मशुद्धिको प्रतीक आत्मपूजा यस दिन मनाइन्छ ।
भाइटीकाः दाजुभाइ र बहिनीबीचको ममत्वको प्रतीक। बहिनीले भाइको दीर्घायुको कामना गर्छे, भाइले बहिनीको सुरक्षा र स्नेहको वाचा गर्छ। यसरी तिहारले जीव, देवता, आत्मा र सम्बन्ध सबैलाई जोड्ने मानवीय पुल बनाएको छ ।
उज्यालो, सौन्दर्य र संगीतले मनमा सकारात्मकता ल्याउँने, परिवार, छिमेकी र समुदायबीच प्रेम, सहकार्य र मेलमिलाप बढाउँने, पर्यावरणीय पशुपक्षी, फूल, माटो र जलप्रतिको कृतज्ञता र संरक्षणको चेतना जगाउँने, बजार, पर्यटन र रोजगारमा सक्रियता ल्याएर आर्थिक चक्र चलाउँने, आध्यात्मिक आत्म–शुद्धि, श्रद्धा र कर्मप्रतिको विश्वास बलियो बनाउँने, भएकाले तिहार पर्वले केवल धार्मिक लाभ होइन, सामाजिक, मानसिक, आर्थिक र पर्यावरणीय लाभ दिन्छ । तिहारले केवल देवता र परिवारको पूजा मात्र होइन, प्रकृति र जनावरप्रति पनि आभार प्रकट गर्छ । कुकुर, गाई, गोरु र कागलाई पूजा गरेर नेपाली समाजले सबै जीवप्रति सम्मान व्यक्त गर्छ जुन मानव–प्रकृति सहअस्तित्वको अद्भुत दर्शन हो । यस पर्वले वातावरण सफा राख्ने, ऊर्जा र प्रकाशको सदुपयोग गर्ने र सामूहिक सद्भाव बढाउने सन्देश दिन्छ ।
आजको सन्दर्भमा तिहारलाइ हेर्दा आजको भौतिकतावादी युगमा तिहार अझै पनि नेपाली समाजको आत्मा हो । यसले विभाजन, द्वेष र निराशालाई उज्यालो र एकतामा रूपान्तरण गर्छ । पारिवारिक मेलमिलाप, सामुदायिक सहभागिता, बजारमा चहलपहल र सहर–गाउँमा रमाइलोपन ल्याउने यसको क्षमता आज पनि अपरिवर्तित छ । तिहार केवल धर्म होइन, संवेदनशीलता, सहानुभूति र सामाजिक उत्तरदायित्वको प्रतीक हो । जब मानिसले पशु, देवता, वातावरण र परिवार सबैलाई बराबर सम्मान दिन्छ, त्यही क्षण तिहारको वास्तविक अर्थ पूरा हुन्छ । तिहारले हामीलाई स्मरण गराउँछ, अन्धकारलाई ज्योति र द्वेषलाई ममत्वले जित्न सकिन्छ । यसले हरेक सम्बन्धमा श्रद्धा, प्रेम र सन्तुलनको नयाँ चेतना भर्छ । आजको नेपालले यही तिहारको दर्शन, सहअस्तित्व, सद्भाव र आत्मिक उज्यालोलाई आफ्नो जीवनशैलीमा रूपान्तरण गर्न सके, त्यो नै वास्तविक दीपावली हुनेछ र अहिलेको जेनजी आन्दोलनले जन्माएको असुरक्षा पनि अन्त्य हुनेछ ।
अन्तमा आज मानवता भोगवाद, स्वार्थ र पर्यावरणीय संकटले ग्रस्त छ । यस्तो समयमा तिहारले हामीलाई सम्झाउँछ मानव–प्रकृतिको सम्बन्धलाई पुनर्जीवित गर्न, साथी, परिवार र छिमेकीप्रति सहानुभूति बढाऊन, अन्धकार हटाइ, आशा फैलाऊन, तिहारको प्रकाश केवल घरको दीयो होइन, यो मानव हृदयमा जगाउने चेतनाको उज्यालो हो । यो पर्वले सिकाउँछ “धन मात्र होइन, मन उज्यालो बनाऊ ।” तिहार केवल धार्मिक अनुष्ठान होइन यो जीवन दर्शन हो । यो पर्वले मानिस, देवता, जनावर र प्रकृति सबैलाई एउटै सूत्रमा बाँध्छ । दीपको उज्यालोले अन्धकार हटाउँछ, ममत्वले विभाजन घटाउँछ, श्रद्धाले शान्ति ल्याउँछ । यसैले तिहारले सन्देश दिन्छ “अन्धकारलाई प्रकाशले जित, घृणालाई ममताले जित, र स्वार्थलाई सहअस्तित्वले जित ।” आज विश्वभर फैलिँदो असन्तुलन, हिंसा र प्रदूषणबीच तिहारको सन्देश झन् सान्दर्भिक छ किनभने तिहारले केवल नेपाललाई होइन, सम्पूर्ण मानवतालाई सम्झाउँछ प्रकृति र प्रेम नै जीवनका सबैभन्दा उज्याला सत्य हुन् ।
धर्मराज तिमिल्सिना











