काठमाडौँ/ एउटै परिवारका श्रीमान र श्रीमतीकै नेतृत्वमा छुट्टा छुट्टै पार्टी निर्माण भएको छ । रेशम चौधरीले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दल दर्ता गरेसँगै एउटै परिवारका श्रीमान श्रीमतीको दुई वटा छुट्टा छुट्टै पार्टी स्थापना भएको हो ।
सायद नेपालको इतिहासमै पहिलो पटक श्रीमतीको नेतृत्वमा रहेको पार्टीबाट विद्रोह वा परित्याग गर्दै श्रीमानले नयाँ पार्टी स्थापना गरिएको घटना घटेको छ ।
श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी रहदा रहँदै रेशम चौधरीले आफू संरक्षक पदमा बस्दै २५ वर्षका जेनजी कवीर सोबलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता गराएका हुन् ।
जेलबाट निस्किएपछि पार्टी सञ्जालनमा लामो समयसम्म रेशमको रञ्जिता श्रेष्ठसँग विवाद भइरहेको थियो । त्यसपछि रेशमले नयाँ पार्टी खोलेर नै आफ्नो राजनीतिक यात्रा सुरुवात गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।
बलियो क्षेत्रिय राजनीतिक दलको रुपमा स्थापित हुन सफल भएको नागरिक उन्मुक्ति पार्टी श्रीमान श्रीमतीकै झगडाले तहसनहस र नेता कार्यकर्ताको बिचल्ली भएको छ ।
अब फागुन २१ गतेसम्म हुने चुनावसम्म चमत्कारका साथ श्रीमान श्रीमतीको पुनःमिलन र पार्टी एकता भएन भने उनीहरु नै एकअर्काको प्रतिष्पर्धी हुने पक्का भएको छ ।











