हरिबोधिनी एकादशी : धर्म, भक्ति र चेतनाको जागरण

पवनराज उपाध्याय

हरिबोधिनी एकादशी हिन्दू धर्मका अत्यन्त पवित्र र महत्वपूर्ण पर्वमध्ये एक हो । यस दिन भगवान विष्णुको विशेष पूजा, आराधना, भजनकीर्तन र व्रत गरेर भक्तजनहरूले श्रद्धा र भक्ति पूर्वक मनाउँछन् । वर्षभरि पर्ने चौबिसवटा एकादशीमध्ये यो एकादशीलाई सबैभन्दा ठूलो र श्रेष्ठ मानिने भएकाले यसलाई ‘ठुलो एकादशी’ पनि भनिन्छ ।

पौराणिक विश्वासअनुसार, आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन भगवान विष्णु क्षीरसागरमा सुत्न जानुहुन्छ भने कात्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिन उहाँ पुनः जाग्नुहुन्छ । यसै कारण यो दिनलाई ‘हरिबोधिनी’ अर्थात् भगवान विष्णुको बोध (जागरण) हुने दिनका रूपमा मनाइन्छ ।

हरिशयनीदेखि हरिबोधिनीसम्मको चार महिनाको अवधिलाई ‘चातुर्मास’ भनिन्छ, जसमा धार्मिक कर्म, ब्रत र योग साधनाको विशेष महत्त्व रहन्छ ।

यस दिन विष्णुरूपमा पूजिने तुलसीको विशेष आराधना गरिन्छ । असार शुक्ल एकादशीमा रोपिएको तुलसीको बोटलाई आजका दिन पीपलसँग विवाह गरिन्छ, जसलाई ‘तुलसी विवाह’ भनिन्छ । तुलसीको मठलाई रंगीचंगी बनाएर वरिपरि लिङ्ग गाडिन्छ र सयपत्री फूलको माला लगाइन्छ। यस धार्मिक क्रियाकलापले घर–परिवारमा सुख, समृद्धि र मंगल प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ ।

तुलसीको वैज्ञानिक र औषधीय महत्त्व पनि अत्यन्त उच्च छ। आयुर्वेदका अनुसार तुलसी ८९ भन्दा बढी रोगहरूको उपचारमा प्रयोग हुने बहुपयोगी वनस्पति हो । तुलसीका पात, फूल, जरा र बीउ सबै औषधीय गुणले भरिएका हुन्छन् ।

तुलसीले अन्य बिरुवाभन्दा बढी अक्सिजन उत्पादन गर्छ, जसले वरिपरिको वातावरण शुद्ध राख्छ। त्यसैले नै मानिसलाई अन्तिम अवस्थामा तुलसीको पात वा तुलसीजल दिने धार्मिक र स्वास्थ्यजन्य परम्परा प्रचलित छ ।

पौराणिक जनश्रुति अनुसार, मुर नामक राक्षसले तीनै लोकमा आतंक मच्चाउँदा देवताहरू भगवान विष्णुको शरणमा पुगे । भगवानले मुरासुरसँग युद्ध गर्नुभयो। युद्धका क्रममा भगवान विष्णु क्षीरसागरमा विश्राम लिनुहुंदा मुरासुरले उहाँमाथि आक्रमण गर्न खोज्यो । त्यस क्षण भगवान विष्णुको शरीरबाट एक दिव्य शक्तिशाली नारी प्रकट भइन्, जसले मुरासुरको वध गरिन् । ती देवी नै ‘एकादशी देवी’ हुन् । भगवान विष्णुले उनलाई वरदान दिनुभयो “जो तिमीको व्रत गर्छ, ऊ पापमुक्त भएर मोक्ष प्राप्त गर्नेछ ।” त्यसै दिनदेखि यो तिथि हरिबोधिनी एकादशीका रूपमा प्रसिद्ध भयो ।

यसरी हरिबोधिनी एकादशी केवल भगवान विष्णुको जागरण दिवस मात्र होइन, भक्ति, धर्म, शुद्धता र आत्मचेतनाको पुनर्जागरणको प्रतीक पनि हो। यो दिनले मानिसलाई असत्य, आलस्य र अन्धकारबाट सत्य, जागरण र प्रकाशतर्फ उन्मुख गराउँछ ।

अन्ततः, सबै नेपालीहरूलाई हरिबोधिनी एकादशीको हार्दिक मंगलमय शुभकामना भगवान विष्णुको कृपा, तुलसीको पवित्रता र भक्तिभावको उज्यालोले सबैका जीवनमा शान्ति, समृद्धि र सद्भाव ल्याओस् ।

 

  • १५ कार्तिक २०८२, शनिबार प्रकाशित

  • Nabintech