अस्ताए घोराहीका ‘पानी बा’

असल शासन प्रतिनिधि

दाङ, १७ कात्तिक । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसी (देवी वकिल)को निधन भएको छ ।

डिसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्ट्रिलेटरमा उपचारका क्रममा शनिवार राति साढे ११ बजेतिर निधन भएको हो ।

घोराही उपमहानगरपालिका–१५ जानकी टोल निवासी डिसी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

लामो समयदेखि बिरामी ८० वर्षीय डिसी स्वास्थ्य जटिल बन्दै गएपछि कात्तिक १ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

दुई दशक लामो समयदेखि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा आबद्ध रहेर नगरवासी नागरिकलाई पानी खुवाउन भूमिका खेलेका अध्यक्ष डिसी ‘पानी बा’ का नामबाट समेत परिचित थिए ।

उनी २०५३ सालमा स्थापना भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापनाकालदेखि नै आबद्ध भए ।

२०५४ सालमा संस्थाको कार्यसमिति सदस्य बनेका डिसीले दुई कार्यकाल सदस्यका रूपमा काम गरेपछि २०६० सालदेखि हालसम्म अध्यक्षका रूपमा काम गर्दै आएका थिए ।

खानेपानी संस्थाको अध्यक्षसँगै तत्कालीन त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि (तत्कालीन राप्ती अञ्चल यातायात व्यवसायी समिति)को अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेर कामगरेका डिसीले १० वर्ष वकिल भएर सेवा गरेका थिए ।

२०४३ चैतमा तत्कालीन त्रिभुवननगर नगर पञ्चायतको निर्वाचनमा उम्मेदवारी दिएका डिसी गजराज शर्मासँग पराजित भएका थिए ।

२००२ सालमा जन्मिएका डिसीका दुई छोरा र चार छोरी छन् । डिसीको आइतवार घोराही–१८ स्थित सङ्खेपिपल घाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसमा रही लामो सयम योगदान पु¥याएका डिसीको पार्थिव शरीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डेय, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, महाधिबेशन प्रतिनिधि भुपबहादुर डागि, क्षेत्रिय सभापति भिमप्रकाश खड्का, नगर सभापति तिलक रावत लगायतको उपस्थितिमा संयुक्त रूपमा नेपाली कांग्रेसको झण्डा ओढाईएको थियो ।

अन्त्येष्टि गरिनु अघि डिसीको शवलाई अन्तिम श्रद्धाजलीका लागि घोराही उपमहानगरपालिका–१५ जानकी टोलस्थित निवास र त्यसपछि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयमा राखिएको थियो । त्यसपछि घोराही बजारमा शवयात्रा गरिएको थियो ।

अधुरो रह्यो बबई लिफ्टिङ योजना :-

दुई दशक लामो समय घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व गरेका डिसीको परिकल्पनामा सुरु भएको बबईको पानी घोराही ल्याउने योजना अन्तिम चरणमा रहेको छ । स्व. डाँगीले घोराहीबासीका लागि बबई लिफ्टिङ आयोजनाबाट पानी ल्याएर खुवाउने बताउँदै आए पनि योजना पूरा नहुँदै उनको देहान्त हुन पुगेको छ ।

घोराहीमा खानेपानीको समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेलाका उनले बबई लिफ्टिङ आयोजनालाई पूर्णता दिन नपाउँदै अस्ताउन पुगेका छन् । घोराहीमा बढ्दो सहरीकरणसँगै दीर्घकालीन रूपमा खानेपानीको समस्या पर्न नदिने गरी डिसीकै नेतृत्वमा तीन वर्ष अघि बबईको पानी घोराही ल्याउने कार्य अन्तर्गत बबई लिफ्टिङ आयोजना सुरु भएको थियो ।

घोराही खानेपानीको ठुलो आयोजनाका रूपमा रहेको बबई लिफ्टिङ आयोजनाको करिब ९३ प्रतिशत काम सकिएको छ । घोराहीमा बबई नदीबाट दैनिक कम्तीमा करिब एक करोड लिटर पानी सङ्कलन गर्ने लक्ष्य अनुरूप घोराही खानेपानी संस्थाले बबईको पानी लिफ्टिङका लागि भिमेश्वर ड्रिलिङ कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।

२०८२ असार मसान्तसम्म सक्ने गरी ४९ करोड ८५ लाख ४९ हजार छ सय ७५ रुपैयाँमा ठेक्का सम्झौता भएकोे घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की, रिजर्भवेयर साम्पवयर, बोरिङ निर्माण, पाइपलाइन विस्तारलगायतका काम सकिएको छ ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा सुरु भएको खानेपानी आयोजनाका लागि विद्युत पोल गाड्नुका साथै ट्रान्सफर्मर, मिटर र जेनेरेटर आइसकेको र विद्युत जडान गरेर पानी परीक्षण गर्न बाँकी रहेको सचिव श्रेष्ठले बताए । आयोजना अन्तर्गत शुक्रवार पाँच वटा बोरिङ निर्माणसँगै छ लाख लिटर क्षमताको रिजर्भवयर ट्याङ्कीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको ट्याङकी र झिगौराको रिजर्भवयर ट्याङ्कीबाट गुलरियाको ओभरहेड ट्याङ्की, घोराही–१४ शिव मन्दिरनेरको ओभरहेड ट्याङ्की र घोराही–१५ मा अद्वैत संस्था नजिक रहेको ओभरहेड ट्याङ्की, घोराही–१८ ढोडेनीको रिजर्भवयर ट्याङ्की र निर्माणाधिन झिँगौराको ओभरहेड ट्याङ्कीमा जम्मा भएर वितरण हुनेछ ।

  • १७ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech