नाम : सुशिल सुवेदी
पदः बरिष्ठ वन अधिकृत
कार्यालयः डिभिजन वन कार्यालय, बाँके (नेपालगञ्ज)
१. तपाईको जीवनको आर्दश के हो ?
मेरो जीवनको आदर्श जल, जङ्गल र जीवजन्तुको संरक्षण गर्नु; र प्राकृतिक स्रोतमा आश्रित सिमान्तकृत समुदायहरू (जस्तैः गरिब, आदिवासी जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति) को प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर सुधार्नु हो ।
२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
मेरो प्रेरणाको मुख्य स्रोत मेरी आमा हुनुहुन्छ । उहाँ बर्दियाको (हाल मधुवन नगरपालिका) एक ग्रामिण गाउँमा प्राथमिक शिक्षक हुनुहुन्थ्यो। मेरो बाल्यकाल त्यहाँका आदिवासी थारु समुदायको बीचमा बित्यो। मैले उहाँहरूको प्रकृतिप्रतिको अगाध प्रेम र बाघ, सर्प जस्ता हिस्रक वन्यजन्तुसँग पनि पुस्तौ देखि कायम राखेको सहअस्तित्व र सद्भावलाई नजिकबाट देखेँ। ।
तर, पछि गएर सम्रान्त (भष्तिभ) समूहबाट उनीहरूको आफ्नै भूमि र प्राकृतिक स्रोतमाथिको अधिकारबाट वञ्चित हुँदै गएको, र विभिन्न अन्यत्र जिल्लाबाट बसाइँसराइले गर्दा वन्यजन्तुको वासस्थान खण्डीकरण र क्षयीकरण भई मानव–वन्यजन्तु द्वन्द्व बढेको दुःखद यथार्थले मलाई गहिरो प्रभाव पार्यो। यही अनुभवले मलाई संरक्षण र सामुदायिक विकासको लागि प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी यो पेशा अङ्गाल्न उत्प्रेरित ग¥यो ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
म प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, विशेष गरी वन सम्बन्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन मार्फत, समुदायको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको छु । मैले गत आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको वन व्यवस्थापन शाखा प्रमुखको रूपमा काम गर्दा, हामीले सो कार्यक्रम मार्फत सामुदायिक वनहरुको कोषमा मात्रै रु. १.१० अर्ब सङ्कलन गर्न सफल भयौं, जुन रकम हाल सामुदायिक विकास,वन विकास, सामाजिक समावेशीकरण र जलवायु अनुकूलनका लागि खर्च भइरहेको छ ।
यसबाहेक, म मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सक्रिय छु । यसमा प्रभावकारी तथा शीघ्र राहत वितरण र वन्यजन्तुको उद्धार जस्ता कार्यहरू पर्दछन्। यसै आर्थिक वर्षमा मात्रै हामीले बाँके जिल्लामा १०० भन्दा बढी विषालु सर्पहरू (गोमन, रसेल भाईपर, करेत)को सफल उद्धार गरेका छौं, जसले मानव र वन्यजन्तुबीचको दिगो र सकारात्मक सम्बन्ध कायम राख्न मद्दत पुगेको छ। यसका अतिरिक्त, प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न महिला, आदिवासी र सिमान्तकृत समुदायको क्षमता अभिवृद्धिमा पनि म सक्रिय रूपमा संलग्न छु।हालसम्म मैले विभिन्न जिल्लाका महिलाद्धारा नेतृत्व भईरहेका समुहहरुलाई वन व्यवस्थापन, लेखा व्यवस्थापन र सुशासन सम्बन्धी तालिम दिईसकेको छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
एक वन अधिकृतको रूपमा मेरो पेशागत जीवनमा धेरै अविस्मरणीय क्षणहरू छन्। । यदि एउटा उल्लेख गर्नैपर्दा, गत वर्ष खजुरा गाउँपालिकाको गिजरा सामुदायिक वन क्षेत्रको समुदायमा एक चितुवाको आक्रमणबाट दुई वर्षीय बच्चाको ज्यान गएको घटना हो । त्यो बेला निकै त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।
हामीले खजुरा गाउँपालिका, सामुदायिक वन, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), बाँके राष्ट्रिय निकुञ्ज, र ’फ्रेन्ड्स अफ वाइल्डलाइफ’ नामक स्थानीय संरक्षण संस्थाको (जसको नेतृत्व श्री आशिष चौधरीले गर्नुहुन्छ) आदी सहयोगी हातको सहयोगमा त्यो चितुवालाई उद्धार गर्न सफल भयौं। तर, विडम्बना ! त्यो चितुवा आफैं पनि साना डमरुहरु (cubs) की आमा रहिछ। हामीले ती डमरुहरूलाई प्रकृतिको जिम्मामा छाड्नुप¥यो। त्यो घटनामा, दुर्भाग्यवश, दुई आमाहरूले आफ्नो सन्तान गुमाउनु प¥यो । मानव वन्यजन्तु द्धन्नदमा हामीले यस्ता दुखद घटनाहरु भोग्नुपर्दो रहेछ ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
मेरो बुझाइमा, पारदर्शिता (Transparency) र जवाफदेहिता (Accountability) सहितको शासन नै असल शासन हो। यो यस्तो आदर्श शासन प्रणाली हो, जहाँ ’आवाजविहीन’ (-voiceless) हरूलाई कुनै पनि पूर्वाग्रहविना सेवा प्रदान गरिन्छ, र सरकार निर्दोष जनताको उत्थानका लागि काम गर्दछ। हाम्रो विभागको सन्दर्भमा भन्नुपर्दा, वनस्पति र जीवजन्तु (flora and fauna) को संरक्षण सुनिश्चित गर्नु नै असल शासन हो ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
मेरो आजीवन प्रतिबद्धता प्रकृतिको दिगो व्यवस्थापन (sustainability या nature ) मार्फत सिमान्तकृत समुदायको कल्याण (welfare या the marginalized community) को सेवामा आफ्नो जीवन समर्पित गर्नु हो। धन्यवाद ।











