काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि भावि रणनीति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष मदन कृष्ण शर्माको अध्यक्षतामा कार्तिक २५ गते उक्त अन्तरक्रियात्मक छलफल सम्पन्न भएको हो। कार्यक्रममा पूर्व महालेखापरीक्षक तथा टीआई नेपालका सदस्य श्री टंकमणि शर्मा दंगालले भ्रष्टाचार नियन्त्रणका लागि तत्काल चालिनु पर्ने कदम र दीर्घकालीन समाधानका उपायका बिषयमा प्रश्तुतीकरण गरेका थिए। प्रस्तुतिमा सेवा प्रवाहमा सुधार, उच्चस्तरीय आयोग, निर्वाचन खर्च नियन्त्रण, दलहरुमा सदाचार, नीतिगत, कानुनी र संस्थागत सुधार जस्ता विषयलाई आउदा दिनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएको थियो ।
छलफलमा सहभागीहरुले देशको बदलिदो परिस्थिति, युवा तथा जनमानसको अपेक्षा, भ्रष्टाचार विरुद्धको आडमा बनेको सरकारका गतिविधि जस्ता विषयमा सुझावहरु दिएका थिए । देशमा बिधिको शासन नहुँनु, दण्डहिनतालाई प्रश्रय दिनु, कानुनको पालना नगर्नुको उपज भ्रष्टाचार भएको र उपरोक्त विषयका कारण युवा तथा जनमासमा बितृष्णा पैदा भई देशले क्षति र अस्थिरता ब्यहोर्नुपरेको वारे छलफल भएको थियो । सहभागिहरुका सुझावलाई समेटेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने टीआई नेपालका अध्यक्ष शर्माले प्रतिबद्धता गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जेन्जी युवा पुस्ता, नागरिक समाजका अगुवा, प्राध्यापक, कानुन ब्यवशायी, नीजि क्षेत्र, विद्यार्थी र संचारकर्मीको सहभागिता रहेको थियो ।









