महेश बिक्रम शाह / चरा सधैंभर आकाशमा उडिरहन सक्दैन । धर्तीमा फर्किनु नै पर्छ । बादल पनि सधैं आकाशमा मडारिन सक्दैन, झरी बनेर धर्तीमा बर्सिनै पर्छ । आफूले टेकेको आँगन छोडेर आकाशतिर हुत्तेका तिमीहरू, तिमीहरूलाई लाग्दो हो, अब सारा आकाश तिम्रै हो ।
यो ब्रम्हाण्ड नै तिम्रो हो । अब कहिल्यै ओह्रलिनु पर्दैन यो जमिनमा । तिमीभन्दा पहिले जो आकाशमा कावा खाँदै बोलेका थिए- “मलाई अब कसैले छुन सक्दैन ।” केही समयपछि बाँझो जमिनमा जोडले पछारिएका थिए । आकाश सधैं कसैका लागि हुँदैन । जसलाई आकाशको उँचाइको बोध हुन्छ, उसलाई आफ्नो सीमितताको पनि बोध हुन्छ । जो जति कम समयमा आकाशको उँचाइ नापेर जमिनमा फर्किन सक्छ, त्यो नै सफल कलाबाज कहलिन्छ ।
धेरै समयसम्म आकाशमा घुमिरहनु भनेको समस्याको सङ्केत हो । बिलखबन्दमा पर्नु हो, हराउनु हो । गुरूत्वाकर्षणको सिद्धान्तमा विचलन आउनु हो । आफ्नो परिधिको आँकलन गर । असीमित आकाशको सीमितता बुझ । धर्ती छोडेर आकाशमा उड्नुको मतलब धर्तीलाई त्यागेको नठान । जबसम्म तिम्रो शरीरमा दुई खुट्टाका दुई पैतलाहरू छन्, यो धर्ती तिम्रा पैतलासंगै टाँसिएको छ भन्ने नभुल । पैतला जमिनमा टेक्नका लागि हो, आकाशमा उड्नका लागि होइन ।
यो दुनियाँमा अरूलाई चङ्गा बनाएर आकाशमा उडाउदै मज्जा लिनेहरू अनगिन्ती छन् । चङ्गा बनेर आकाशमा उड्नेहरूले प्रायः बिर्सन्छन्, चङ्गाको धागो जमिनमा बस्ने ब्यक्तिको हातमा हुन्छ । चङ्गाको लट्टाई खेलाएर चङ्गा उडाइरहेको मान्छेलाई जब चङ्गा उडाउनुको सन्दर्भ सकिएको आभास हुन्छ, तब शनै:शनै: लट्टाईको धागो बेर्न थाल्छ । केही समयअघि आकाशमा पुच्छर हल्लाएर कावा खाँदै धर्तीको खिसी उडाइरहेको त्यो चङ्गा कुनबेला धर्तीमा बज्रिन्छ ? वा हावामा बत्तिएर कहाँकहाँ पुग्छ ? पत्तै हुँदैन । त्यसैले तिमी चरा बन, जसलाई समय र आवश्यकता अनुसार जमिन र आकाशको उपादेयता थाहा हुन्छ ।
चरा, जुन आकाशमा उडेर पनि समयमै जमिनमा फर्किने कला जान्दछ । चरा, जसलाई न आकाशमा उड्नुको अहम् छ न त जमिनमा फर्किनुको कुनै गम छ । चरा त्यो उँचाइसम्म मात्र उड्छ, जुन उँचाइसम्म उड्ने उसको क्षमता छ । सबै चराहरू गिद्ध होइनन् । भँगेरा, परेवा, ढुकुर, कोइली, न्याउली, चील, गिद्ध आदि यी सबै चराहरूको आकाशमा उडान भर्ने क्षमता फरक, फरक छ । तिनीहरूलाई थाहा छ आफ्नो क्षमता, त्यसैले नै आफ्नो हैसियत अनुसार नै ती चराहरू आकाशमा उड्छन् ।
आकाशमा उड्नुअघि आकाशमा उड्नसक्ने आफ्नो क्षमताको बोध हुनु सफलताको पहिलो सर्त हो । जुन चरालाई यो बोध हुँदैन वा भएर पनि आकाशमा बत्तिने सपनाले उचालिन्छन्, ती पागल चराहरू असमयमै जमिनमा पछारिन्छन् । # तिमी चरा बन जेन-जी । # तिमी आकाशमा उडेको केही बेरमै धर्तीमा पछारिने चङ्गा नबन । चङ्गा चेट् हुनबाट बचाउ आफूलाई !!











