नेपालगन्ज । नेपालबाट रुपैडिहा प्रवेश गर्दा पक्राउ परेकी महिलालाई ८ वर्षको कैद सजाय हुने भएकोछ।
‘अपरेशन कन्विक्शन अभियान अन्तर्गत भारतको बहराइच न्यायालयले विदेशी अधिनियम उल्लंघन गरेको आरोपमा पक्राउ परेकी चिनियाँ नागरिक ली जिन मेयी उर्फ ली शिन मेईलाई उक्त कैद सजाय सुनाएको हो ।
बहराइच न्यायालयले ली जिन मेयीलाई ८ वर्षको कैद र ५० हजार भारतीय रुपैयाँ जरिवाना सजाय सुनाएको छ। न्यायालयका अनुसार जरिवाना नतिरे थप ६ महिनाको कैद हुने उल्लेख गरेको छ ।
सन् २०२३ डिसेम्बर २ मा रुपैडिहा नाका नजिक एसएसबी चेकपोस्टमा चेकजाँचका क्रममा ली जिन मेयीलाई रोकेपछि
उनीसँग चीनको पासपोर्ट भएपनि भिसा नेपालका लागि मात्र जारी भएको पाइएको थियो । सो क्रममा उनलाई नियन्त्रणमा लिएर रुपैडिहा थानामा मुद्दा दर्ता गरिएको थियो । निरन्तर पैरवीपछि १७ नोभेम्बर २०२५ मा तृतीय अपर सत्र न्यायाधीशले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।











