इन्फ्लुएन्जा भाइरससँगै भाइरल निमोनियाको जोखिम बढ्दै गर्दा पहाडी–हिमाली क्षेत्रमा बालबालिका र वृद्धवृद्धा गम्भीर संकटमा रहेका छन् । हाल दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान, जाजरकोट लगायतका पहाडी तथा हिमाली जिल्लामा इन्फ्लुएन्जा संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले भाइरल निमोनिया का बिरामी उल्लेख्य रूपमा बढिरहेका छन्। बालबालिका र वृद्धवृद्धा विशेष रूपमा जोखिममा छन्, कारण उनीहरूको प्रतिरोधात्मक क्षमता कमजोर हुनु तथा समयमै उपचारको अभाव देखिएको छ ।
किन पहाडी–हिमाली क्षेत्रमा अवस्था गम्भीर :
देशका पहाडी र हिमाली क्षेत्रमा निम्न कारणले अवस्था गम्भीर हुदै गएको छ ।
१. चिसो मौसम र सुख्खा हावाले भाइरस छिटो फैलिनु ।
२. स्वास्थ्य सेवा केन्द्र टाढा, उपचार पाउन ढिलाइ ।
३. भीडभाड र विद्यालयमार्फत संक्रमण फैलिनु ।
४. इन्फ्लुएन्जा खोपको पहुँच कमजोर ।
५. इन्फ्लुएन्जा भ्याक्सिन महँगो, ग्रामीण र दूरदराजका जनतामा पहुँच अत्यन्त सीमित
इन्फ्लुएन्जाबाट जोगिनको लागि सबैभन्दा प्रभावकारी साधन भ्याक्सिन (खोप) नै भए पनि यसको मूल्य धेरै परिवारले धान्न नसकिने जति महँगो पर्छ। दूरदराजका ठाउँमा समस्या झन् गम्भीर देखिएको छ । खोपको मूल्य यात्रा खर्च धेरै हुनु, नजिकै स्वास्थ्य संस्था नहुँदा खोप लिन लामो दूरी हिँड्नुपर्ने बाध्यता रहनु र आर्थिक स्थिति कमजोर भएकाहरूले खोप प्राथमिकता भन्दा तल राख्न बाध्य हुने लगायतका कारण सबैभन्दा जोखिममा रहेका बालबालिका र वृद्धवृद्धा खोपबाट वञ्चित भइरहेका छन्।
नेपाल सरकारले इन्फ्लुएन्जा भ्याक्सिन निःशुल्क उपलब्ध गराउनुपर्ने माग स्वास्थ्यविद्हरू, स्थानीय तह तथा जनस्वास्थ्य अभियन्ताहरूको तर्कमा प्रत्येक बालबालिका, ६० वर्षअघि माथिका सबै वृद्धवृद्धा बुबा–आमालाई इन्फ्लुएन्जा भ्याक्सिन सरकारले निःशुल्क रूपमा उपलब्ध गराउनैपर्ने स्थिति निर्माण भएको छ। यसले जोखिम समूहमा संक्रमण र निमोनियाको दर घटाउने, अस्पताल भर्ना तथा जटिलता कम गर्ने, मृत्यु दर ठूलो मात्रामा घटाउने, ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सुरक्षाको समान अवसर दिने जस्ता प्रत्यक्ष प्रभाव पार्ने भएकाले निःशुल्क खोप कार्यक्रम तत्काल सुरु गर्नुपर्ने माग उठिरहेको छ।
बालबालिका र वृद्ध किन सबैभन्दा बढी जोखिममा :
१. बालबालिकामा प्रतिरक्षा प्रणाली अपरिपक्व
२. वृद्धमा दीर्घरोग र कमजोर प्रतिरोध क्षमता
३. सानो संक्रमण पनि उनीहरूमा निमोनियामा बदलिन सक्ने सम्भावना धेरै
कुन लक्षण देखिए तुरुन्त अस्पताल जानु :
१. उच्च ज्वरो
२. सास फेर्न गाह्रो
३. छाती दुख्ने
४. बच्चामा सुस्तपना, दुधरखाना नखानु
५. वृद्धमा अत्यधिक थकान वा होसमा कमी
बच्ने उपायहरू :
१. उपलब्ध भए इन्फ्लुएन्जा खोप लगाउने
२. मास्क, सफाइ, हात धुने
३. चिसोबाट जोगाउने
४. भीडभाड कम गर्ने
५. पोषिलो आहार र प्रशस्त पानी
Influenza को सङ्क्रमणबाट बच्नको लागि छ महिना पुगेका बालबालिकाले प्रत्येक साल आठ वर्ष पुग्दासम्म र ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले प्रत्येक साल यो भ्याक्सिन लगाउनुपर्दछ। यो भ्याक्सिन आम नागरिकलाई किन्नुपर्ने भएको हुनाले भ्याक्सिन महँगो छ। यसको होलसेल मूल्य ४००० भन्दा माथि छ। नेपाल सरकारलाई अनुरोध छ यो भ्याक्सिन हाम्रा नागरिकलाई निःशुल्क रुपमा उपलब्ध गराइयोस भन्ने माग गर्दछु ।
(खत्री वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनी तुलसी बाल अस्पताल तुलसीपुर दाङमा कार्यरत छन् ।)











