बझाङ / बित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा नमुना माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको जिल्लास्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीमा विज्ञानप्रतिको रुचि, व्यवहारिक ज्ञान र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको प्रदर्शनीमा बझाङ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा नौ वटा माध्यमिक विद्यालयहरूले सहभागीता जनाएका थिए। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रदर्शनीमा भैरव माध्यमिक विद्यालय, झोता प्रथम, आयोजक सुनकुडा नमुना मावि द्वितीय, शिक्षोदय मावि बागथला तृतीय, र जनप्रिय मावि बगडगाउँ सान्त्वना बनेको विद्यालय प्रशासनले जानकारी दिएको छ। विजेता विद्यालयहरूलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान मोडेल, उपकरण तथा नवीन परियोजना प्रदर्शन गरिएको थियो। सहभागिताले विद्यार्थीको आविष्कारशील सोच, अनुसन्धान क्षमताहरू र प्राविधिक दक्षता उजागर गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमका अनुसार, यस्ता कार्यक्रमले “विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र विद्यार्थीको व्यवहारिक सिकाइलाई मजबुत बनाउने” बताए।
उनका अनुसार, विज्ञान शिक्षा केवल किताबमै सीमित हुनु नहुने र विद्यार्थीलाई व्यवहारिक रूपमा सिकाउने अवसर बढाउनुपर्ने आवश्यकता रहेको छ। “भविष्यमा यस्तो गतिविधिलाई निरन्तरता दिँदै अझ विस्तृत र प्रभावकारी बनाइनेछ,” उनले थपे। कार्यक्रमको समापनमा प्रमुख अतिथि, विद्यालय प्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूले विद्यार्थीले प्रस्तुत गरेका सामग्रीको प्रशंसा गरेका थिए। वक्ताहरूले विज्ञान तथा प्रविधिमैत्री शिक्षादेशलाई प्राथामिकता दिने विद्यालयहरूको प्रयास सराहनीय भएको उल्लेख गर्दै, यस्ता प्लेटफर्मले ग्रामीण विद्यालयका विद्यार्थीका क्षमता उजागर गर्न महत्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गरे।











