अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

असल शासन प्रतिनिधि

दाङ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवर्दन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदेश सरकारले निरन्तर काम गरिरहेको मुख्यमन्त्रि आचार्यले बताए ।

प्रदेशभर अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता समन्वय समिति गठन, र सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि पूर्वाधार तथा संरचनामा सुधार गरिएको उहाँको भनाइ छ । पुराना संरचनामा आवश्यक परिमार्जन र नयाँ संरचना पूर्ण रूपमा अपाङ्गमैत्री बनाउन काम भइरहेको पनि मुख्यमन्त्री आचार्यले जानकारी दिए। शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सेवामा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच सुनिश्चित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउन कानुनी आधार निर्माण गर्दै अघि बढ्ने प्रदेश सरकारले स्पष्ट पारेको छ ।

मुख्यमन्त्री आचार्यले दिवसको अवसरमा अपाङ्गता अधिकार प्रवर्दन अभियानमा सहभागी सबैमा शुभकामना व्यक्त गर्दै दिवसको सफलताको कामना दिएका छन् ।

  • १८ मंसिर २०८२, बुधबार प्रकाशित

  • Nabintech