नेपालगन्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हुने भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनकोे तयारी तिब्रै पारिएको छ ।
डिसेम्वर ९ (मंसिर २४ गते) नेपालगन्जमा हुने नेपालगञ्ज वाकाथनको तयारी तिब्र पार्ने क्रममा आज समन्वय बैठक सम्पन्न भएको छ ।
बिगत पाँच बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुने उक्त वाकाथनलाई भव्यताका साथ सफल पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भ्रष्टाचार बिरुद्धसँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथनको समन्वय बैठकमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले वाकाथनलाई भव्यताका साथ सफलपार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुंग, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, उच्च अदालत बार ईकाईका अध्यक्ष चित्र बहादुर शाही, अन्तरालका प्रमुख जयनारायण शाह, पत्रकार झलक गैरे, नुड्स बाँकेका अध्यक्ष लोग बहादुर परियार, गैसस महासंघ नेपाल बाँकेकी पूर्ब उपाध्यक्ष निर्मला सुनार, नेपाल रेडक्रस सोसाईटि बाँकेकी सरिता सिंह, पूर्ब बिधार्थी समाज जनता नमुना माबिका अध्यक्ष झविलाल शर्मा लगायतले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको उद्धेश्य माथि प्रकाशन कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रमको समापन संस्थाका अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।
वाकाथन मंसिर २३ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाईन हँुदै नेपालगञ्जको रामलिला मैदानमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन लगायतका गतिविधिहरु हुने छन् ।
कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ ।
कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।
पाँचौ पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।
पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।
दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।
तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो ।
चौथो बर्ष २०२४ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक, सदरलाई हुँदै रामलिला मैदान गएर समापन भएको थियो ।
यसैबिच नेपालगञ्ज वाकाथनको तयारीका सन्दर्भमा गैससहरु बिच समन्वय बैठक सम्पन्न भएको छ बैठकमा सहभागि गैससकर्मीहरुले सुशासनको खडेरी परेको
समयमा नेपालगन्जको सडकबाट भ्रष्टाचार बिरुद्धको सन्देस प्रवाह गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।









