मंसिर २१
नेपालगञ्ज / नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकहरुबाट लाइन काटेर एकसाता यता २१ लाख बढी रकम असुलउपर गरेको छ ।
बक्यौता असुलीका लागि ग्राहकहरु उपर कडाइ बढाउदै नेपालगंज वितरण केन्द्रले एक सातायता ५२ लाख १३ हजार ४ सय ६१ रुपैयाको बक्यौता असुलीका लागि मङ्सिर१४ गतेयता ३ सय २२ जना ग्राहकहरुको विद्युत लाइन काटेको जनाएको छ ।
त्यसमध्ये १७ लाख ९७ हजार १ सय ७७ रुपैया बक्यौता असुलीका लागि आइतबारमात्रै १ सय २१ जना ग्राहकको विद्युत लाइन विच्छेद गरेको हो । नेपालगंज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राका अनुसार, यो अवधीमा लाइन काटिएका ग्राहकहरुबाट नेपालगंज वितरण केन्द्रले २१ लाख ७६ हजार ५ सय १७ रुपैया बक्यौता असुल गर्दै १ सय ३३ जना ग्राहकहरु विद्युत लाइन पुन: जोडेको छ । जसमध्ये आइतबार मात्रै ६ लाख ८९ हजार ४ सय ३१ रुपैया बक्यौता असुल गरी ४४ जनाको विद्युत पुन: सुचारु गरिएको जनाइएको छ ।
त्यसैगरी कालोपाटीमा सूचिकृत मध्ये आइतवार एक जना ग्राहकबाट १ लाख रुपैया असुल उपर गरेको पनि नेपालगंज वितरण केन्द्रले जनाएको छ । समयमा नै विद्युत महसुल भुक्तानीका लागि सम्पूर्ण ग्राहकवर्गलाई अनुरोध गर्दै नेपालगंज वितरण केन्द्र प्रमुख मिश्राले बक्यौता असुलीका लागि लाइन काट्नु बाध्यता भएको बताउनु भयो । ६१ दिन भन्दा बढी महसुल बक्यौता रहेका ग्राहकहरुको विद्युत लाइन जुनसुकै बेला काट्न सकिने विद्युत प्राधिकरणको प्रचालित विनियममा उल्लेख रहको छ ।









