धर्मराज तिमिल्सिना
बाजुरा / बाजुराको हिमाली गाउँपालिका–३ स्थित मनमोहक तथा अपार सम्भावना बोकेकको पर्यटकीय क्षेत्र रानीसैन जडीबुटी दोहनका कारण गम्भीर सुरक्षा चुनौतीको अवस्थामा पुगेपछि व्यवस्थित सुरक्षा व्यवस्थाको माग गरिएको छ।
बाजुरेली युवा धर्मराज तिमिल्सेनाले अस्थायी प्रहरी चौकी स्थापना, नियमित सुरक्षा गस्ती, तथा विशेष अनुगमन टोली परिचालनलगायत मागसहित गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष औपचारिक निवेदन पेस गरेका हुन्।
रानीसैन बहुमूल्य हिमाली तथा उच्च औषधीय मूल्य रहेको जडीबुटीको मुख्य भण्डार भएकाले पछिल्लो समय यहाँ अवैध उत्खनन्, तस्करी समूहको सक्रियता, वन विनाश, र सरकारी संयन्त्रको न्यून उपस्थितिका कारण जोखिम बढ्दै गएको तिमिल्सेनाको भनाइ छ।
उनका अनुसार “रानीसैन क्षेत्रको जडीबुटी तथा प्राकृतिक स्रोतको संरक्षण, स्थानीय सुरक्षा, राष्ट्रिय सम्पदाको रक्षा, र दिगो वातावरणीय व्यवस्थापनका लागि तत्काल सुरक्षा संरचना आवश्यक” रहेको छ।
तिमिल्सेनाले राखेका मुख्य मागहरू
प्रहरी, वन कार्यालय र स्थानीय सरकारको संयुक्त विशेष अनुगमन टोली, जोखिमयुक्त क्षेत्रमा नियमित सुरक्षा गस्ती र अनुगमन कार्यालय स्थापना, बहुमूल्य जडीबुटीको दिगो वैज्ञानिक व्यवस्थापन, राजस्व संकलनमा पारदर्शिता, तथा बजार व्यवस्थापन सम्बन्धी उच्चस्तरीय नीति निर्माण, सीमा नजिकका स्थानमा हुने अवैध तस्करी रोक्न समन्वित सीमा सुरक्षा योजना, श्रम पर्यटन, जडीबुटी, कृषि तथा पशुपालनका सम्भावनायुक्त क्षेत्रका लागि सुरक्षित र समर्थित विकास योजना, स्थानीय बस्ती नजिक अस्थायी प्रहरी चौकी स्थापना र आकस्मिक घटना तथा आपराधिक गतिविधि नियन्त्रणका लागि मोबाइल सुरक्षा टोली परिचालन, कठिन भौगोलिक परिस्थितिलाई ध्यानमा राखी स्थायी चौकी स्थापना सम्भाव्यता अध्ययन।
तिमिल्सेनाले रानीसैन क्षेत्रको जडीबुटी दोहन नियन्त्रण, पर्यटन प्रवर्द्धन, संरक्षण तथा वातावरणीय स्थायित्व कायम राख्न तत्काल पहल गर्न गृहमन्त्रीलाई सादर अनुरोध गरेका छन्।
रानीसैन क्षेत्रको विशेषता
समुद्री सतहबाट ३,५७८ मिटर उचाइमा अवस्थित रानीसैन पछिल्लो समय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै आएको छ।
यहाँ पाइने प्रमुख जडीबुटी : यार्सागुम्बा, जटामसी, बुक्की, पदमचाल, पाँचऔले, सेतो चिनी, विषलगायत अन्य बहुमूल्य जडीबुटी ।
रंगबिरंगी फुलहरूले ढाकिएको विशाल फाँट, सेताम्य हिमाल, र बर्खामा हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ–गुडुङ आवाजले रानीसैन प्राकृतिक सौन्दर्यका कारण अत्यन्त आकर्षक मानिन्छ।









