घोडाघोडी , २२ मङ्सिर/ कैलालीको चुरे गाउँपालिका सबैभन्दा बढी प्रभावित छ । यहाँ आन्तरिक खपत नहुने भएकाले सबै लिलाम बिक्री गर्ने गरिएको थियो । वन समूहले काठ बेचेर राजस्व सङ्कलन, वन विकास, सामाजिक कार्यक्रम र ऋण तिर्ने गरेका थिए । तर यसपटक काठ उठ्नै नपाउँदा समस्या भएको चुरे–३ सहजपुरस्थित जनजागृति सामुदायिक वनका अध्यक्ष धनबहादुर खडायतले बताए । उनका अनुसार पाँच हजार क्यूफिटभन्दा बढी काठ घाटगद्दीमै छ ।
चुरे–३ को पञ्चवली सामुदायिक वनमा पनि तीन हजार क्युबिक फिट काठ सङ्कलन गरिएको थियो । काठ कुहिएर खेर जान थालेको सामुदायिक वनका अध्यक्ष प्रेम रानामगरले बताए । “वन पैदावार बिक्री रोक्नका लागि अनियमितताको कारण देखाइएको छ”, उनले भने, “जहाँ अनियमितता भयो त्यहाँ रोकेर छानबिन गर्नुपर्छ । किन कैलालीमै मात्र प्रतिबन्ध लगाइएको हो । सरकारले स्पष्ट गर्नुपर्छ ।” केही दिनमा बिक्री वितरण नखुलाइएमा आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् । महोन्याल–७ कुइनेस्थित बन्डाली सामुदायिक वनमा पनि तीन हजार चार सय क्युबिक फिट काठ कुहिने अवस्थामा पुगेको वनका अध्यक्ष महेश विष्टले बताए । काठ व्यवसायीहरूले सापटी र बैङ्कबाट कर्जा लिएर व्यवसाय चलाइरहेकामा सरकारले वन पैदावार बिक्री–वितरणमा रोक लगाएपछि लगानी डुब्ने अवस्थामा पुगेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिक्मत कुँवरले बताए । सुदूरपश्चिम प्रदेशका वनसम्बन्धी समस्या समाधानका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका कुवँरका अनुसार कार्यदलले वन पैदावार बिक्री खोल्नुपर्ने मागसहित मुख्यमन्त्रीलाई प्रतिवेदन पेस गरिसकेको छ । “यदि प्रतिवेदनका सुझावहरू कार्यान्वयन भएनन् भने, हामी सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्छौँ,” उनले भने । सुदूरपश्चिम प्रदेश सरकारले वन पैदावार बिक्री वितरणमा रोक लगाएपछि खुलाउने पर्नेलगायतका विभिन्न २५ बुँदे माग राख्दै सामुदायिक वन समूहका उपभोक्ता र विभिन्न सरोकारवाला निकायहरू आन्दोलित भएका थिए । विकल्प खोज्न प्रदेश सरकारले गत कात्तिक २८ गते वन निर्देशक हेमराज विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले मङ्सिर २१ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव सहित प्रतिवेदन बुझाएको छ । विष्टका अनुसार प्रतिवेदनमा काठ नियमअनुसार तत्काल बिक्री वितरण फुकुवा गर्न सिफारिस गरिएको छ ।
कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गत भदौ ३० गतेदेखि वन पैदावार बिक्री वितरणमा अनिश्चितकालीन रोक लगाएपछि जिल्लामा सङ्कलित र लिलाम भइसकेका लाखौँ क्यूफिट काठ घाटगद्दीमै थन्किएका हुन् । समयमै सङ्कलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन् । करोडौँ मूल्य बराबरको वन पैदावार कुहिने अवस्थामा पुगेको छ ।









