भक्तपुरकी विनिता तामाङ बनिन् युथ भ्वाइस नेपालको विजेता

रबिन्द्र बोहरा

युथ भ्वाइस नेपालको विजेता भक्तपुरकी विनिता तामाङ भएकी छन् । । बास नेपालले फोटो सर्कलको सहकार्यमा मंसिर २५ गते काठमाण्डौमा आयोजना गरेको युथ भ्वाईस नेपालको विजेता बनेकी हुन् । प्रतियोगिताको द्धितीय स्थान धरानकी स्वस्तिका धमाला र तृतीय स्थान नवलपुरका रिशक गौतमले प्राप्त गर्न सफल भएका छन् । युवाहरुको बोल्ने कला अभिवृद्धि गर्ने, वक्तव्य क्षमता विकास गर्ने तथा वक्तव्य क्षेत्रको युवा प्रतिभाको खोजी गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।


असोज २८ गते बास नेपालले देश भरीबाट खुला आवेदन गरे पश्चात आवेदन दिएका २१ जना प्रतिष्प्रधिहरु कार्यक्रममा सहभागि भएका थिए । सहभागि प्रतियोगिहरुलाई वक्तव्यका लागि कार्यक्रम स्थलमा “महिला मुक्तिको अर्थ र ऐक्यवद्धता र राष्ट्र र राष्ट्रियताका लागि युवाको भुमिका” गरी दुई ओटा शिर्षक उपलब्ध गराईको थियो । प्रतियोगितामा विजेता हुने विनिता तामाङले राष्ट्र र राष्ट्रियताको लागि युवाको भुमिका शिर्षकमा आफ्नो वक्तव्य प्रस्तुत गरेकी थिइन् ।
प्रतियोगिताको निणर्यक समितिमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कन्चन घिमिरे र बरिष्ठ उदघोषीका सकुन्तला शाह शाह रहेका थिए । कार्यक्रमका प्रथम विनिता तामाङले नगद रु.१० हजार, द्धितीय स्वस्तिका धमालाले रु. ५ हजार र तृतीय रिशक गौतमले रु.३ हजार सहित प्रमाण–पत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कन्चन घिमिरेले युवाले अवसर लिन छोड्न नहुने र आत्म विश्वासका साथ तथ्य सहित बोल्दा त्यसले यथार्थता प्रमाणित गर्ने बताए । उनले युवाले कहिल्यै पनि नकारात्मक सोच्न नहुने, गलत विचार मनमा आउन नदिने कुनै पनि कार्यलाई १०० प्रतिशत मेहनतका साथ गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रमका निर्णायक समितिका संयोजक कृष्णहरी बास्कोटाले बोल्दा युवाले के बोल्ने के नबोल्ने, कहाँ कुन अवस्थामा के कसरी बोल्ने, बोल्दा त्यसको शारीरिक भाव कसरी व्यक्त गर्ने, असल वक्ता कसरी बन्ने भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराउनुका साथै वक्तहरुले बोल्दाका असल पक्ष र भएका त्रुटिहरुको बारेमा सहभागीलाई जानकारी गराएको थिए ।
निर्णायक सकुन्तला शाहले निर्णय प्रक्रियाका बारेमा सहभागिहरुलाई जानकरी प्रदान गरेकी थिइन् । फोटो सर्कलकी साहित्य, कला र शिक्षा संयोजक सरिता सिंहले युवाहरुलाई फोटोको माध्यमबाट मात्र नभई त्यसलाई बोल्ने माध्यमबाट समेत समाज चिनाउन जरुरी भएको र त्यसको प्रयास फोटो सर्कलले गरेको बताईन् ।
कार्यक्रमको संचालन पब्लिच स्पिच नेपाल सिजन १ का दोस्रो स्थान प्राप्त गर्न सफल सुशिला धमालाले गरेकी थिइन् ।

  • २६ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech