बाँके/ बाँके स्थित बिभिन्न सरकारी कार्यालयहरुसँग सूचना प्रबाह र गुनासो व्यवस्थापन बारे सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम बास नेपालसँग आबद्ध युवाहरुले सूचना माग गर्दै सम्बद्ध कार्यालयहरुमा सूचना दर्ता गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, जिल्ला हुलाक कार्यालय, बाँके, यातायात व्यवस्था कार्यालय, डिभिजन बन कार्यालय, भुमिसुधार तथा मालपोत कार्यालय बाँके, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय, स्वास्थ्य कार्यालय, बाँके र नापी कार्यालय लगायत १० वटा कार्यालयसँग सूचना माग गरिएको हो ।
उक्त कार्यालयहरुसँग क्रमशः मन भण्डारी, राष्टि बुढा मगर, सुमिता कुमाल, हेमराज भट्ट, शोभा थापा मगर, शुद्ध चौधरी, माधव कार्की, प्रदिप बोहरा, शोभा भण्डारी, जमुना थारु र रमिता शाहले सूचना माग गरेका हुन् ।
माग गरिएका सूचनाहरुमा कार्यालयबाट प्रबाह गरिने सूचना प्रबाहको अवस्था, कार्यालयका सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्वर, सूचनाको हक सम्बन्धि ऐन, नियमावली बमोजिम स्वस्फुर्त खुलाशा प्रकाशन गर्ने गरिए, नगरिएको अवस्था, यस आ.ब.को पहिलो त्रैमासिकको स्वस्फुर्त खुलाशा बिबरणको छायाँकपि रहेका छन् ।
यसैगरी सूचना मागकर्ताहरुले सेवाग्राहीहरुको गुनासो व्यवस्थापन, गुनासो अधिकारीको नाम, पद र सम्पर्क नम्वर माग गरेका छन् । सूचना मागकर्ताहरुले सेवाग्राहीहरुलाई सेवा लिँदा बस्ने व्यवस्थापन बारे समेत सूचना माग गरेका छन् ।









