बास नेपालको गौरवय ईतिहास

स्थापना देखि रजत बर्ष सम्म 

नमस्कार शाह

संस्थाको स्थापना :
गृह जिल्ला अछामबाट उच्च शिक्षा हांसिल गर्न २०५६ शालमा नेपालगञ्ज आएं, आएको केही समय पछि रेयुकाई भन्ने संस्थामा काम गरें, सो संस्थाले मलाई समाजमा भिंजायो, सेवा गर्ने अवसर पनि दियो, तर पनि बेथितिका विरुद्ध आवाज उठाउने अवसर सो संस्थाले दिएन, केहि गर्नु पर्छ भन्ने जोशिला साथीहरुको संगत थियो त्यसताका । केही गरौं भन्दा—भन्दै २०५६ साल बित्यो, २०५७ सालको कुरा हो, एका बिहानै बिछ्यौनामैं रेडियो बजाउँदा असल शासन कार्यक्रमबाट म केदार खडकाको नमस्कार भन्ने आवाज सुनियो । जोशिलो प्रश्तुती रहेको सो कार्यक्रम ध्यान दिएर सुनें र सुन्दै जाँदा म केदार सरको रोचक प्रश्तुतीबाट प्रभावित भएँ ।
कार्यक्रम अन्तर्गत अधिराज्यभर असल शासन रेडियो श्रोता क्लबहरु विकृति, विसंगति र बेथितीका विरुद्ध क्रियाशिल रहेको थाहा सो कार्यक्रमबाट पाउंदा अति खुशी लाग्यो र ढुँगा खोज्दा देउता मिले झैँ भयो ।
जोशिला साथीहरुको संगतमा समूहगत आवाज उठाउन पाईने भइयो जस्तो लाग्यो र स्वाभाबैले पनि म अन्याय नसहने र बिकृती, बिसंगति विरुद्ध लाग्ने व्यक्ति थिएँ । महेन्द्र बहुमुखि क्याम्पसमा आइ.ए.दोश्रो वर्षमा पढ्दै गर्दाको कुरा हो यो । पढाइकै क्रममा विभिन्न समस्याहरु हामीले झेलेका थियौं, अंग्रेजी पढाउने  एक जना म्याडम १५ दिनको एक दिन आफ्नो दर्शन दिन आउनु हुन्थ्यो, अन्य बिषयको पढाई पनि नियमित हुन्थेन पढाइमा अति लापरवाही र परिक्षामा अति कडाई गरिन्थ्यो ।
यी क्याम्पसका विकृती र विसंगतिका विरुद्ध लाग्ने अभिप्रायका साथ आई.ए. दोश्रो वर्ष पढ्ने साथीहरुको संलन्लतामा असल शासन रेडियो श्रोता क्लब गठन गर्ने प्रश्ताव मैले साथी भुपेन्द्र शर्मालाई राखें र उनले पनि गरौं भनेर सहमति जनाए  । मैले क्लबको स्थापना गर्दा थुप्रै अभ्यासहरु गर्नु प¥यो, साथीहरु समेट्ने काममा होस् या क्लब गठन गर्र्नका लागि क्याम्पस प्रशासनको अनुमति माग्ने काममा होस् । त्यतिखेरका क्याम्पस प्रमुख डा.गोपाल प्रशाद शर्मा अधिकारीको हप्काई पनि खानु परेको थियो ।
उहांको हप्काई थियो — किन गठन गर्नु प¥यो क्लब, सलब । अनुमती नपाएपछि हामी जो गुरुको व्यक्तित्वबाट प्रभावित थियौँ, जसले स्थापना गर्दा देखी अहिले सम्म सहयोग गरिरहनु भएको छ —उपप्राध्यापक रुद्र प्रसाद तिमिल्सेना । उहांलाई गएर क्याम्पस प्रमुखको हप्काई सुनायौँ र उहांले सान्त्वना दिंदै राम्रो कामका लागि शुरुवात एकै जनाबाट हुन्छ, मेरै कक्षा सिद्धियपछि गठन गर्ने प्रश्ताव गर्नु म सहयोग गरौंला भने पछि २०५७ मंसीर २४ गते कक्षा सिद्धिएपछि हामीले रुद्रसरलाई प्रश्ताव गर्यौं र प्रश्ताव स्विकारेर सरले क्लब लोकतान्त्र्रिक तवरले गठन गर्न सहयोग गर्नु भयो ।
मैले राजनितिशास्त्र असारे श्रोता क्लब राजनितिशास्त्र विभाग आइ.ए.दोश्रो वर्ष म.ब.क्याम्पसको स्थापना गर्ने काममा सफल भएपछि म सचिवको रुपमा काम गर्ने निधो गरें र भुपेन्द्र शर्मालाई अध्यक्षमा प्रस्ताव गरेँ । शर्माको अध्यक्षतामा १५ सदस्सिय कार्य समिति गठन भयो । पढाईका नाममा राजनीति गर्ने प्राध्यापकका बारेमा रेडियो कार्यक्रममा प्रशारण गराउने काम हामीले गर्यौं । जसका कारण एक बर्ष देखि अनियमित पढाई भईरहेको अंग्रेजी बिषय नियमित पढाई हुन थाल्यो, यो सफलताबाट हामी निकै उत्साहित भयौं । भ्रष्टाचार विरोधि आवाजको रुपमा असल शासन मासिक पत्रिकाको शुरुवात फाल्गुन ७ गते (प्रजातन्त्र दिवस) देखि गरियो । २०५७ साल यसै गरी बित्यो । २०५७ सालमैँ आफूलाई क्लबले भ्रष्टाचार विरोधी क्लबको रुपमा परिचित गराई सकेको थियो ।
भुपेन्द्र शर्मा लगायतका साथीहरु नेपालगंजबाट बाहिर जानु भयो । उहांहरुले छोडेपछि सहसचिव गिरेन्द्र बोगटी र कोषाध्यक्ष आशा रावल र म ३ जना मिलेर क्लबलाई निरन्तरता दिनु पर्छ भन्ने सोच राखी मेरो अध्यक्षतामा कार्यबाहक समिती गठन भयो जसमा सचिव गिरेन्द्र र कोषाध्यक्षमा आशाजी रहनु भयो । यो कार्यबाहक समितिले पत्रिकालाई श्रोत, साधनका अभावका कारण त्रैमासीक गरायो । यो समितीबाट एक अंक निस्क्यो । कार्यबाहक समिती सक्रिय हुन सकेन समिती विगठन भयो र  कृष्ण अविरल (असल शासन केन्द्रिय प्रतिनिधी) को उपस्थितीमा म अध्यक्ष रहेको १५ सदस्यीय समिती गठन भयो जसमा गणेश खड्का उपाध्यक्ष र प्रेम ढुँगाना सचिब हुनुहुन्थ्यो । ढुंगाना जी पनि ४ महिना जति सक्रिय भएर क्लब छोड्नु भयो । यस भन्दा अघिनँै प्रो पब्लिक (जसको मातहतमा क्लब गठन भएको थियो) ले पत्रिका प्रकाशन गरेकोमा बधाई ज्ञापन गरिसकेको थियो । २०५८ सालमै केदार सरबाट असल शासनका लागि स्थानिय जागरण तालीम लिने अवसर पाइयो । झन उत्साह र जोश थपियो असल शासनको अथक यात्रामा । तालिमले इट्टा थप्ने काम गर्यो जोश र जाँगरमा ।
पत्रिकालाई मासिक बनाउने काम भयो २०५९ सालमा । त्यो कार्यकाल अति नैं महत्वपूर्ण रह्यो किनभने सानो ठाउँबाट सानो उद्धेश्य लिएर स्थापना भएको क्लबको बिस्तारै समयको परिवर्तनसँगै आवश्यकता पनि बढ्दै गयो । साँघुरिएर रहेको क्लबलाई फराकिलो बनाउनकालागि क्लबको नाम परिवर्तन गरि बागेश्वरी असल शासन क्लबको रुपमा नामाकरण गरि बांकेलाई आफ्नो कार्यक्षेत्र बनाई व्यापकता दिने काम गरियो ।
२०५७ साल देखि २०५८ सालको २ वर्षको अवधिमा ठुलै उपलब्धि हात पार्न सफल नभए पनि क्लबले केही उपलब्धि चाहिं हात पारेको थियो । भ्रष्टाचार विरोधि आवाजको रुपमा प्रकाशित हुने असल शासन मासिक पत्रिकामा लेखिएका तथ्यगत रिपोर्टका कारण देखापरेका सुधार हुन् वा विद्यालय अनुगमनका माध्यमबाट खबरदारी गर्दा आएका सुधार हुन् यसलाई उपलब्धिनैं मान्नु पर्छ । कुनै श्रोत नभएर पनि जिम्मेवारीताका साथ क्रियाशिल क्लबले लगातार भ्रष्टाचार विरुद्ध औंलो ठड्याउने काम मात्र गरेन, चोटिलो प्रहार समेत ग¥यो । चुनौती वा खतरा मोल्न नसक्ने मान्छेबाट परिवर्तन हुन सक्दैन भन्ने यथार्र्थलाई हामीले अंगिकार गरेको थिएं । २०५७ देखि २०५८ का थुप्रै बैठकहरु कहिले क्याम्पसको चौर, प्राङ्गण, बिभिन्न साथीहरुको कोठा वा विभिन्न चौतारीहरुमा भए ।
नयां जोश जांगरका साथ २०५९ शाल देखि क्लबको श्रोत नभएपनि पदाधिकारी बाट उठ्ने लेबि बाट कोठा भाडा दिने गरि उमा थापा मगर (पछि वहाँ नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख समेत हुनुभयो) र मैले कोठा खोज्यौं कार्यालयका लागि सदरलाईनमा । कार्यालय खोली सकेपछि क्लबको गति बढदै गयो, दिनानुदिन प्रगति हँुदै गयो । तर क्लबको शुरुवात देखी नैँ कार्यसमितिमा आउने जाने क्रम बढि रहेकाले यो क्रम चलिनैं रह्यो ।
एन.जि.ओ. हो केहि कमाउन सकिन्छ कि भनेर पनि केहि साथीहरु सँस्थामा आए । बिना आर्थिक श्रोतमा स्थापना गरिएको कार्यालय व्यवस्थापन गर्न धेरै पापड बेल्नु पर्यो ।, घर बेटिले दिएको एउटा दराज, सस्तो मूल्यमा पाईएको कार्पेट र केहि पत्रिका र फाइलहरु सो कार्यालयमा थिए, कार्यालयमा साथीहरु आउलान् भनेर उमा जि र मैले पकेटबाट पैंशा हालेर भए पनि चिया, नाश्ता खुआउंथ्यौं । क्लबको कार्यसमितिमा बस्ने व्यक्तिहरु खोज्नु पथ्र्याे, पदाधिकारीको जिम्मेवारी दिएको केही दिनमैं साथिहरु सम्पर्क बिहिन हुन्थे । त्यो बेला मेरो बहिनी रुक्मिणीले कार्य समिति सदस्य भएर निकै सहयोग गरिन् ।
अभियानलाई निरन्तरता दिदै अगाडि बढियो र सँस्था स्थापना देखि नैँ शुरु गरेको असल शासन मासिक पत्रिका आर्थिक श्रोतको अभावका कारण त्रैमासिक, पाक्षिक गर्दै पुनः मासिक गरियो, अहिले गर्दा के हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ सो पत्रिका । हाल साप्ताहिक रुपमा प्रकाशित सो पत्रिका अहिले भ्रष्टाचार विरोधि आवाजको रुपमा कोशे ढुङ्गा साबित भएको छ ।
२०५९ सालमै विभिन्न तालिम, भ्रष्टाचार विराधी ¥याली, स्वागत कार्यक्रम तथा बाँके भरी रहेका असारे श्रोता क्लबसंग परिचयात्मक कार्यक्रम गरी क्लबलाई ससक्त बनाइयो भने क्लबले दोश्रो वार्षिक उत्सवमा सप्ताह व्यापी कार्यक्रम गरेर नौलो रेकर्ड नँै कायम ग¥यौं नेपालकै श्रोता क्लबहरुको इतिहाँसमा ।
कार्यक्रमसँगै अलि फराकिलो कार्यालय खोज्ने क्रममा आदर्शनगर सार्ने काम गरियो, जुन कार्यालयमा संस्थाको धेरै संस्थागत बिकास भयो । भ्रष्टाचारमूक्त समुन्नत समाज श्रृजना गर्न प्रतिवद्ध हामी युवाहरुले २०६० सालमा अभियानलाई सशक्त पार्यौं । रक्तदान, अनुगमन, असल शासनका लागि स्थानीय जागरण तालिम, सार्वजनिक बहस, कम्प्युटर हाजिरी जवाफ प्रतियोगीता, शुद्धिकरण कार्यक्रम बाँकेमैँ पहिलो पटक क्लबले प्रभावकारी ढगंले सम्पन्न गरियो भने २०६० सालमै क्लब जिल्ला प्रशासन कार्यलय बाँकेमा विधिवत रुपमा दर्ता भयो ।
संस्था दर्ता पश्चात अनुगमन, सार्वजनिक बहस, स्थानीय जागरण तालिमलाई व्यापकता दिनुका साथै असारे श्रोता क्लबहरुको इतिहाँसैमा पहिलो पटक संचालन गरेको शुद्धिकरण र नागरीक गुनासो लेखन, विभिन्न तालिम, प्रतियोगिताहरु र अन्तरक्रियाहरु संख्यात्मक रुपमा मात्रै धेरै नभई गुणात्मक रुपमा सम्पन गरियो ।
राम्रो काम गर्नेहरुका पछाडी खुट्टा तान्ने काम मात्र नभई हाम्रा बिरुद्ध थुप्रै खाले आक्रमणहरु भए । तर हामी हरेश नखाई अघि बढ्यौं । भ्रष्टाचार विरुद्ध जनमत श्रृजना गर्ने क्लबको उद्धेश्य अनुरुप क्लबको सदस्य बन्नेहरुको लहरनंै आयो, क्लबको उद्धेश्य मनपराएर सदस्य बन्ने क्रम बढेर गयो ।
यस क्रममा कैंयौं पटक म एक्लै पनि भएं तर हरेश खाईन, फलस्वरुप यो अनुभब लेख्ने हैसियतमा पुगेको छुं । बासलाई यहाँसम्म पुर्याउने साथी र सहयोगीको नाम लिँदा एउटा छुट्टै  फेहरिस्त बन्न सक्छ । २०५७ शालमा क्लब स्थापना गर्दा धेरैले हामीलाई बिश्वासनैं गर्थेनन् अहिले संस्था सबैको बिश्वासयोग्य संस्था भएको छ ।
किशोरावस्थाको उमेर, कसले पत्यादिने हामीलाई । तर अभियान ठूलो दियो, लहडमा २, ४ दिन गरिएको काम भए पो नपत्याउनु, निरन्तर गर्दै गएपछि नपत्याएर पनि के गरुन् समाजका बरिष्ठहरुले । हामी त अभियानबाट आएका थियौं, गर्दै, सिक्दै जाने क्रममा संस्था दर्ता गरेका थियौं । संस्था दर्ता गरेर अगाडी बढ्दा धेरैले आफ्नै भाग खोस्न आए जस्तो गर्थे ।
२०५७ देखि २०५८ सम्म त क्याम्पस पढ्ने साथीहरुले क्लब चलायौं, २०५८ देखि २०६० को शुरुवाती समय सम्म क्लब चलाउन एकदमै गाह्रो भयो, क्लबमा बस्ने व्यक्तिनैं नभेटिने । क्लबलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता भईसकेपछि भने सहज भयो, पदाधिकारी बन्न ईच्छुक हुन थाले साथीहरु, २०६० मा भएको दोश्रो अधिबेशन पछि निर्वाचन हुन थाल्थो ।संस्थाबाट हामी नियमित रुपमा सरकारी कार्यालय र विद्यालयहरुको अनुगमन गथ्र्याैं । हामीले अनुगमन गर्दा कुन कर्मचारी कति दिनदेखि अनुपस्थित छ भन्ने कुराको जानकारीसमेत सार्वजनिक गथ्र्यौं, जुन कुरा कसैलाई पच्थ्यो, कसैलाई पच्थेन । अनुगमनका क्रममा अनुपस्थित, मादक पदार्थ सेवन गरेर कार्यकक्षमा बस्ने कतिपय कर्मचारीहरु हामीले चिनेका व्यक्तिहरुका नातेदार पर्थे । त्यसो हुँदा चिरपरिचित व्यक्तिहरु हामीदेखि नाराज हुन्थे । यसरी नागरिक अनुगमन सरकारी कर्मचारी र उनीहरुका आसेपासेहरुका लागि हाउगुजी बनिरहेको थियो ।
अबिष्मरणिय प्रसंग :
कार्यालय प्रमुख कार्यालयमा नबस्ने जानकारी पाएपछि नेपालगञ्ज नगरपालिकाको अनुगमन गयौँ । अनुगमनमा जाँदा कार्यालय प्रमुख भेटिएनन, तीन दिन सम्म पनि कार्यालय प्रमुख नभेटिएपछि कार्यालय प्रमुखको हाजिरीमा मेरो नेतृत्वमा अनुपस्थित जनाउने गरी ब् लेखिदियौँ । यो कार्य कानुनविपरीत थियो । हामीले गर्न नहुने कुरा थियो, तर हामीसँग अर्काे विकल्प पनि थिएन । भनिन्छ, अति गर्नु, अत्याचार नगर्नु, कार्यालय प्रमुखको अनुहार कर्मचारी र सेवाग्राहीहरुले देख्न नपाएको धेरै दिन भइसक्यो, काम सबै ठप्प छ । हामीबाट केही हुन्छ कि भन्ने आशामा सेवाग्राहीहरु भएको बेला हामीले गर्न सक्ने केही पनि थिएन । त्यसैले हामीले त्यो साङ्केतिक विरोध रोज्यौँ । हामीले हाजिरीमा अनुपस्थित लेखेर कार्यालय परिसरबाट बाहिरिन नपाउँदै उनै प्रमुख जिल्ला अधिकारी डिल्लिराज जोशीले मलाई फोन गरे (त्यति बेला म कर्डलेस फोन बोक्थेँ) र भने, “तपाईं कहाँ हुनुहुन्छ ? तपाईंहरुलाई पक्राउ गर्न प्रहरीको गाडी आउँदै छ ।”
मैले फोन स्वीचअफ गरें । पाँच–सातजनाको समूह तितरबितर भयो । केही साथीहरु नेपालगञ्जतिरै बसे । मलगायत केही साथीहरु राधापुर, सैनिकतर्फ लाग्यौँ । प्रहरीले हामीलाइ पक्राउ गर्न सकेन । आधा बाटोमा गएर यो घटनाका बारे काठमाडौँमा केदार खडकालाई जानकारी गरायौँ । उनले बाँकेका प्रजिअलगायतलाई सम्पर्क गरी असल शासनको अभियानमा लागेका अभियन्ताहरुलाई दुःख नदिन आग्रह गरे । लामो समयदेखि अनुपस्थित रहेका नगरपालिककाका हाकिम हामीले कालो चिह्न लगाएको केही समयमै कार्यालयमा हाजिर भए भन्ने थाहा पायौँ ।
यो घटना घटेको केही दिनपछि सरकारी सेवा सुधारका लागि आयोजना गरिएको बृहत् सार्वजनिक सुनुवाइ कार्यक्रममा केदार खड्काले यो विषयको उठान गरे । सरकारी कार्यालयहरुको अनुगमन गर्न नागरिकले पाउने कि नपाउने भन्ने प्रश्नमा त्यसताकाका मुख्य सचिव डा. विमल कोइरालाले नागरिक अनुगमन गर्न पाउने बताउँदै ७५ वटै जिल्लामा अनुगमन गर्न दिनका लागि सर्कुलर गर्ने प्रतिबद्धता व्यक्त गरे र सोहीबमोजिम देशैभर अनुगमन गर्न दिनका लागि परिपत्र भयो, देशैभर नागरिक अनुगमन गर्न पाउने नजिर स्थापित भयो । यो त्यही नेपालगञ्जको कालो चिह्नको उपलब्धि थियो ।
२५ बर्षको यो यात्राको आरोह र अवरोहका क्रममा थुपै्र उतार चढावहरु आएपनि त्यो लामो बाटोमा थुपै्र काँडाहरु भएपनि ति काँडाहरुलाई पन्छाउँदै चुनौतिसँग सामना गर्दै यहाँसम्म पुगेका छौं, थुपै्र सफलता र केही असफलताहरु सँगै ।
विकृतिको विरोध गर्दा थुप्रै कुरा सहनु परेको छ— आक्रमण, गाली र ताली । यहि ३ वटा कुराको संयोजनका साथ हाम्रो कार्य अघि बढिरहेको छ । असल शासनको यात्रामा क्रियाशिल भई समाज परिवर्तनमा लाग्दा मलाई जिन्दगीको सार्थकता भएको महसुस भएको छ । राम्रो काम गर्न खोज्दा भएका धेरै आक्रमणबाट विचलित नभई विचलित नहुने प्रतिवद्धता सहित यात्रा अनवरत जारि छ  ।
स्थापना देखि रजत बर्ष सम्मको यात्रा गरिरहँदा ती दिनहरुको याद आईरहेको छ, जुन बेला क्याम्पसको सानो एउटा कोठाबाट हाम्रो यो सँस्थालाई जन्माएका थियौं । जुन कुरा अब बासको ईतिहाँसको पन्नामा अंकित भईसकेको छ, जतिबेला हामी अभाबमा बाँचिरहेका थियौं । चाहे श्रोतको अभाब होस्, या जनशक्तिको । कार्य समितिमा बसिदिन, साधारण सदस्य भईदिन अनुनय, बिनय गर्नु पथ्र्याे तर अहिले अवस्था त्यस्तो छैन, स्वस्फुर्त रुपमा पाँच हजार बढि हाम्रा सदस्यहरु छन्, संस्था ७७ जिल्लामा पुगेको छ । केन्द्रीय कार्य समितीमा  मात्र  होईन, हाम्रा शाखा, उपशाखा, ईकाईहरुमा समेत लोकतान्त्रिक अभ्यासमा माध्यमबाट नेतृत्व चयन हुने गरेको छ ।
जिल्ला, जिल्लामा संस्थाका शाखा कार्यालय स्थापना भईसकेका छन् त्यति मात्र होईन गाउँ—गाउँमा पनि उपशाखा, ईकाई कार्यालय स्थापना भईसकेका छन् । २०६१ शालमा क्लबले १४७ वटा भ्रष्टाचार विरोधि कार्यक्रम गरेर ३७०० असारे श्रोता क्लबहरुको प्रतिष्पर्धामा प्रथम स्थान ओगट्न सफल भएको थियो । क्लबले २ वर्ष अघि पनि द्धितिय स्थान ओगटि सकेको थियो अधिराज्यमैँ ।
संस्थाले चलाएको भ्रष्टाचार विरोधि आन्दोलनले देशमैं एक प्रकारको तरंग ल्याएकोछ । भ्रष्टाचारीलाई निरुत्साहित पार्ने काम भएकोछ, असल कार्य गर्नेलाई प्रोत्साहन मिलेको छ । कैयौं भ्रष्टाचारका घटनाहरुलाई छताछुल्ल पारेका छौं । हाम्रो प्रयासले कतिपय भ्रष्टाचारका मुद्धामा भ्रष्टाचारीहरुलाई कार्वाही भएको छ ।
  बिभिन्न खालका समस्या र चुनौतीका बाबजुत हामी जसरी एक पछि अर्काे ढंगले सफल भएका छौं, यही सबै भन्दा ठूलो कुरा हो । बाँके जिल्लामा सार्बजनिक सुनुवाईको अबधारणा भित्र्याई संस्थागत गर्ने र अन्य नयाँ बिचारहरु समाजमा बिजारोपण गर्ने काम हामीले गरेका छौं । निरन्तर संघर्ष र प्रयासका बाबजुत बासले जुन बिभिन्न खालका सम्मान प्राप्त गरेको छ, त्यसले समाजमा दिएको योगदानको कदर हो भन्ने कुराको पुष्टि गर्छ ।
स्थानीय देखि राष्ट्रिय हुँदै अन्तराष्ट्रिय क्षेत्र सम्मको पहुँच, बिभिन्न दातृ निकाएहरुसंगको सहकार्य, राष्ट्रिय र अन्तराष्ट्रिय संजाल, महासंघसँगको आबद्धताले संस्थाको उचाईं बढाईरहेकोछ । कर्म गर्नेले फलको आशा गर्दैन, तथापि कर्म गर्नेले फल प्राप्त गर्छ भन्ने भनाई लागु भएकोछ यस अभियानमा लाग्दा ।
२०६१ सालमा हामी आदर्शनगर स्थित कार्यालयबाट नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडी सर्यौं, जसलाई हाम्रै पहलमा सुशासन मार्ग नामाकरण समेत गरियो । त्यस कार्यालयमा हामी २०६७ साल सम्म रह्यौं । २०६७ साल देखि हाल सम्म नेपालगञ्जको भृकुटिनगरमा व्यवस्थित कार्यालय सञ्चलन गरिरहेका छौं भने काँरकाँदौको भुजईगाउँमा संस्थाको भवन निर्माणाधिन छ ।
 २०५९ साल देखि २०६१, २०६२ सम्म सम्पूर्ण कार्य समितिका व्यक्तिहरु पूर्णकालिन तर स्वयंसेबकको रुपमा काम गर्थे । कार्यालय पनि शुरुमा बेलुकी ४ देखि ५ घण्टा खोलिन्थ्यो, बिस्तारै २ घण्टा, ३ घण्टा गर्दै १० देखि ५.०० बजे सम्म खोल्न थालिएको हो । २०६२ देखि कर्मचारीहरुका व्यवस्थापन गरिएको हो ।
२०५७ साल देखि २०५८, २०५९ सम्म देबेन्द्र मिश्र, रुद्र प्रसाद तिमिल्सिना सरले सल्लाहकारको रुपमा सहयोग गर्नु भयो भने तत्पश्चात तिमिल्सिना सर सहित २०६२, २०६३ सम्म पूर्णलाल चुके, बासुदेब ज्ञवाली, स्वर्गिग बसन्ती लामा, ओम प्रकाश आजाद लगायतले सल्लाहकारको रुपमा सहयोग गर्नुभयो । रुद्र तिमिल्सिना र पूर्णलाल चुकेले अनवरत रुपमा हाल सम्म सल्लाहकारको रुपमा सहयोग गरिरहनु भएको छ भने त्यसपछि केदार खड्का, कर्ण शाक्य, कृष्णहरि बास्कोटा, मुना श्रेष्ठ, किरण आचार्य, लोक बहादुर शाह लगायतले सहयोग गरिराख्नु भएको छ ।
२०६२/२०६३ साल बासका लागि बिशेष रह्यो । सो समयमा संस्थाले जिल्ला—जिल्लामा शाखा, गाबिसमा उपशाखा बिस्तारको अवधारणा अघि सार्यो, जस अनुरुप २०६२ साल जेष्ठ २२ गते सुर्खेतमा पहिलो शाखा गठन भयो भने बाँकेको राधापुरमा पहिलो उपशाखा गठन भयो । यो क्रम बढ्दै गएर अहिले देशैभर शाखाहरु स्थापना गर्न सकियो । २०६२, २०६३ को जनआन्दोलनमा बास नेपालले सक्रिय भुमिका निर्वाह गर्यो । २०६३ देख २०८२ सम्म आईपुग्दा संस्थाले राष्ट्रिय स्वरुप लियो । जनआन्दोलन पछि राजनितिक दलभित्रको आन्तरीक लोकतन्त्र बारे संस्थाले बहस चलायो । सार्वजनिक सुनुवाई, नागरिक सन्तुष्टी सर्भेक्षण र भ्रष्टाचार बिरुद्धका विभिन्न अभियान, सामाजिक परीक्षणलाई संस्थाले देशव्यापी बनायो । यस अवधिमा युवाहरुको सशक्तिकरण, स्थानीय निकायको जवाफदेहिता अभिबृद्धि, सरकारी निकायहरुमा गुनासो निवारण संयन्त्रको लागु, संस्थागत बिकास गर्ने काम भयो । यस अवधिमा संस्था भ्रष्टाचार बिरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल (टीआई) नेपाल लगायत संस्थामा आबद्ध भयो ।
नेपालमा राष्ट्रिय सदाचार निर्माणमा टेवा पुर्याएको बासले नागरिक सहायता कक्ष (हेल्प डेस्क) को अवधारणालाई व्यापक दियो । स्थानीय निकाय र सरकारी कार्यालयहरुले सेवा प्रवाहको सार्वजनिकिकरण र सुचना प्रकाशन प्रशारणमा खवरदारी गरेको बासले सार्वजनिक बित्त प्रणालीमा पारदर्शिता, समाबेशीता र जवाफदेहितालाई बलियो बनाउन सामाजिक जवलाफदेहिताका औजारहरुको प्रयोग नियमित गरिरह्यो । सामाजिक सद्भावका हिसाबले संबेदनशिल बाँकेमा सामाजिक सद्भाव र लोकतान्त्रीक सहभागिता अभिबृद्धीका काम गरिए । देश संघियतामा गएसँगै संघियताको पहिलो निर्वाचनमा मताधिकारको अधिकतम प्रयोग र महिला सहभागिता र प्रतिनिधित्व बढाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरियो । बाल संरक्षण र बालश्रम न्यूनीकरणका अभियानहरु सञ्चालन गरेको बासले  वालवालिका माथि हुने हिंसा र शोषण रोकथामका लागि प्रतिकार्य कार्यक्रम सञ्चालन गर्यो । सुदुर, कर्णाली र लुम्विनीमा बाल अधिकार संरक्षण र लैंगिक हिंसा न्यूनीकरण परियोजना, वित्तिय पारदर्शिता परियोजना यस अवधिमा सञ्चालन गरिएका प्रमुख परियोजना हुन् । केन्द्रीय कार्यालयमा असल शासन सुचना केन्द्र स्थापना गरेको बासले कोभिड १९ को प्रतिकार्य र भुकम्पले पारेको प्रभाव न्यूनीकरणमा बिशेष भुमिका निर्वाह गर्यो ।  विश्व व्यापी समस्याको रुपमा रहेको जलवायु परिवर्तनले पारेको प्रभाव प्रतिकार्यमा समेत काम गरिरहेको बासले युवा नेतृत्व र जवाफदेहिता, बालिका शिक्षा कार्यक्रमलाई हाल सञ्चालन गरिरहेको छ ।
नेतृत्व हस्तान्तरणको अभ्यास :
२०६२ मा संस्थाको तेस्रो अधिबेशन भयो, म नेतृत्वबाट बिदा हुन चाहन्थें । तर साथीहरुले नमानेका कारण मेरो नेतृत्व दोहोरियो । म २०५८ देखि अध्यक्ष थिएँ । २०६४ सालमा सम्पन्न चौथो महाधिबेशनबाट मैले नेतृत्वबाट बिदा लिएर कार्यसमिति सदस्य बसें, सम्भवतः यो बाँके जिल्लामा पहिलो अभ्यास थियो, मलाई अध्यक्ष नछोड्न चौतफिर्क दबाब थियो, अझ अध्यक्ष छाडेर सदस्य बस्दा त धेरैले जिब्रो टोके, म व्यवस्थापनबा बसेर नेतृत्वलाई सघाएँ । मेरो कार्यकालमा बिभिन्न जिम्मेवारी बहन गरिसकेकि सिता बोहराले नेतृत्व लिईन्, त्यो समयमैं बासले महिलाको नेतृत्व पाएको थियो । उनको कार्यकालमा देशैभर शाखा, उपशाखाहरु बिस्तार भए । २०६६ मा सम्पन्न भएको छैठौं महाधिबेशनबाट भाईराजा श्रीबास्तबले नेतृत्व ग्रहण गरे भने २०६८ मा भएको सातौं महाधिबेशनमा राजु लामिछानेले नेतृत्व लिए । २०७२ मा भएको आठौं महाधिशेनबाट मन भण्डारी, २०७५ मा भएको नवौं महाधिबेशनबाट रमेश सिटौला, २०७८ मा भएको दशौं महाधिबेशनबाट लुना बुढाथोकी र २०८१ मा भएको ११ औं महाधिबेशनबाट शिव कुमार बर्माले नेतृत्व लिए । यसरी हाल सम्म ९ जना केन्द्रीय अध्यक्ष संस्थाले पाईसकेको छ । यो नेतृत्व हस्तान्तरण र बिकासको राम्रो उदाहरण हो ।
समय सापेक्ष परिवर्तन :
२०५७ मा स्थापना गर्दा यसको नाम राजनीतिशास्त्र असल शासन रेडियो श्रोता क्लब थियो, २०५८ मा यसलाई पुर्नगठन गर्दा यस क्लबको नाम बागेश्वरी असल शासन रेडियो श्रोता क्लब हुँदा बागेश्वरी असल शासन क्लबको रुपमा अघि बढाईयो । संस्था दर्ता गरिसकेपछि २०६०, २०६१ सम्म यस क्लबको संक्षिप्त नाम बिजिजिसि भनिन्थ्यो । २०६० मा जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता गर्दा यसको लोगो पूर्ब केन्द्रीय सदस्य युवराज जँग शाहले परिकल्पना गरेका थिए भने केन्द्रीय सदस्य बब्लु शेषले यसलाई पूर्णता प्रदान गरेका थिए । यस संस्थाका बिधान ४ पटक संसोधन भईसकेको छ । पहिलो पटक २०६५, दोश्रो पटक २०७४, तेस्रो पटक २०७९ र चौथो पटक २०८२ मा बिधान संसोधन गर्दा संस्थालाई समय सापेक्ष बनाईएको छ । २०६४ देखि यस संस्थालाई संक्षिप्तमा बास भन्न थालिएको हो । जसलाई संसोधित बिधान २०६५ मा राखिएको हो । अहिले यसलाई बास नेपाल भन्न थालिएको छ । बास नेपालका सक्रिय सदस्य, लोक गायक कमल बिके निर्माेहीको बिशेष प्रश्तावमा बिद्यानमैं संसोधन गरि थपिएको छ । बिशेष गरि देशको शासन प्रणाली परिवर्तन हुँदा भएको संरचना बमोजिमको प्रारुप संस्थाले बिधानमा संसोधन गरेको हो ।
संस्था स्थापना गर्दा भ्रष्टाचार बिरुद्ध कार्य गर्नुका साथै सामाजिक कार्य गर्ने उल्लेख थियो, आवश्यकता र समयको परिवर्तनसँगै उद्धेश्यहरु थप गरियो । जस अनुरुप हाल संस्थाले ७ वटा कार्यक्षेत्रमा काम गर्दछ । जसमा भ्रष्टाचार बिरुद्ध, असल शासन, सामाजिक जवाफदेहिता,  सामाजिक सद्भाव, सामुदायिक सुरक्षा,   युवा सशक्तीकरण र स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिँसा न्यूनीकरण, सामुदायिक सशक्तीकरण, जलवायु न्याय, वातावरण संरक्षण, सरसफाई प्रबद्र्धन र संस्थागत बिकास रहेका छन् ।
२५ बर्षको दौरानमा पाँच सय हाराहारीका कर्मठ व्यक्तिहरुले केन्द्रीय कार्यसमिति, त्यत्तिकै ठूलो संख्यामा प्रदेश, शाखा, उपशाखा, ईकाई, बिभाग, बैदेशिक प्रतिनिधिको रुपमा बसेर संस्था अघि बढाउन सहयोग गर्नुभयो, ५ हजार बढिले सदस्यता ग्रहण गरे सहयोग गर्नुभयो, हजारौं व्यक्तिहरुले समर्थन, साथ दिएर सहयोग गर्नुभयो र आज यहाँसम्मको यात्रा गर्न सकियो ।
बास नेपाल अभियानमुखि संस्था हो, यसले आफ्नो उद्धेश्यसँग मेल खाने परियोजनाहरु सञ्चालन गर्दछ, दाताहरुको सहयोग लिने गर्दछ, परियोजना भएनन्, दाताहरुको सहयोग भएन भने पनि यो संस्था बन्द हुँदैन, यसका अभियानहरु बन्द हुँदैन । तसर्थ यो अन्य संस्थाहरु भन्दा पृथक, मौलिक छ ।
यस अवधिमा यस संस्थाका धेरै सदस्यहरु जनप्रतिनिधि, पत्रकार, वकिल, राष्ट्रसेवक, व्यवसायी, कलाकारको रुपमा स्थापित हुनुभएकोछ, वहाँहरु जहाँ हुनुहुन्छ त्यहि ईमान्दारिताको अभ्यास गर्दैहुनुहुन्छ भन्ने हाम्रो बिश्वास छ ।
श्रद्धासुमन :
यसरी हामीलाई यस अवधिमा सहयोग गर्नेहरुलाई हामीले सम्झिरहँदा संस्थाको संस्थागत बिकासमा टेवा पुर्याउने हाम्रा धेरै सहकर्मी मित्रहरुलाई हामीले गुमाएका छौं । वहाँहरुको योगदानलाई बास नेपाल सदा स्मरण गर्दछ । बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाह, पूर्ब केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक चुत्र बहादुर महत, भवानियाँपुर उपशाखाका पूर्ब अध्यक्ष सर्बजित सोंढी, सितापुर उपशाखाका पूर्ब अध्यक्ष नर बहादुर खत्री, रुकुम शाखाकी पूर्ब सदस्य यशोदा मल्ल, सुर्खेत शाखाका पूर्ब सदस्य पर्बत जँग शाह, पूर्ब स्वयंसेवक सरिता शाही लगायतले हामीले यस अवधिमा गुमाएका छौं । वहाँहरुको दिवंगत आत्मको चिरशान्तिको कामना गर्दै वहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
निष्कर्ष :
२५ बर्ष पूरा भयो बास नेपालले भ्रष्टाचार बिरुद्ध बोल्न र लेख्न थालेको । बोल्नु र लेख्नु आफैमा सजिलो कुरा होईन अझ भ्रष्टाचार बिरुद्ध बोल्नु र लेख्नु त फलामको च्युरा चपाउनु सरहनैं हो । यो लहड, रहरबाट गरिने कुरा होईन हृदय देखिको ज्वारभाटाले प्रेरित गर्ने कुरा हो । सोहि मुताबिक यात्रा जारी छ भ्रष्टाचारको बिरोध गर्ने । भलै झण्डै दुई दशक भ्रष्टाचार बिरुद्ध बोल्दा के हात लाग्यो त ? भन्ने प्रश्न पनि बास नेपाललाई छ, प्रश्न अनुत्तरितनै छ । तर बास जस्ता सचेत गराउने संस्थाहरु नभएको भए यो देशको हविगत के हुँदो हो ? सहजै अनुमान गर्न सकिन्छ ।
देशमा प्रजातन्त्र हुँदा देखिको यात्रा लोकतन्त्र र संघिय गणतन्त्र सम्म पुगेको छ । देशको स्वरुप परिवर्तन भयो, संस्कृति बदलिएन, सरकारका पात्र बदलिए, प्रबृत्ति बदलिएन, नीति बदलिए, नियति बदलिएन । जुन जोगि आएपनि कानै चिरिएका भन्ने भनाई सधैं पुष्टि हुँदै गयो । सबै सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको प्रतिबद्धता जनाए तर काम भ्रष्टाचार बिरुद्ध शुन्य मात्रै गरे ।
देश संघियतामा अघि बढिरहेको छ । तीन तहका सरकार छन् । गाउँ, गाउँमा सिंहदरवारको नारा घन्काईयो । व्यवहारमा काठमाण्डौंको सिंहदरवारको सेवा, सुबिधा कम, बिकृति बढि गाउँ सम्म पुग्यो । औसतमा केही अनुकरणिय कार्य भए पनि गाउँका सिंहहरु डर लाग्दा सावित भए आम नागरिकका लागि । यस परिबेशमा बास नेपाल जस्ता अभियामुखि संस्थाहरुको अपरिहार्यता अझ बढि छ ।

  • २१ पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech