राष्ट्रिय टोपी दिवसको महत्व

ज्योती बुढा

 

राष्ट्रिय टोपी दिवसको लामो इतिहास नभए पनि यसप्रति युवाहरूको चासो र गम्भीरता वास्तवमै प्रशंसनीय छ । यो दिवस आजको पछिल्लो पुस्ताको लागि पहिचान र राष्ट्रिय गौरवको विषय बन्न पुगेको छ । टोपी शीरमाथिको पोशाक मात्रै होइन यो हाम्रो सांस्कृतिक पहिचान र वीर नेपालीको आत्मसम्मानको प्रतीक हो । टोपीको विविधता र यसको महत्वले हाम्रो सांस्कृतिक सम्पदालाई झल्काउँछ । ढाका टोपी, भाटगाउँले टोपी र अन्य स्थानीय शैलीका टोपीहरूले हरेक क्षेत्रको सांस्कृतिक विशेषतालाई प्रस्तुत गर्छन् । संसारको शीर सगरमाथा जस्तो, टोपी पनि हाम्रो शान र गौरवको प्रतीक हो । यसले हिमाल जतिकै शुद्धता, गंगाजल जतिकै निश्चलता र प्रकृति जतिकै चन्चल र रंगीन विविधता देखाउँछ । वीर नेपालीको मान–सम्मानलाई सगरमाथाभन्दा माथि राख्ने यो परम्परा हाम्रो सांस्कृतिक गर्वको द्योतक हो। यसरी, राष्ट्रिय टोपी दिवसले हामीलाई हाम्रो पहिचान सम्झाउने मात्र होइन, हाम्रो सांस्कृतिक सम्पदा र ऐतिहासिक गौरवप्रति युवामा उत्साह जगाउने महत्वपूर्ण अवसर पनि प्रदान गर्दछ । यस दिनलाई सम्मान र गर्वका साथ मनाउनु हाम्रै संस्कृतिप्रतिको माया र सम्मान हो ।
– रुद्र प्रसाद तिमिल्सिना
संस्थापक सल्लाहाकार, बास नेपाल
नेपाली टोपी हाम्रो संस्कृति र पहिचानको महत्वपूर्ण प्रतीक हो । यो केवल शिरमाथिको आवरण मात्र होइन, बरु हाम्रो ऐतिहासिक, सामाजिक र सांस्कृतिक मूल्यहरूको प्रतिबिम्ब हो । नेपाली टोपीले नेपाली जनताको एकता, परम्परा र राष्ट्रिय गौरवको भाव प्रकट गर्छ । टोपी लगाउनु केवल सांस्कृतिक रीतिरिवाज मात्र होइन, यसले सम्मान, मर्यादा र स्वाभिमानको संदेश पनि दिन्छ । नेपाली समाजमा ठूला अवसर, पर्व, चाडपर्व वा औपचारिक कार्यक्रममा टोपीको प्रयोगले सम्मान र सभ्यता देखाउने माध्यमको रूपमा काम गर्छ । टोपी हाम्रो इतिहाससँग पनि गहिरो सम्बन्ध रहेको छ । प्राचीन समयमा राजा, मन्त्री र साहित्यकारहरू, सरकारी कर्मचारीहरुले टोपी लगाउने चलनबाट सामाजिक स्थिति र ज्ञानको संकेत दिइन्थ्यो । आज पनि नेपाली टोपीले हाम्रो सांस्कृतिक विविधता र राष्ट्रिय पहिचानको अभिव्यक्ति स्वरूप आफ्नो महत्व कायम राखेको छ । राष्ट्रिय टोपी दिवस नेपालको सांस्कृतिक र ऐतिहासिक चेतनालाई जीवन्त राख्न स्थापना गरिएको विशेष दिन हो । यो दिन नेपालीहरूले टोपी लगाएर आफ्नो सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवको सम्मान प्रकट गर्ने अवसर पाउँछन् । टोपी दिवसले नयाँ पुस्तालाई आफ्नो जरा, संस्कृति र परम्परासँग जोड्ने सन्देश दिन्छ ।
– कृष्ण प्रसाद श्रेष्ठ, पूर्ब केन्द्रीय सदस्य, नेपालगञ्ज उद्योग बाणिज्य महासंघ

ढाका टोपी टोपी मात्र नभएर नेपालीको गौरव हो, नेपालीको सान हो हामीले यसको जगेर्ना गर्नुपर्दछ । हामीले हाम्रो भावी सन्ततीलाई यसको महत्वबारे बुझाउन सक्नु पर्दछ । पन्चायतिकालको जस्तै ब्यबस्था अहिले पनि हुन आवश्यक छ । प्रत्येक सरकारी कार्यालयमा सरकारी पोशाक,ढाका टोपी अनिवार्य गराइनुपर्दछ । तव मात्र ढाका टोपीको महत्व पछिल्लो पुस्ताले थाहा पाउनेछन । हरेक दिवसको आफ्नो महत्व हुन्छ त्यस्तै राष्ट्रिय टोपी दिवसको पनि बिशेष महत्व छ । हामीले पछिल्लो समयमा आफ्ना सस्कृति र परम्परालाई बिर्सिदै गएको अवस्थामा हामीले नयाँ पुस्तालाई हाम्रो भेषभुषा, संस्कृतिको बारेमा जानकारी गराउनु हामी सबैको दायित्व हो । ढाकाको टोपी जुनसुकै धर्मको ब्यतिले लगाउन मिल्छ र यो हामी सबैको गौरवको कुरा हो । नेपालमा मात्र नभएर ढाकाको टोपी लगाएर साउदीको मक्का र मदिनाह पुग्दा त्यँहाका मुस्लिमहरुले गरेको ब्यबहारले अझ गर्व लाग्छ । त्यसैले पनि हरेक वर्ष बास नेपालले आयोजना गर्ने राष्टिय टोपी दिवस कार्यक्रमले नया पिडीलाई ढाका टोपीको महत्वबारे प्रष्ट पारेको आभाष हुन्छ ।
– हाजी मोहम्मद कादिर, मुस्लिम अगुवा

राष्ट्रिय टोपी दिवस एउटा परम्परा, संस्कार र मौलिकतासंग जोएिको कुरा हो त्यसैले यसको बिशेष महत्व छ । पहिले ढाका टोपी हामी नेपालिहरुको मौलिक पोशाक मध्ये एक हो, साधारण तरिकाले बुझ्नु पर्दा टोपी राष्ट्रको पहिचान र नेपालिहरुको अभिमान हो । यो हजारौ बर्ष पहिले देखि नै चलि आएको टोपी लाउने परम्परालाई यथावत राख्ने हामी सबैको दायित्व पनि हो जस्तो लाग्छ । टोपीले जाडोमा न्यानो र गर्मीमा शितलता दिन्छ, हाम्रो हरेक पर्बमा होस् या उत्सबमा ढाका टोपीको उतिकै महत्व हुन्छ । पहिले पहिले हातले बुनेको हुनाले धाकाको टोपी भन्ने गरिन्थ्यो तर अहिले आएर त्यही धाकाको टोपिलाइ ढाकाको टोपी नाम दिएको हो, देशमा होस या बिदेशमा हामी नेपालिको ढाका टोपीको छुट्टै पहिचान छ । हामिलाई नेपाली भनेर चिनाउने सरल र उच्च माध्यम बनेको छ ।
– संगीता राई, पूर्ब अध्यक्ष, महिला मिलिजुली संस्था, बाँके

 

  • ३० पुष २०८२, मंगलवार प्रकाशित

  • Nabintech