खास गरी २०२९ सालमा जाजरकोटको गैरीखाली हाटबजारबाट शुरु भएको मेला पछि राजा विरेन्द्रको जन्मोत्सवको अबसरमा थाप्लेचौरमा २०३१ सालदेखि लाग्दै आएको छ । विगतका दिन झैं यस वर्ष पनि पौष महिनाको १२ गतेदेखि १६ गते सम्म मेला लाग्यो ।
मेलामा विगतका दिनहरु भन्दा यस वर्ष अलि फरकपन देखियो । विगतका दिनहरुमा पैंसा खर्च गरि जिल्ला बाहिरका कलाकारहरु ल्याएर डि जे बजाई रमाईलो गराईन्थ्यो भने यस वर्ष डिजे बजाएता पनि स्थानिय कलाकारहरुले मञ्च पाउन सफल भएका थिए । हुन त यो आधुनिक जमानाका नाममा अर्धनग्न महिलाहरु नाचेको हेर्ने जमात धेरै होला। तथापि यो मेलामा गुन्यु चोली स साना नानीहरु नाच्दा हुटिङ गर्ने संख्या पनि केही देखिएको थिएन। त्यसैगरी सिंगारु, पैसेरु, देउडा, ख्याली, मयुर नाच र खाँडो नाचलाई पनि उच्च प्राथमिकता दिईएको पाईयो ।
जाजरकोट दरवारको प्रचारप्रसार गर्ने उदेश्यले जाजरकोट दरवार कप नाम राखेर जिल्लाकै सर्वाधिक पुरस्कारमा खेलाईएको भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडि हिमाल सोनारीको टिम आउनुले पनि मेलाको आकर्षण झनै बढेको थियो ।
यति हुँदा हुँदै पनि एउटा नमिठो कुरा राख्न गईरहेको छु । खास कुरा के भने भेरी नगरपालिका जाजरकोटले बनाएको स्थानीय पाठ्यक्रममा रमाईलो मेलालाई स्थानीय पर्वको रुपमा राखेको छ । यसरी स्थानीय पर्व भनिसकेपछि पालिका अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा दिनु पर्ने हैन ? अरु अरु कार्यालयमा नभए पनि विद्यालय त त्यसै पनि बन्द हुन्छन् । किनकी विशेष गरि मेलामा रमाइलो मान्ने भनेकै यही विद्यार्थी उमेर हो । विद्यालय त विदा भयन नै ।
अन्य सहयोग पनि केही भएन भन्दा म थप चकित परें । मेयरसाप, तपाईं आफू यतिबेला जिल्लामा हुनुपथ्र्यो । मेलामा सबै हजुरका भोटर र शुभचिन्तक थियौं । तपाईं मेयर मात्र हैन पार्टीको जिम्मेवार मान्छे भोलीका दिनमा साँसद र मन्त्रि सम्म हुने मान्छेले यो मेलालाई किन उपेक्षा गर्नुभयो ? मेरो साथी भेरीको सिपि घर्ती मात्रै भए म यति कुरा भन्दैन्थे । तपाईं जिम्मेवार व्यक्ति हो ।
कुनै पनि ठाउँमा मेला लाग्दा त्यहाँका स्थानीय जनप्रतिनिधिको पुर्ण समर्थन हुन्छ र हुनु पनि पर्छ।तर यो रमाईली मेलामा नगरपालिकाले भौतिक, नैतिक र आर्थिक रुपमा असहयोग गरेको प्रति म र म जस्ता दिमाख भएकाहरुको घोर आपत्ति छ । यस विषयमा मेला आयोजक टिमसंग बुझ्दा मेयर सापलाई फोन गर्दा नउठ्ने गरेको र पटक पटक पत्र पठाउँदा पनि बेवास्ता गरेको भन्ने बुझियो । समन्वयमा कमजोरी हो भने आयोजकले कमजोरी किन गर्यो।आयोजकको कमजोरी हैन भने मेयरसाप किन यति अनुत्तरदायि हुनु भयो।कृपया प्रष्ट्याईदिनुहोला ।
अर्को कुरा त्रिभुवन उमावि भित्र मेला लागेको भन्ने कि के भन्ने।जहाँ भलिवल लगायत थुप्रै सास्कृतिक झाँकिहरु देखाईएको थियो र दर्शकहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो । अनुमति थिएन भने किन गेट खोलियो ? यति गर्न दिनु थियो भने मेलाको अनुमति किन नदिएको ? यस प्रश्नको पनि उमाविले जवाफ दिनु पर्छ । जाजरकोट जिल्लाकै ऐतिहासिक महत्व बोकेको यस मेलालाई जिम्मेवार पक्षले भद्दा मजाक गर्न पाईदैन ।
अब उप्रान्त मेला लगाउने हो भने सबैको सहकार्यमा विद्यालयको प्राङ्गण प्रयोग गर्न दिनु पर्छ । हैन भने कुदु या कालेगाउँतिर विकल्प खोज्नुपर्ने भन्ने मेरो भनाई हो ।









