कुरो केही दिन अगाडीको हो । समाचार संकलनको लागि म नेपालगञ्ज वडा नम्बर ८ स्थित मंगल प्रशाद नमुना माध्यमिक बिद्यालय गएको थिएँ । बिद्यालयका बिभिन्न बिषयहरुमा रिपोर्टिङ गर्दै गर्दा बिद्यालयको बिद्यार्थीहरुको खाजा समय भयो । सबैजना कक्षा नर्सरी देखी कक्षा ५ सम्मका बिद्यार्थीहरु हातहातमा टिफन बक्स समातेर लाईनबद्ध भए ।
सोही क्रममा बिद्यालयका सहायक प्रधानाध्यापक भरतमणि शर्मा मेरो सामु आएर सर हामीले हाम्रो बिद्यालयमा बिद्यार्थीहरुलाई नेपाल सरकारले दिएको रु १५ बराबरका खाजालाई बिद्यालयको तर्फबाट थप रकम बिनियोजित गरी हाईजेनिक युक्त खाजाको ब्यवस्था गरेका छौं भने ।
नेपालगञ्जको मुटुमा रहेको यस बिद्यालयमा धेरै टाढा टाढाबाट पढ्न आउने बालबालिकाहरुको लागि खाजा मात्र नभएर उनीहरुको लागि खानानै होश भन्ने हिसाबले खाजा खुवाउने गरेको सहायक प्रधानाध्यापक शर्मा बताउँछन् ।
अन्य बिद्यालयमा खाजाको नाममा सुजि खिर मात्र खुवाउने गरेता पनि यस बिद्यालयमा हरेक दिन खानाका परिकार परिबर्तन गरेर खुवार्इंदो रहेछ । बिहान खाए, नखाएको गरेर बिद्यालय पुग्ने नानीबाबुहरुको लागि पेटभरी खाजाको साटो खानानै खुवाउने हिसाबले हप्ताको ६ दिन नै बिभिन्न परिकार पाक्दो रहेछ । नेपाल सरकारले दिएको प्रतिब्यत्ति १५ रुपैयामा बिद्यालयले केही रकम थप गरेर खाजाको ब्यवस्थापन गरिदा बिद्यार्थीहरुले पेटभरी खाना पाउँदो रहेछन् ।
हरेक दिन फरक फरक परिकार पाक्ने भान्छामा म गएको दिन राज्मा र भात पाकेको रहेछ । घण्टी बज्छ अनि बिद्यार्थी लहरै हातमा टिफन बक्स लिएर लाईनबद्ध हुन्छन् । अगाडी ठुलो भाँडामा भात र राजमा बाँडने शिक्षकहरुले उनीहरुको भाँडोमा खाना राख्दै हुनुहन्थ्यो । भाँडो भरी खानाबोकेर छेउछाउमा बस्दै मिठो मानी मानी खाईरहेका थिए बिद्यार्थीहरु । यसरी ईच्छा शक्ति भयो भने राम्रो काम गर्न सकिदो रहेछ भन्ने उदाहरण हो मंगल प्रसाद माविको व्यवस्थापन ।









