इमानदार बनौँ‚ सुशासन आफैँ आउँछ

शम्भु रेग्मी

बासले सुशासन यात्राको २५औँ वसन्त छिचोल्यो । जुन एक्लो प्रयासले सम्भव हुने कुरै भएन । सबैको साथ सहयोगले बास २५औँ वार्षिकोत्सवको माहोलमा रमाइरहेको छ । २५औँ वर्षको यात्रामा हिँडेको बासमा सबैको सद्भाव, माया र मिहिनेत उत्तिकै छ । सुशासनका हिमायतिहरूको पसिना उत्तिकै बगेको छ । सुशासन चाहिन्छ भन्ने युवाहरूको सक्रियताले बास यहाँसम्म आइपुगेको हो । जसले इमानदारी सिकाउँछ, जसले सुशासनको पथमा हिँड्न डो¥याउँछ उसैको प्रगतिमा को खुसी नहोला र ?

शिशु‚ बालक हुँदै वयस्क बनेको बासको यात्रा अब रोकिँदैन । यो निरन्तर चलिरहन्छ । बास अब परिपक्व बनेको छ । सबैको लगाव र मिहिनेतले जुन उचाइले हासिल गरेको छ यसलाई जोगाइ राख्न असल शासनका हिमायतिहरूको कर्तव्य पनि हो । यसले अब फल दिन्छ । समाजलाई सुशासनको फल । समाजका लागि यो फल निकै स्वादिष्ट र गुणकारी हुन्छ । तसर्थ २५औँ वर्षको यात्रामा हिँडिरहँदा यसबाट प्राप्त फल समाजलाई चखाउनुपर्छ । समाजलाई सुशासन र सुसंस्कृत हुने अभियानमा अग्रसर बनाउनुपर्छ ।

कुनै पनि समाजको विकासका लागि सुशासन अपरिहार्य हुन्छ । सुशासनका लागि कानुनी शासन, सदाचार, पारदर्शिता, जिम्मेवार राज्यसंयन्त्र, नागरिक सचेतना आदिको भूमिका महत्त्वपूर्ण हुन्छ । जसलाई नेतृत्व गर्न बास सक्षम भएको छ ।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठीक हो र के बेठीक हो ? के गरिनुपर्छ र के गर्नुहुँदैन भन्ने कुरालाई निर्देश गर्छ । व्यक्तिका आचरण असल वा खराब दुवै हुन सक्छ । खराब आचरणलाई दूराचार भनिन्छ । समाजका लागि दूराचार सदैव अमान्य, अस्वीकार्य र हानिकारक मानिन्छ । यसले सामाजिक सम्बन्ध र सहकार्यमा समस्या सिर्जना गर्छ । त्यसैले हरेक व्यक्तिले आफूलाई असल आचरणतर्फ ढाल्नुपर्छ । असल आचरण हुन हरेक व्यक्ति इमानदार बन्नुपर्छ‚ त्यसपछि समाजमा सुशासन त आफैँ आउँछ ।

यही सुशासनका लागि समाजमा हरेक व्यक्ति सदाचारी हुनुपर्छ, सद्व्यवहार अवलम्बन गर्नुपर्छ । असल आचरणले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व परिवेशमा शान्ति, सहकार्य, विकास र सुशासनको वातावरण निर्माण हुन्छ ।

इमानदार र सदाचार व्यक्तिको नैतिकतासँग जोडिएको विषय हो । नैतिकता व्यक्तिको भावना र अन्तरमनसँग जोडिएको हुन्छ, जुन व्यवहारबाटै झल्किन्छ ।

नैतिकतालाई पारिवारिक तथा सामाजिक वातावरण, संस्कार, संस्कृति, संगत र शिक्षाले पनि प्रभाव पार्छ । अझ सुशासनका पक्षधरहरूमा त यो अनिवार्य नै हो । व्यक्तिमा असल व्यवहार, असल चरित्रसँगै असल नैतिक व्यवहारको विकास समाजलाई सुशासनको पथमा डो¥याउनु हरेक युवाको कर्तव्य हो । अझ बाससँग जोडिएका हरेक युवाले यो मनन् गर्न आवश्यक छ । यसरी व्यक्तिमा इमानदारीको भाव जागेसँगै हाम्रो समाज, हाम्रा सार्वजनिक निकाय, संस्था, सामाजिक उत्तरदायित्व बोकेका संस्थाहरू र यहाँ कार्यरत सबैमा जनताप्रतिको उत्तरदायित्व बोध हुन्थ्यो । समाजमा सुशासनको प्रत्याभूति नहुने हो भने दूराचार, भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती र कुशासनको स्थिति कायम पक्का छ ।

मुलुकलाई सधैँ सदाचार एवं इमानदार व्यक्ति र समाजको खाँचो हुन्छ । सदाचार र सुशानका लागि संविधानको निर्देशक सिद्धान्तमा समेत सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा–सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने भन्ने उल्लेख छ । यसले पनि समाजले सुसंस्कृत व्यक्तिको खोजी गरेको हुन्छ । जसलाई हातेमालो गर्न बासले नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनु अहिलेको आवश्यकता पनि छ ।

बासले यही संस्कार सिकाएको छ‚ यही संस्कार सिकाउनेछ । जहाँ सुशासन रहोस्, व्यक्तिमा सदाचार कायम रहोस् र समाज इमानदार बनोस् । बासले धेरै सिकाएको छ, धेरै दिएको छ । बासमा जोडिएको व्यक्ति भ्रष्टाचारमा मुछियो, अनियमितता गर्छ अनि बेइमान हुन्छ भन्ने कतै सुनिएको छैन र सुनिने छैन भन्नेमा विश्वस्त हुन सकिन्छ । समाजमा निःस्वार्थ रूपमा सुशासनको विगुल फुक्न बासका युवा सक्षम छन् । अनियमिताविरुद्ध शून्यसहनशील छन् । सुशासनकै पक्षमा उदाहरणीय बनेका छन् । यसले निरन्तरता पाओस् ।

सुशासनको गोरेटोमा एउटा गिट्टी बनेर उदाएको बासले अहिले राजमार्गको स्वरूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । सुरुवाती दिनका आरोह–अवरोहसँगै समृद्ध बासको उन्नयन र सफलताको कथाले समाजलाई सुशासनको पथमा अघि बढाउँछ । यसले प्रस्तुत गरेका विचार, गतिविधि समाज र राष्ट्रकै लागि प्रेरणा बन्नुपर्छ । पुनः बासको सफलता र निरन्तरताको शुभकामना ।

 

  • ९ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech