नेपालगञ्ज/ पद, शक्ति, सम्पत्ति र उमेर हुँदा जो कोहीका लागि सबै हुन्छन्, जब व्यक्ति पद, शक्तिबाट टाढा हुन्छ अनि उमेर ढल्किन्छ अझ भनौं मान्छे अस्वस्थ हुन्छ । तब उसका लागि टाढाका त टाढा हुनेनै भए । नजिकका पनि टाढा हुन्छन् ।
समाजका लागि योगदान दिएका व्यक्तिहरुका लागि असहज परिस्थितीमा समाजनै बिरानो बनिदिन्छ भने राज्य मौन र बेखवर बनिदिन्छ ।
समाजका लागि जीवन समर्पण गरेका धेरै व्यक्तिहरु जीवनको उत्तराद्र्धमा गुमनाम जस्तै जिन्दगि व्यतित गर्न बाध्य हुन्छन् ।
जसले जीवननैं सामाजिक सेवामा समर्पित गर्यो, त्यहि व्यक्ति अस्वस्थ हुँदा समाजले खोजी गर्दैन भने सामाजिक सेवा प्रति नयाँ पुस्ताको आकर्षण कसरी बढ्ला ? किन समाज यति स्वार्थी हुँदैछ ।
प्रसंग बाँके जिल्लाका अग्रज सुपरिचित समाजसेवी रण प्रसाद रानाको हो । जीवननै सामाजिक कार्यमा व्यतित गरेका उनी अहिले गुमनाम जस्तै बनेका छन् । उनी कहाँ छन्, उनको अवस्था के छ ? धेरैलाई थाहा छैन, खोज्ने, बुझ्ने प्रयास पनि कहिँ कतैबाट हुन सकेको छैन ।
करिव दुई बर्ष यता उनी उच्च रक्तचापका कारण अस्वस्थ भएर थलिएर बसेका छन् । नेपालगञ्ज वडा नम्वर १ नन्दनि मिल नजिक कोठा लिएर बस्ने उनी हाल श्रीमतिसँग पनि छैनन् । उनी बर्दियाको बारबर्दिया नगरपालिकाको रम्मापुर स्थित भान्जाको घरमा छन् ।
उनकी श्रीमति पूर्णिमा देबि थापाका अनुसार, राना पायल्स रोगबाट पीडित थिए । २०८१ सालमा उच्च रक्तचापका कारण शुरुमा उनको मुख बाँगियो, पछि गएर बायाँ खुट्टा र बायाँ खुट्टा नचल्ने भयो । हाल उनी एक्लै हिँडडुल गर्न सक्दैनन् । नेपालगञ्ज र कोहलपुर स्थित बिभिन्न अस्पतालमा उनको उपचार गराईएको थियो ।
२०६२ सालमा थापासँग बिबाह गरेका राना कुनै समयका चर्चित पत्रकार र समाजसेवी हुन् ।
लामो समय पत्रकारितामा समेत संलग्न रहेका राना बाँके जिल्लाको पुरानो सामाजिक कार्यकर्ता हुन् । उनले जनमत अद्र्ध साप्ताहिकमा लामो समय सम्बाददाताको रुपमा काम गरे भने उनकै नाममा एउटा पत्रिका समेत दर्ता भएको थियो । उक्त पत्रिका केही समयसम्म प्रकाशन पनि भयो ।
उनले लामो समय बिभिन्न संस्थाको मूख्य पदमा बसेर अनवरत सामाजिक योगदान गरेका थिए । नेपाल क्षयरोग निवारण संस्थाको बिभिन्न पदको जिम्मेवारी बहन गर्दै जिल्ला सभापति समेत भईसकेका उनी नेपाल अपाँग संघ खगेन्द्र नवजीवन केन्द्र बाँके शाखाको स्थापना काल देखिनैं संलग्न भएर बिभिन्न पदमा रहेर काम गरेका थिए । नेपाल बौद्ध गुम्वा संघ, रेसिक, जनजाती महासंघ लगायत बिभिन्न संघ, संस्थामा आबद्ध रहेका उनले कम्युनिष्ट राजनीति पनि गरेका थिए । मधु ज्ञवाली नेतृत्वको कम्युनिष्ट पार्टीमा उनी आबद्ध थिए । पछिल्लो समय उनी पार्टीमा सक्रिय थिएनन्, बिभिन्न संघ, संस्थाहरुमा क्रियाशिल थिए ।
सरल जीवन यापन गरिरहेका रानालाई सामाजिक क्षेत्रमा ईमान्दार व्यक्तिको रुपमा सबैले चिन्ने गर्दछन् । पद भन्दा कामलाई महत्व दिने उनी निस्वार्थ भावनाले सामाजिक कार्यमा संलग्न थिए । आर्थिक अवस्था कमजोर भएका रानाले जीवन भर कहिँकतै लाभको पद लिएनन्, सधैं स्वयंसेवी संस्था र पदमा रहेर काम गरे ।
उनीसंगैका साथीहरु बिभिन्न पदमा पुग्दा उनले सधैं सामान्य जीवन यापन गर्दै सामाजिक कार्यमा आफुलाई समर्पित गरे । सबैका प्रिय राना अहिले अस्वस्थ छन्, उनले कैयौं व्यक्तिको चहराईरहेको घाउमा मलहम लगाए, कैयौं अस्वस्थ व्यक्तिहरुलाई सहयोग गरे । जब उनी अफ्ठयारो स्थितिमा पुगे, उनलाई सहयोग, साथ दिने कोही भएनन् । अहिले उनलाई सबैको सहयोग र साथ चाहिएको छ ।
अस्वस्थ अवस्थाका रानाको उपचार सहयोग गर्नु केवल उनलाई सहयोग गर्नु मात्रै होईन, एउटा असल समाजसेवीलाई सम्मान गर्नु हो । तसर्थ उनको अवस्था बारे बुझेर उनलाई आवश्यक सहयोग गर्न जरुरी छ । सबै सहयोगका लागि जुटौं । यो सामाजिक धर्म पनि हो ।









