बास नेपाल : सुशासनको सपना र नागरिकको आत्मा

रजत वर्षको पुनर्जागरण

डा. डक्टप्रसाद धिताल

हरेक संस्थाको सार्थकता उसको कर्म र दृष्टिकोणबाट मापन हुन्छ । कुनै संस्थाको जीवन केवल वार्षिकोत्सव वा आयोजनामा मात्र नापिँदैन, बरु यसले समाजमा जगाएको चेतना र ल्याएको परिवर्तनले त्यसको अस्तित्वलाई अर्थपूर्ण बनाउँछ । बास नेपालको रजत वर्ष यही अर्थमा केवल उत्सव होइन, एउटा नागरिक आन्दोलनको ऐतिहासिक प्रतिबिम्ब पनि हो । यस्तो–पच्चीस वर्षको यात्रामा बास नेपालले असल शासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिताको बीउ रोपेको छ, जसले नेपाली समाजमा लोकतान्त्रिक मूल्य र जवाफदेहिताको नयाँ आयाम सिर्जना गरेको छ ।

नेपालमा सुशासनको कुरा दशकौंदेखि चलिरहेको छ, तर व्यवहारमा नागरिक स्तरबाट सुरु हुन सकेको थिएन । राज्य हरेक तहमा राजनीतिक प्रभाव र प्रशासनिक संरचनामा केन्द्रित रह्यो । नागरिक केवल दर्शक बनेर बस्ने, शासन केवल आदेश दिने । त्यही असन्तुलनबाट जन्मिएको हो बास नेपाल, एउटा पारदर्शी संस्था जसले शासनको अर्थ सरकार होइन, नागरिक भनेर व्याख्या गर्यो ।। सुशासन केवल नीति होइन, संस्कार हो भन्ने बुझाइ यो संस्थाले व्यवहारमा उतारेको छ ।

२५ वर्षअघि नेपालगञ्जमा केही युवाहरू र बुज्रुक बर्गले एउटा प्रश्न उठाए—किन राज्य जनतालाई सूचना दिन डराउँछ ? किन नागरिक आफ्नै पैसाको हिसाब पाउन सक्दैनन् ? यही प्रश्नले बहस र संवाद सिर्जना ग¥यो र बास नेपाल वास्तवमै आन्दोलनकै रूपमा स्थापित भयो । सानो नागरिक समूहले सुरु गरेको असल शासन क्लबले क्रमशः अभियान चलायो र राष्ट्रिय सञ्जालमा विकसित भयो । यस संस्थाले शासनको बुझाइ उल्टायो—अब शासन केवल शीर्ष तहबाट होइन, आधारभूत तहबाट निर्माण हुन सक्छ ।

मेरै आफ्नो शब्दमा भन्दा, नेपालमा शासन धेरै छन्, तर असल शासनको आवाज थोरै मात्र सुनिन्छ । बास नेपाल त्यही आवाज हो—जुन नागरिकको मुटुभित्रबाट बोल्छ, बाहिरका कान फुटाउने गरी भट्याइएका नारामा मात्रै होइन । त्यो आवाजले आज २५ वर्ष देखि नागरिकहरुलाई जिम्मेवारीको संस्कृतिमा बलियो बनाउँदै आएको छ ।
सुरुवाती वर्षहरूमा कुनै सजिलो अवस्था थिएन । न कार्यालय भवन, न स्थायी कर्मचारी । केवल लक्ष्य, उद्देश्य थियो—असल शासनलाई नागरिकको हातमा ल्याउने । बास नेपालका अभियन्ताहरू गाउँ–गाउँ पुगे, वडास्तरमा छलफल गरे, नागरिकलाई अधिकारबारे बुझाए । हाम्रो पैसा, हाम्रो योजना भनेजस्तै समाजदेखि गाउँका सामान्य मानिसमा पनि आफ्नो आवाज सुन्ने साहस ल्यायो । त्यही साहसले सुशासनलाई व्यवहारमा ल्याउने बाटो खोलेको छ ।

समय बित्दै जाँदा बास नेपाल स्थानीय पहल मात्र रहेन । यसले संघ, प्रदेश र स्थानीय सरकारबीचको नीतिगत अन्तरसम्बन्धमा आवाज उठायो । सूचनाको हक, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण,सार्वजनिक परीक्षणलाई संस्थागत गर्ने र स्थानीय शासन सुधारका लागि यस संस्थाको योगदान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रह्यो । बास नेपालका कर्मचारी र सदस्यहरु धेरै ठाउँमा नीति निर्माणका सल्लाहकार, विद्यालयका प्रशिक्षक र स्थानीय सरकारका मार्गदर्शक बनेको मेरा आँखाले झलझल्ति देखेकाछन् । यसरी बास नेपालको आवाज नीति र नागरिकबीचको सेतु बन्यो ।

कुनै संस्थाको मूल्य केवल उसले गरेको काममा होइन, उसले समाजमा ल्याएको सोचमा निहित हुन्छ । बास नेपालले नागरिक समाजमा एउटा नयाँ सोच जगायो—शासन डरको होइन, साझेदारीको प्रक्रिया हो । यसले शासनप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन ग¥यो । नागरिक अब केवल मागकर्ता होइनन्, नियन्त्रक र सह–स्रष्टा बन्न सक्छन् भन्ने भाव फैलियो ।

२५ वर्षमा बास नेपालले सुशासन व्यवहारमा उतार्न अनेक अभ्यास गर्यो । अभियानहरू विद्यालयमा नागरिकता शिक्षाको रूपमा चले, गाउँमा सार्वजनिक सुनुवाइका रूपमा सञ्चालन भए । कतिपय ठाउँमा स्थानीय योजनाको पारदर्शिता सुनिश्चित गर्न जनप्रतिनिधि र नागरिकबीच सीधा संवाद भयो । कतिपय ठाउँमा विद्यालयको आर्थिक पारदर्शिता र शिक्षकको उत्तरदायित्वबारे बहस भए ।

यी सबै अभ्यासले प्रमाणित गर्यो । कि सुशासन केवल प्रशासनिक अवधारणा होइन, सामाजिक अभ्यास हो । जब नागरिक सचेत हुन्छन्, शासन स्वचालित रूपमा जिम्मेवार बन्न थाल्छ ।

यात्रा सधैं सहज हुँदैन । बास नेपालले अनेक चुनौती भोग्यो । संगठन विस्तारसँगै शाखा र केन्द्रबीचको समन्वय कठिन भयो । कतिपय शाखा अत्यन्त सक्रिय भए होलान्, कतिपय नाममात्र रहे पनि होलान् । स्वेच्छिक योगदानमा चलेको संस्थाले आर्थिक स्थायित्व कायम गर्न कठिनाइ भोग्नु स्वभाविकै पनि हो ।

दातृ सहयोगको सीमितता र स्थानीय साझेदारहरूको अस्थायित्वले ठूला योजनामा अवरोध ल्याउने गरेको पाइन्छ तर यो संस्थाले सबै चुनौतिहरुको सामना सहजै गरेको बुझ्न सकिन्छ ।

यस्ता कठिनाइबीच पनि बास नेपालले आफ्ना मूल्यहरूमा सम्झौता गरेन । पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता—यी तीन शब्द यसको आत्मा बने भन्ने मलाई विश्वास छ । जसरी कुनै धर्म आस्थामा टिक्छ, त्यस्तै बास नेपालको अस्तित्व यी मूल्यमा टेकेको छ । मैले गरेको मुल्याङ्कन अनुसार, संस्थाको शक्ति कार्यालयको आकारमा होइन, विचारको उचाइमा छ । यही विचारको उचाइका कारण बास नेपालले देशभर आफ्नो उपस्थिति जमाएको हो ।

आज बास नेपाल ७७ जिल्लामा फैलिएको छ । हजारौं नागरिक यससँग जोडिएका छन् । सयौं विद्यालय, नगरपालिका र गाउँपालिकहरु यसका अभियानसँग प्रत्यक्ष सरोकार राख्छन् । नागरिक समाजका नेताहरू, शिक्षक, पत्रकार र स्थानीय नीति निर्माता यस संस्थाबाट प्रशिक्षित वा प्रेरित छन् । बास नेपालको प्रशिक्षणले नेपाली युवालाई नेतृत्वको बाटो सिकाएको छ ।

बास नेपालले नेपालमा शासन बारेको सोच परिवर्तन ग¥यो । पहिले शासन राज्य र नागरिकबीचको दूरीको रूपमा बुझिन्थ्यो । अहिले शासन नागरिककै अभ्यासको हिस्सा बन्दै गएको छ । यो परिवर्तन सरकारी नीति होइन, नागरिक चेतनाको परिणाम हो—जुन चेतनाको बीउ बास नेपालले रोपेको थियो ।

रजत वर्षको अर्थ केवल विगत सम्झनु होइन, भविष्यको जिम्मेवारी बोक्नु पनि हो । २५ वर्षमा बास नेपालले जुन उपलब्धि हासिल ग¥यो, त्यसले अब अर्को चरणको माग गर्छ । संस्था अब केवल कार्यक्रम सञ्चालन गर्ने होइन, नीति निर्माणको साझेदार बन्नुपर्छ । यसको अनुभव, अनुसन्धान र जनसम्पर्कले देशमा सुशासन नीतिका स्थायी संरचना बनाउन सहयोग पुर्याउन सक्छ ।

भविष्यमा बास नेपालले डिजिटल रूपान्तरणमा ध्यान दिनुपर्छ । प्रविधिले शासनलाई पारदर्शी बनाउने सबैभन्दा सशक्त माध्यम हो । अनलाइन डेटा व्यवस्थापन, खुला बजेट प्रणाली, नागरिक निगरानी एप— यी सबै अब सुशासनको नयाँ औजार हुन् । बास नेपालले यी उपकरण प्रयोग गर्न सके, यसको प्रभावशक्ति गुणात्मक रूपमा बढ्नेछ ।

साथै, आर्थिक स्वावलम्बन पनि अबको प्रमुख चुनौती हो । केवल परियोजनामा भर पर्नु संस्थाको दीर्घकालीन अस्तित्वका लागि पर्याप्त छैन । आफ्नै सदस्यता प्रणाली, सामाजिक उद्यम, र साझेदारी कार्यक्रम विकास गर्न सकिए संस्थाको स्थायित्व बलियो हुनेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा, बास नेपालले राजनीतिक तटस्थता र नैतिक निष्पक्षता कायम गरेको छ । यसलाई निरन्तरता दिनु पर्दछ । नागरिक संस्थाको विश्वसनीयता उसको स्वाधीनतामा निहित हुन्छ । जुन क्षण संस्था कुनै राजनीतिक शक्तिको प्रभावमा आउँछ, त्यही क्षण यसको नागरिक चरित्र कमजोर हुन्छ । त्यसैले बास नेपालले सधैं मूल्यमा स्थिरता र व्यवहारमा स्वतन्त्रता कायम राख्नैपर्छ ।

रजत वर्षले संस्थालाई आत्ममूल्याङ्कनको अवसर दिएको छ । विगतको उपलब्धि र कमजोरी दुवैलाई स्वीकार गर्दै भविष्यको बाटो तय गर्नुपर्छ । विगतले सिकाएको सबै पाठलाई अब नीतिगत रूपान्तरणमा प्रयोग गर्न सकिए बास नेपाल केवल नागरिक अभियान होइन, राष्ट्रिय नीति निर्माणको एक प्रमुख मञ्च बन्न सक्छ ।

मैले आप्नै शब्दमा भन्नु पर्दा, “रजत वर्ष उत्सव होइन, उत्तरदायित्व हो । सफल संस्था त्यो हो जसले आफ्नो विगतसँग संवाद गर्छ ।” यही संवादले संस्थाको भविष्य निर्धारण गर्छ ।

नेपालमा सुशासन अहिले पनि चुनौतीपूर्ण छ । भ्रष्टाचार, शक्ति–संघर्ष, र असमानता अझै विद्यमान छन् । तर यिनै कठिनाइबीच पनि बास नेपालले नागरिक चेतनाको बत्ती निभ्न दिएको छैन । देशभरका सयौं युवाले यो संस्थाबाट प्रेरणा लिएर आफ्नो ठाउँमा सानो परिवर्तनको बीउ रोपिरहेका छन् जस्तो मलाई लाग्छ ।

यही निरन्तरता नै बास नेपालको साँचो अर्थ हो—निरन्तर जागरण, निरन्तर सुधार र निरन्तर उत्तरदायित्व । आज, जब बास नेपाल आफ्नो रजत वर्ष मनाउँदैछ, तब हामीले सम्झनुपर्छ—यसको यात्रा केवल विगतको गौरव होइन, भविष्यको वाचा पनि हो । बास नेपालले अब स्वर्णिम दशकतर्फ यात्रा गर्नुपर्छ—जहाँ नागरिक शिक्षा, नीति अनुसन्धान र सुशासन प्रविधिको संयोजन हुनेछ ।

संस्थाले युवाहरूलाई नेतृत्वमा ल्याउने नीति बनाउनुपर्छ । युवा नेतृत्व नै स्थायित्वको आधार हो । नेतृत्व विकास तालिम संचालन गरेर नीति अध्ययन, सार्वजनिक प्रशासन र पारदर्शिता तालिम दिइन सके बास नेपालले देशमा सुशासनको नयाँ पुस्ता जन्माउनेछ र जन्माएको पनि छ ।

अन्ततः, बास नेपालको आत्मा केवल यसको नाममा होइन, नागरिकको मनमा बसालिएको छ । जब गाउँको सामान्य किसान भन्छ—“हाम्रो पैसाको हिसाब हामीले पाउँछौं,” त्यो बास नेपालको सफलता हो । जब विद्यार्थी भन्छन् — “शिक्षक पनि जनतासामु उत्तरदायी छन्,” त्यो बास नेपालको सफलता हो ।

वास्तवमा म अन्त्यमा के ठोकुवा गर्न सक्छुभने, “संस्थाको वास्तविक मापन रिपोर्टमा होइन, चेतनामा हुन्छ ।” बास नेपाल सफल छ किनकि यसले चेतनामा जग बसालेको छ ।

रजत वर्षले यो संस्था र यसको सबै अभियन्ताहरूलाई नयाँ प्रतिबद्धता दिन्छ—अझ गहिरो काम, अझ पारदर्शी सोच र अझ नागरिकमुखी दृष्टि । सुशासनको सपना अझ पूरा भएको छैन, तर दिशा स्पष्ट छ ।

बास नेपालको यात्रा नेपालका नागरिकहरूको आफ्नै यात्राको कथा हो । त्यो कथा हरेक गाउँ, हरेक विद्यालय, हरेक कार्यालय र हरेक मनमा पुनर्लेखन हुँदैछ ।

नागरिकहरुले अर्थ पाएको छ, उत्तरदायित्वले जीवन पाएको छ । रजत वर्ष त्यसै यात्राको पुनर्जागरण हो—जहाँ देशले आफ्ना नागरिकमा भरोसा राख्न सिक्दैछ, र नागरिकले आफ्नो देशप्रति जिम्मेवारी महसुस गर्न थालेको छ ।

बास नेपालको उज्यालो यात्रा अझै जारी छ । त्यो उज्यालो केवल संस्थाको नभई, सम्पूर्ण समाजको चेतनामा फैलिएको प्रकाश हो । जबसम्म त्यो प्रकाश बलिरहेको छ, सुशासनको सपना मर्ने छैन । संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा, उपाध्यक्ष निर्मल थापा, सचिब नमस्कार शाह, कोषाध्यक्ष विष्णु पौडेल लगायत १५ सदस्यीय कार्यसमितिबाट सुरु भएको यो संस्था आज देशभर एक सशक्त नागरिक आवाजको रूपमा स्थापित छ ।

(डाक्टर धिताल गुडा न्यूज साप्ताहिकका सम्पादक हुन् ।)

  • २३ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech