नेपालगन्ज–२० राझास्थित राझा विमानस्थल नजिकै रहेको अमिला कुट्टी परिसरमा ११ कुण्डीय गायत्री महायज्ञ तथा संगीतमय शिवमहापुराण कथा भव्य रूपमा सम्पन्न भएको छ।
महाशिवरात्रि पर्वको पावन अवसर पारेर आयोजना गरिएको उक्त धार्मिक कार्यक्रमको शुभारम्भ फाल्गुन १ गते शुक्रबार बिहान १० बजे भव्य कलश यात्रासहित गरिएको थियो। विभिन्न क्षेत्रबाट आएका श्रद्धालु भक्तजनहरू धर्मध्वजा र कलश बोकी सहभागी हुँदा सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो। सोही दिन दिउँसो १स्३० बजे निःशुल्क भोजनको व्यवस्था गरिएको थियो भने बेलुकादेखि शिवमहापुराण कथा वाचन प्रारम्भ गरिएको थियो।
फाल्गुन २ गते विशिष्ट देवासनका साथ विधिवत् यज्ञारम्भ तथा विभिन्न वैदिक संस्कारहरू सम्पन्न गरिएका थिए। कार्यक्रम अवधिभर पुनःश्च, नामकरण, मुण्डन, व्रतबन्ध, गुरुदक्षिणा लगायतका संस्कारहरू निःशुल्क रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। तेस्रो दिन पनि यज्ञीय कार्यहरू निरन्तर सञ्चालन गरिएको थियो। फाल्गुन ४ गते विशेष पूजा–आरती तथा रुद्राभिषेकसहित कार्यक्रमको समापन गरिएको छ। समापनका दिन भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।
उक्त धार्मिक महायज्ञ गायत्री प्रज्ञा अभियान गायत्री शक्तिपीठ नेपालगन्ज–२० अमिला कुट्टी रांझा को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमलाई शान्तिकुञ्ज हरिद्वार को तत्वाधान रहेको थियो। महायज्ञका संस्थापक डा. श्री सूर्यलाल बर्मा रहेका थिए। गायत्री परिवारका प्रचार–प्रसार संयोजक मनिष कर्माचार्यका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सनातन धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ। शिक्षक राजेश यादवले कार्यक्रममा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको कर्माचार्यले जानकारी दिए।
आयोजकका अनुसार यस धार्मिक आयोजनाले स्थानीय समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सनातन संस्कारप्रति आस्था र आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।









