नेपालगञ्ज/ निष्पक्षता कायम गर्दै आसन्न निर्वाचनलाई भयरहित, भ्रष्टाचारमुक्त बनाउन सरोकारवालाहरुलाई बास नेपालले अपिल गरेको छ ।
भ्रष्टाचारको विरुद्धमा जेनजि पुस्ताले गरेको आन्दोलन पश्चात हुन गइरहेको आसन्न निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै बास नेपालले सो अपिल गरेको हो ।
देशलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्वनैं योग्य र सक्षम हुनुर्ने उल्लेख गर्दै बास नेपालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा अपिल जारी गर्दै निर्वाचन पूर्व, निर्वाचनको समय (मतदाता र मतगणनाको चरण) र निर्वाचन परिणाम पश्चात मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न, भयरहित वातावरणमा स्वतन्त्र तवरले मतदान गर्ने व्यवस्था मिलाउन बास नेपालले सरकारलाई आह्वान गरेको छ ।
निर्वाचनलाई, स्वच्छ, निष्पक्ष र विश्वस्निय रुपमा संचालन र सम्पन्न गराउन, अनियन्त्रित रुपमा हुनसक्ने निर्वाचन खर्च, तडक भडक, एआई तथा सूचना प्रविधिको माध्यमबाट सामाजिक संजालहरुको अवान्छित प्रयोगलाई नियन्त्रण गर्नुका साथै जारी गरिएको निर्वाचन आचार संहिताको उल्लंघन हुन नदिन र भएमा कानुन वमोजिम सख्त कार्वाही गर्न बास नेपालले निर्वाचन आयोगसँग जोडदार माग गरेको छ ।
बास नेपालद्धारा जारी अपिलमा मतदातालाई उपयुक्त र योग्य उम्मेदवार छनौट गर्न आफ्नो मत प्रदान गर्ने अवसर दिन, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, डिजिटल वा अन्य माध्यमबाट आफ्नो चुनावी फाइदाको लागि झुटा आस्वासन सहित प्रचार नगर्न र नगराउन राजनीतिक दलहरुलाई आह्वान गरिएको छ । अपिलमा भनिएको छ – निर्वाचनको प्रचार प्रसारमा गरिने अपारदर्शी र अत्यधिक खर्च तथा आर्थिक लेनदेन भ्रष्टाचारको मूलकारण मध्येको एक भएकोले तोकिएको सिमा भित्र रही पारदर्शिरुपमा खर्च गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई बास नेपाल आह्वान गर्दछ ।
निर्वाचनमा विभिन्न दलहरूबाट वा स्वतन्त्र रुपमा भाग लिने उम्मेदवारहरूले प्रचार प्रसार, मतदान पूर्व, मतदानको समय, मतगणनाको समय र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण र शिष्टताको प्रस्तुती गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दै बास नेपालले निर्वाचन आयोगबाट जारी निर्वाचन आचार–संहिता अनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन अपिल गरेको छ ।
अपिलमा भनिएको छ – कसैको लोभ–लालच, डर–त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न, हाम्रालाई होई, राम्रालाई, भ्रष्टलाई होईन, ईमान्दारलाई छान्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध छ ।
निर्वाचनको क्रममा उम्मेदवार वा दललाई चन्दा, सहयोग दिने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूका साथै चन्दा लिने दल वा उम्मेदवारहरुले सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकुल हुनेगरी प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सहयोग नदिन आग्रह गर्दै बास नेपालले प्रतिनिधि सभाको आसन्न निर्वाचनको प्रत्येक चरणमा सञ्चार क्षेत्रले निष्पक्षता कायम गर्दै निर्वाचन आचार–संहिताको पालना गरि उम्मेदवारहरुको सदाचार प्रतिको प्रतिवद्धता सम्बन्धि स्पष्टता ल्याउन, मतदाताको भूमिका र सहभागिता बढाउन सहयोग गर्न अपिल गरेको छ ।









