जीवन यात्राको गौवममय क्षण

सिता बोहरा

म एक सामान्य किसान परिवारको छोरी तर ठुला सपना लिएर जीवनले बिश्राम नलिदासम्म संर्घष गर्न तयार महिला मानव । मैले जीवनको आफ्ना उर्जावान र किशोरी काल बाससंग बिताएको थिएँ । बास मलाई हजारौं बर्ष टिक्ने एक सुन्दर घरझै लाग्छ जहाँ धेरै पुस्ताले जन्म लिन्छन्, बिदा हुन्छन् । सोहि घर बसाईको छोटो स्मरण जति सम्झन सके त्यति पस्कन पाएकोमा अहिलेको बास परिवारलाई धन्यवाद दिन चाहन्छु । बाससंगको मेरो यात्रा ।

सामाजिक चेतनाको शुरूवात :
कक्षा १० सम्म पुग्दा मैले सामाजिक क्रियाकलापमा त्यति धेरै चासो राख्दिनथेँ । मेरो घर तत्कालीन राधापुर गाविस अन्तर्गत बेलडाँडामा पथ्र्यो । एक यस्तो बस्ती, जुन २०२४ सालमा राजा महेन्द्रले भूपू सैनिकहरुलाई सीमा सुरक्षाका लागि बसालेका थिए । गाउँ छेउमै नेपाल–भारत सिमाना थियो ।

एसएलसी दिईसकेपछि एकदिन गाउँका गगन थापा दाइले स्कुलमा भेला छ आउनु भनेपछि म नजिकैको मैटहवा मावि पुगेँ, जहाँ म पहिले पढेको थिएँ । श्रावणको महिना, किरण खोलाको उर्लदो बग्ने पानीले शिपुरी (नेपालगञ्जबाट गाउँ छिर्ने मुख्य सडक) बन्द भएको, सैनिक नेपालगञ्जको आवतजावत बन्द भएको, दशैंका सांस्कृतिक कार्यक्रम बन्द भएको, खेलकुद नहुने, सरसफाइको अवस्था कमजोर, बाटो मर्मत नहुँदा कठिनाइ, युवाहरु बरालिएर हिंड्न जस्ता समस्या ती भेलामा उठे ।
यिनै समस्याका बीच उठ्यो ‘राधापुर सांस्कृतिक क्लब’ गठन गर्ने प्रस्ताव र म त्यस क्लबको कोषाध्यक्ष भए । त्यतिबेला सम्म मैले गाउँका धेरै मान्छे चिन्ने अवसर पाएको थिइन । क्लब गठनपछि भने हामीले चन्दा उठाउने, देउसी–भैलो खेलेर रकम संकलन गर्ने जस्ता काम सुरु गर्यौ । उठेको पैसाले किरण खोलामा एउटा बलियो काठे पुल हाल्यौ—जो २५ वर्षपछि पनि उस्तै दृढ बसेको छ ।

सामाजिक कामको स्वाद :

क्लबमा हिँड्दा धेरै मानिसलाई चिन्ने, बोल्ने, कार्यक्रम सञ्चालन गर्ने, विवादमा राय दिने, बाटो–घाटो बनाउने, जनचेतनामूलक काम गर्ने अवसर पाएँ । मैले आफ्नै अग्रसरतामा बाल–क्लबहरू गठन गरे र मासिक बचतको अवधारणा लागू गराए ।

२०५७ सालमा असल शासन जिल्ला समन्वय समिति तथा बागेश्वरी असल शासन क्लबका अध्यक्ष नमस्कार शाहको उपस्थितिमा राधापुरमा युवा जागरण असल शासन रेडियो श्रोता क्लब गठन भयो । म कार्यसमितिको सदस्य भए । यतिबेला भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, सामाजिक विकृतिहरूप्रति मेरो चासो निकै बढिसकेको थियो । आइतबार बिहान रेडियो नेपालबाट बज्ने असल शासन रेडियो कार्यक्रमले धेरै चेतनसिल बनाएको थियो । हामीले ‘असल शासन’ नामक भित्तेपत्रिका प्रकाशन गर्न थाल्यौ । गगन थापा दाईबाट नेतृत्व, दृष्टि र सामाजिक चेतनाका धेरै कुरा सिक्दै गएँ ।

नेपालगञ्जमा क्याम्पस पढ्न थालेपछि गाउँसँगको भौगोलिक दूरी मात्र १० कि.मि. भए पनि सामाजिक दूरी बढ्दै गयो । तर यात्राको स्वरूप फेरिए पनि गन्तव्य एउटै थियो ।

किशोर उमेरका संघर्ष र आत्मनिर्भर बन्ने यात्रा :
२०५८ असारमा बागेश्वरी असल शासन क्लबको कार्यक्रममा साथि गणेश खड्काको फोन आएपछि गगन दाइसँगै म कार्यक्रमस्थल महेन्द्र बहुमुखी क्याम्पस पुगे । त्यहाँ पहिलोपटक नमस्कार शाह र रमेश सिटौलासँग क्लबका बारेमा गहिरो कुरा भयो ।

१६ देखि १८ वर्षका युवाले यति धेरै काम गरेका रहेछन् भनेर मनमा थुप्रै प्रश्न उठे । यही प्रेरणाले म क्लबको कार्यसमितिमा प्रवेश गरे । अनि सुरु भयो— सुशासन संगै र व्यक्तित्व विकासको यात्रा । सुरुमा म भीडमा बोल्न डराउँथे । तर ती कार्यक्रमहरूले मलाई आत्मविश्वासी बनाए ।

यसैबीच घर–परिवारको दबाब थियो—पढाइ बिग्रिन्छ, छाडिदेउ बरालिन । तर मैले अध्ययन र सामाजिक अभियान दुवैलाई सम्थर रुपमा अघि बढाएँ ।

कक्षा ८ देखि नै पौँढ शिक्षा पढाउने गरेकोले थोरै आम्दानी हुन्थ्यो । लाल्टिन बालेर म मेरी आमाको पछि लागेर गाउँकि स्वास्थ्य स्वयमसेविकाको घरमा पढाउन जान्थे । सरकारी बिद्यालयमा पढ्ने भएकोले पढ्नमा खर्च थिएन । नेपालगञ्जको बसाईसंगै त्यो अवसर पनि सकिएको थियो । क्याम्पस पढ्न थाले पछि बाहिर खाजा खाने, फिल्म हेर्ने, टांगा र रिक्सा चढ्ने पैसा घरमा माग्न सकस हुन थाल्यो । त्यतिबेला नेपालगञ्जमा हाम्रो घर थिएन । पहिले साथि खिमा, दिपा, पुनमसंग र पछि दाई, बहिनिसंग भाडामा बस्थे । शुरुका केहि समय बाहेक मैले घरमा म आफै कमाउछु भनेर पैसा माग्न छाडें ।

एसएलसि पछि सिकेको कम्प्युटरको आधारमा टुडे नेपाल दैनिकमा टाइपिङ्गको काम सुरु गरे । त्यो आम्दानीले खाना, तरकारी, मट्टितेल, रिक्सा—सबै धान्थ्यो । कहिलेकाही नपुग्दा साथिहरुसंग सापटी माग्थे र चलाउँथे यो सम्झना आज पनि ताजा छ ।

संगठनात्मक यात्रा र जिम्मेवारीको नयाँ मोड :
क्लबमा सदस्य भएको आठ महिना नपुग्दै म कोषाध्यक्ष भएँ । त्यसपछि हामिले हाम्रो क्लबमा छलफल गर्यौं । अव हामिले क्लबलाई र आफैलाई आर्थिक सहजता हुने गरि काम गर्नु पर्छ । उद्घोषण, नेतृत्व विकास, स्थानीय जागरण, व्यक्तित्व विकास लगायत—अनेक तालिम पाएँ र दिन थाले । यसबाट उठेको रकमबाट कार्यालय खर्च कटाई पारिश्रमिक लिन थाल्यौं । यसबाट अलिकति भएपनि आर्थिक सहजता भयो । मेरो व्यक्तित्व बिकास पनि भयो । कैयौं कार्यक्रमको संचालक भएँ, कैयौं कार्यक्रमको नेतृत्व गरें, कर्मचारीको रुपमा पनि काम गरंँे ।

कम उमेरका सबै सदस्य भएर पनि हाम्रो टोली बलियो थियो । तर संगठन ठूलो हुँदै जाँदा स्रोत–साधन आवश्यक भयो । कार्यक्रमहरू बढे । खर्च बढ्यो । त्यसैले २०६० सालमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा क्लबलाई गैर–सरकारी संस्थाको रूपमा दर्ता गरियो ।

त्यही वर्ष मलाई सहसचिवको निर्वाचनमा माधव कार्कीले हराए । तर मैले हारलाई कहिल्यै कमजोरि मानिन आफ्नो यात्रामा अघि बढे । ६ महिना पछि फेरि कोषाध्यक्ष भएर काम गरें । भेरी प्राविधिक शिक्षालयबाट १५ महिने कार्यालय व्यवस्थापनको शिक्षा लिएँ । त्यही बीच शिक्षालयभित्रका विकृतिविरुद्ध पनि आवाज उठाए । त्यतिबेला सम्म सानो भुराभारीको क्लब एक सशक्त सामाजिक संस्था बनिसकेको थियो । त्यो शिक्षा प्राप्त गरे पछि कार्यालय सम्बन्धि धेरै कुराको ज्ञान पाएँ । प्रवेज अलि सिद्धिकि नेतृत्वको युनेस्को भन्ने सामाजिक संस्थामा ३ महिना गरेको ईन्र्टनसिप महत्वपूर्ण सिकाई बन्यो । प्रवेज सर मलाई नानि भनेर सम्बोधन गर्नुहन्थ्यो वहाँको सकारात्मक ब्यक्तित्व र बालिका शिक्षा प्रतिको सोचले मलाई अध्ययननै ठुलो जिवनोपयोगि सिप र शिक्षा हो भन्ने सिकायो ।

त्यहाँ सिकेको धेरै कुरा संस्थामा लागु गर्न प्रयास गरें, पहिलोपटक व्यवस्थित अभिलेख, प्रतिवेदन, दस्तावेज व्यवस्थापन सुरु गरें । सबै किशोर–किशोरीको टोलीमा आलोचना–आत्मआलोचना, समुहकार्य र निरन्तर सुधार हाम्रो आधारभूत मूल्य बन्यो ।

सुशासनको यात्रा—जिल्लादेखि देशव्यापी अभियानसम्म :
बिभिन्न क्षमता बिकासका क्रियाकलाप, सत्याग्रह, सरकारी कार्यालयमा छड्के, चेतनामुलक तालिम, हाजिरीजबाफ, कविता प्रतियोगिता, नेतृत्व विकास, पत्रिका प्रकाशन जस्ता हाम्रा कार्यक्रमले धेरै युवालाई आकर्षित ग‍र्यो । साधारण सदस्यमा अस्वभाविक बृद्धि भएपछि हामिले साधारण सदस्यता प्रवेश र नविकरण शुल्क निर्धारण गर्यौं । यसले पनि संस्थालाई आर्थिक रुपमा सवल बनाउदै गयो । साथै हाम्रा सल्लाहकार ज्यूहरु जसले एक कल फोनको भरमा आर्थिक सहयोग गर्नुभयो । हामीलाई सधै हौसला र प्रेरणा दिनु भयो । अहिले सम्झदा लाग्छ संस्थाको लागि एक राम्रै मगन्ते भएको थिएँ । दशै आयो शुभकामना दिनुस्, हाम्रो बार्षिक उत्सव, अधिवेशन छ आर्थिक सहयोग गर्नुस्, लौन तपाईको दैनिक पत्रिकामा निशुल्क बिज्ञापन छापिदिनुस्, लौन तिज प्रतियोगिता गर्नुछ इत्यादि ।

साथिहरुमा समुह कार्य एकदमै राम्रो थियो । समुह भित्र आलोचना, आत्मआलोचना हुन्थ्यो, स्वयमले आफ्नो कमिकमजोरी पत्ता लगाई सुधार गर्ने, अरुका कमिकमजोरी भन्ने, टिपोट गर्ने र सुधार गर्ने गरिन्थ्यो । हरेक शुक्रबार परिसम्बाद कार्यक्रम गरि बढि युवा तथा किशोर किशोरीलाई बोलाई एउटा बिषयमा बिचार बिमर्श गरि निकर्ष निकालिन्थ्यो । बढि साथिहरुलाई आफ्नो अभियानमा लगाउनका लागि बांकेमा उपशाखा, समुह, ईकाई गठन गरि असल शासनका बारेमा जानकारी गराउन गाउं गाउं साईकिल चलाएर गईन्थ्यो । काम गर्दा सबै साथीहरुको एक मतका कारण काम गर्न सहज हुन्थ्यो । तत्कालिन समयमा काम गर्ने नमस्कार शाह, रमेश सिटौला, उमा थापा, शिब थापा, शम्भु रेग्मी, गणेश खड्का, गिरेन्द्र बोगटि, तपेन्द्र शाही, ओविराज आचार्य, खड्क रावत, ओम, बिबेक, टेकराज, चिरिञ्जिवि, शिवा, भगवति, बिनिता, कृष्णा लगायतसंग काम गरेको याद ताजै छ । त्यसपछिका चम्पा, भाईराजा, ईश्वर, राजु, प्रतिमा, राधिका, बब्लु, रज्जव लगायतलाई सम्झीरहन्छु ।

२०६२ सालमा तेस्रो अधिबेशन भयो त्यतिबेला सम्म जिल्ला—जिल्लामा शाखा बिस्तारको अवधारणा अघि आई सकेको थियो र ८/९ वटा जिल्लामा शाखा बिस्तार भईसकेका थिए । त्यस अधिबेशनबाट म पुनः कोषाध्यक्ष मँै निर्बिरोध निर्वाचित भए । समय अनुसार बिचार, सोच, काम गराई परिपक्क हुंदै गयो । सु—शासनको पक्षमा थुप्रै काम गर्न सक्षम हुंदै गएँ । यसै बिचमा अन्य संघ संस्थाबाट दिईने थुपै्र तालिम र कार्यक्रममा भाग लिएँ, प्रो पब्लिकले गर्ने कार्यक्रममा भाग लिएँ ।

प्रो. पब्लिकमा कार्यरत केदार खड्काको मार्ग पछ्याई जिल्ला जिल्लामा थुप्रै काम गर्यौं । पछि मलाई अलि उग्र भएर भन्दा पनि सकारात्मक र सुधार उन्मुखबाटोबाट काम लाई अघि बढाउनु पर्छ भन्ने भयो । मैलै सकारात्मक सोच, प्रशंसनिय दृष्टिकोण सम्बन्धि तालिम लिई त्यसैको पैरवि समेत गर्न थाले । यसैमा बेलाबेलामा साथिहरुसंग मतभेद भईरहन्थ्यो । मैले नमस्कार शाहजीको नेतृत्वमा बसेर काम गरें, वहाँ नेतृत्व हस्तान्तरणका लागि तेस्रो अधिबेशनमैं तयार हुनु भएको थियो, हामीले मानेनौं, २०६४ बाट वहाँले नेतृत्वबाट बिदा लिनु भयो । यसरी २०६४ को चौथो महाधिबेशनबाट निर्बिरोध रुपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भए । त्यसपछिको मेरो अनुभव अझ बेग्लै भयो, केन्द्रीय बैठकको अध्यक्षता, बिभिन्न शाखासंगको समन्वय, संस्था प्रति थपिएको थप जिम्मेवारीले मलाई अझ संबेदनशिल र कर्तब्यनिष्ठ बनायो । शाखा स्थापना गर्न रुकुम, जाजरकोट देखि पूर्वको झापा सम्म पुगें । मैले २१ सदस्यीय कार्यसमितिको नेतृत्व गर्ने अवसर पाएँ । मेरो कार्यकालमा ५३ वटा जिल्लामा शाखा बिस्तार भईसकेको थियो ।
बिभिन्न भूमिकाहरू र महिला सहभागिता
यस क्रममा म असल शासन पत्रिकामा व्यवस्थापक, पछि प्रबन्ध–सम्पादक, पशु सेवा वकालतको सम्पादक, कृषि पत्रिकाको सल्लाहकार, रुकुमको नवयात्रा पत्रिकाको अतिथि–सम्पादक, अपांगता सरोकार पत्रिकाको सम्पादक, प्रारम्भको सम्पादक, बागेश्वरी एफएमबाट अपांगता सरोकार कार्यक्रम सञ्चालनकर्ता सम्म बने ।
म बासको केन्द्रीय अध्यक्ष हुँदानैं सु—सन्देश साथि संग मनका कुरा मञ्चको अध्यक्ष, संचारिका समुह क्षेत्रिय कार्यसमितिको सदस्य, महिला संचार समुहको साधारण सदस्य, एकता बाल क्लब, समाज सुधार बाल क्लबको सल्लाहकार, बासकै जनसम्पर्क बिभाग प्रमुखको रुपमा काम गरेको थिएँ । काम गर्ने दौरानमा धेरै संघ संस्थाबाट सम्मान समेत पाएँ ।

त्यसैगरी महिला सहभागिता कार्यक्रम विभाग सञ्चालन गरेर थुप्रै महिलालाई अधिकार, समानता र सुशासनका यात्रामा जोड्ने प्रयास गरें । त्यतिमात्र होईन यसै समयताका समाजमा पछाडि पारिएका लिंग, बर्ग, जाति, समुदाय, अपांगता भएका ब्यक्तिहरु वास्तविकता नियाल्ने मौका पाएँ र आगामि आफ्नो पाईला यतै बढाउने संकल्प गरे । मैले थुप्रै महिला माथि समाजका सदस्यहरुले गरेको दुब्र्यवहार, कुदृष्टि, अपहेलना यति सम्मकि मान्छेको दर्जामा नराखेको भेटें । आफ्नो घरको दिदि बहिनि र आमा बाहेक सबैलाई मनोरञ्जनका साधन मान्ने समाजमा बस्ने असामाजिक, क्रुर मान्छे भेटें । अपांगता भएर जन्मिसकेपछि पूर्वजन्मको पाप सोचेर कठै भनेर पाप पखाल्न दिएका अर्ति दिने भेटे । बोल्न नसक्ने, हिँड्न नसक्नेलाई बारम्बार बलात्कार गर्ने पशु रुपि मान्छे देखे । उनिहरुको पक्षमा पनि पैरवि गर्न थाले ।
यस बिचमा अध्यक्षले संस्थामा कर्मचारी बस्न नपाउने कार्यबिधि अनुरुप मैले अन्यत्र काम गर्न थालेको थिएँ । मैले राष्ट्रिय अपांग महासंघ नेपालको मध्यपश्चिम संयोजक भएर काम गरें । पछि आईएनएफ दांगमा पनि काम गरे । म गाउँको सानो क्लबमा आवद्ध हुंदा यति धेरै कुराको अपेक्षा राखेको थिईन । मैले यसै क्रममा आफ्नो अध्ययनलाई पनि संगै अघि बढाए ।
नेतृत्व हस्तान्तरण, नयाँ यात्रा र दृढता :
बासको केन्द्रीय अध्यक्ष हुँदा म सञ्चारिकाका क्षेत्रीय कार्यसमिति सदस्य, मनका कुरा मञ्चको अध्यक्ष, बासको जनसम्पर्क विभाग प्रमुख, बाल–क्लबका सल्लाहकारजस्ता भूमिकामा रहे । अन्ततः स्नातकपछि मैले निर्णय लिए— अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने । मैले सहजता र खुशीका साथमा २०६६ सालमा नेतृत्व हस्तान्तरण गरें ।

संस्थामा रहदाँ किशोर किशोरी र युवाहरुलाई मैले जहिले पनि भन्ने एउटै कुरा थियो, यहाँ सिकेर देश भरि फैलिएर सुशासनको यात्रामा लाग्ने । आफु जहाँ जहाँ पुगिन्छ त्यहाँ देखेको बिकृति बिरुद्ध पैरवि गर्ने । अहिले पनि म कुनै न कुनै रुपमा पैरवि गर्दैछु मानवताको पक्षमा ।
आज पनि बिभिन्न तालिम, कार्यक्रम, अध्ययन, अनुसन्धानको शिलशिलामा पूर्व देखि पश्चिम सम्मका जिल्ला जाँदा बास जिल्ला शाखाले स्थानीय स्तरमा गरेको कार्य सुन्दा र शाखाका पदाधिकारी भेट्न आउँदा आफुले पार गरेको सुनौलो यात्रालाई पछाडि फर्केर धन्यवाद भन्न मन लाग्छ ।
संघर्ष र अखण्ड यात्राको कथा :
यी वर्षहरूमा धेरै सम्झनाहरू मनमा बसेका छन् । मैले गरेको ब्यक्तिगत संर्घषको कथा पनि लामै छ सायद पढ्नेलाई रोमान्चक पनि होला । नेपालगञ्जका गल्लि गल्लिमा सपना खोज्दै, चैत्र बैशाखको प्रचण्ड गर्मिमा साईकल कुदाउदै दौडिएको कथा । के हराए झै भौतारिदै रित्ता सडकमा नेपालञ्ज र सैनिकको यात्रा । कुनैबेला यि संर्घषका कथा पक्कै लेखिने छ । तर अहिलेलाई यहि यात्राबाट धेरै साथि, अग्रज, पछाडिपारिएकाहरुको आर्शिवाद पाएकोमा गर्ववान्वित छु । काम गर्ने क्रममा मुद्धा झेल्नु प¥यो, कहिल्यै नगएको अदालत जानु प¥यो, जिल्ला प्रमुखको हप्काई खानु प¥यो, समाचार लेखेको भरमा धम्किहरु सहनु प¥यो, मलाई मात्र नभई परिवारलाई पनि धम्कि दिईयो, बिभिन्न दोषारोपण गरियो तर मेरो यात्रा अझ रोमाञ्चक बन्यो । सुशासनप्रति मेरो आस्था, मानवताको पक्षमा बोल्ने मेरो आवाज कहिल्यै थामिएन ।
कृतज्ञता र यात्राको पुनरावलोकन :
आज देशका पूर्वदेखि पश्चिमसम्म तालिम, अध्ययन, अनुसन्धानका यात्रामा निस्कदा कतै बासका शाखा सक्रिय देख्दा मन आनन्दित बन्छ । यस यात्रामा मलाई साथ, हौसला, प्रेरणा दिने सबैप्रति मेरो गहिरो कृतज्ञता रहन्छ । बुवा दुर्गाबहादुर बोहरा, आमा पवित्राा, प्रो पब्लिकका पूर्व अध्यक्ष प्रो.डा.श्रीकृष्ण श्रेष्ठ, बासका पूर्व अध्यक्ष नमस्कार शाह, सल्लाहकार रुद्रप्रसाद तिमिल्सेना, पूर्णलाल चुके, स्व.बसन्ति लामा, ओमप्रकाश आजाद, गगन थापा दाइ, साथि गणेश खड्का, रमेश सिटौला, बिबेक पराजुलि र मेरा सबै साथीहरू प्रति आदर र गहिरो सम्झना । आज हजारौँ सुशासनका हिमायतीहरू पूर्व–पश्चिम फैलिएका छन् । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न म आज पनि कतै न कतैबाट एउटा इँटा थपिरहेकै छु ।

(बिद्याबारिधि अनुसन्धानकर्ता बोहरा बास नेपालकी पूर्ब केन्द्रीय अध्यक्ष हुन् ।)

  • २६ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech