इनिसा विकको हत्या बिरुद्ध बिज्ञप्ती जारी

निष्पक्ष छानविन गरि दोषिलाई कडा कार्वाही गर्न माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वर्षीया दलित किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको बीभत्स हत्याको घटनाका बिषयमा बाँके स्थित नागरिक समाजका प्रतिनिधिहरुले बिरोध जनाएका छन् ।

बाँके स्थित नागरिक समाजको तर्फबाट ९ वटा गैससहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरुले उक्त जघन्य अपराधको घोर भ्रत्सना गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा विकको फागुन २३ गते हत्या भएको थियो ।

उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन् । आफन्तले उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

बिज्ञप्तीमा बलात्कार र हत्या जस्तो जघन्य अपराधको घोर भत्र्सना गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईरहेकै समयमा घटेको उक्त अमानवीय घटनाबाट कानुनी शासनको धज्जी उडाएको महसुस भएको छ – बिज्ञप्तीमा भनिएको छ –एक दलित बालिकामाथि भएको यो जघन्य अपराध अत्यन्तै दुःखद र निन्दनीय छ । यसले कमजोर सुरक्षा अवस्था र समाजमा बढिरहेको बढ्दो अपराधिक मनोबृत्तिलाई उजागर गरेको छ ।

घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न प्रहरी, प्रशासनसँग जोडदार माग गर्दै बिज्ञप्तीमा बलात्कार र हत्यामा संलग्न ‘नाबालक’ भएको बहानामा अपराधीले उन्मुक्ति पाउने अवस्था सिर्जना नगर्न हुन समेत सम्बद्ध पक्षलाई आग्रह गरिएको छ ।

बिज्ञप्तीमा ईनिशाको न्यायका लागि देशभर भईरहेको खवरदारीमा ऐक्यबद्धता जनाईएको छ ।

बिज्ञप्तीको अन्तमा भनिएको छ – पीडित परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिपूरणको व्यवस्था तत्काल मिलाउन जोडदार माग गर्दछौं । दिबंगत किशोरी ईनिशाको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।

बिज्ञप्ती जारी गर्नेहरुमा बाँके स्थित नागरिक समाजका तर्फबाट दिदि बहिनी समाज, बाँकेकी अध्यक्ष रमादेबि शाह, दलित महिला संघ (फेडो), बाँकेकी अध्यक्ष निर्मला सुनार, गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, युवा घरका अध्यक्ष तथा गैसस महासंघ नेपाल, बाँकेका तथा कार्यबाहक अध्यक्ष मन भण्डारी, युवा गैसस महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष माधव कार्की, नाईस, नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, भ्वाईस, नेपालगञ्जका अध्यक्ष रमेश सिटौला, युथ एड्भोकेसी नेपाल, बाँके शाखा अध्यक्ष शोभा थापा मगर र कोहलपुर जेसिजकी अध्यक्ष लुना बुढाथोकी रहेका छन् ।

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech