नेपालको सामाजिक इतिहासमा युवाहरूले नेतृत्व गरेको यति दीर्घ, प्रभावशाली र परिवर्तनकारी संस्था निकै कम छन्, जुन बागेश्वरी असल शासन क्लब बास नेपाल आज जनजनको मनमा स्थापित छ । वि.स. २०५७ साल मंसिर २४ गते उत्साही, उत्तरदायी र परिवर्तनोन्मुख युवाहरूले स्थापना गरेको यो संस्था आज नेपालका ७ प्रदेशका ७७ जिल्लामा फैलिएको छ र ५००० भन्दा बढी युवाहरु आवद्ध भइ यो संस्था राष्ट्रिय अभियान बनिसकेको छ ।
बास नेपाल केवल सङ्ख्यामा ठूलो संस्था मात्र होइन, यो एक भावनात्मक आन्दोलन हो, भ्रष्टाचारविरुद्ध उठेको एक दृढ आवाज हो, नागरिक चेतनाको ढुकढुकी हो, र समाज विकासको सहयात्री हो । आज, देशले सुशासन, पारदर्शिता र जवाफदेहिता खोजिरहेको बेला बास नेपालले २५ वर्षदेखि निभाइरहेको भूमिकाले हजारौँ नागरिकको चेतनामा उज्यालो बालिरहेको छ, शासन प्रणालीलाई उत्तरदायी बनाउन दबाब सिर्जना गरिरहेको छ र समाजलाई सकारात्मक दिशातर्फ लैजाने परिवर्तनको मुहान बनेको छ ।
त्यो समयमा नेपाल लोकतान्त्रिक यात्रातिर ढल्किरहेको थिएन, चुनौतीहरू धेरै थिए, नागरिकलाई कार्यालयको ढोकाबाट सार्थक सेवा पाउन कठिन थियो । त्यही परिवेशमा महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गरेका केही युवा अगुवाहरूले निर्णय गरे, “देश बदल्न नेतृत्व घर घरबाट होइन, नागरिक चेतनाबाट जन्मिनुपर्छ ।” र यही संकल्पबाट जन्मियो बास नेपाल ।
युवाहरूले नै नेतृत्व गरेको, कुनै व्यक्तिगत स्वार्थ नभएको, पूर्ण रूपमा सार्वजनिक सरोकारमा आधारित यस्तो संस्था जन्मिनु आफैंमा सामाजिक क्रान्ति थियो । स्थापनाका शुरूवातका वर्षहरू संघर्षपूर्ण थिए । संसाधन अभाव, जनविश्वास निर्माण, संरचना विस्तार, गतिविधि सञ्चालन—तर उत्साह, विश्वास र लक्ष्य ठूलो थियो । आजको बास नेपाल, त्यही लक्ष्यप्रति समर्पित युवाहरूको लामो प्रयत्नको नतिजा हो ।
बास नेपालको प्रत्येक कार्यक्रम, अभियान र पहल तीन आधारभूत स्तम्भहरूमा टिकेका छन् । पहिलो स्तम्भ हो (१) सुशासन, दोश्रो हो पारदर्शिता, तेस्रो हो जवाफदेहिता ।
यिनै तीन सिद्धान्तको आधारमा बास नेपालले आज देशभर विश्वासिलो नाम बनाएको छ ।
बास नेपाल भ्रष्टाचारविरुद्धको त्रुटीरहित र अविचलित संघर्षका कारण पनि स्थापित भएको छ ।
कार्यालयमा हुने ढिलासुस्ती, काम गरिदिने बहानामा घुस र उपहार माग्ने प्रवृत्ति, नियम उल्लङ्घन गर्दै अवैध फाइदा उठाउने समूह, नागरिकका फाइलहरू महिनौँदेखि थन्किने अवस्था, विकास निर्माणमा हुने हिनामिना यी सबै समस्याहरूले नागरिकलाई मर्का पुर्याइरहेका बेला बास नेपाल मैदानमा उत्रिएको थियो । बासले जनअधिकार र सेवा प्राप्त गर्ने अधिकार प्रतिपक्षको रूपमा उपयोग गरी, जनताको आवाज उठायो, सम्बन्धित कार्यालयमा दवाब दियो, स्थानीय तहदेखि केन्द्रसम्म निगरानी गर्यो, र भ्रष्टाचारविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्यो । जसबाट सार्वजनिक निकायमा हुने ढिलासुस्ती कम भयो, नागरिकको हकमा ध्यान दिन सार्वजनिक निकाय बाध्य भए, कार्यालय प्रमुखहरू अझै जिम्मेवार बने । बास नेपाल नागरिकको आवाजमात्र नभई नागरिक अधिकारको ढाल बनेर उभियो ।
बास नेपाल युवाहरूलाई नेतृत्वमा ल्याउने एक राष्ट्रिय मञ्च हो । ५००० भन्दा बढी युवाहरु आवद्ध भएको यस संस्थामा अधिकांश युवा छन्, जसलाई बासले सिकायो– कसरी समाजमा समस्या पहिचान गर्ने ? कसरी नियमनकारी संस्थासँग संवाद गर्ने ? कसरी नागरिकलाई सचेत बनाउने ? कसरी नेतृत्व विकास गर्ने ? कसरी न्यायका लागि आवाज उठाउने ? बास नेपाल केवल संगठन होइन, युवा नेतृत्व विकासको विश्वविद्यालय जस्तै हो । युवाले बोल्नु मात्र होइन, प्रशिक्षित मन, शिक्षित चेतना र आत्मविश्वासी आवाजका साथ बोल्दै समाजिक हितमा काम गर्नुपर्छ भनेर बासले सिकाईदिएको छ ।
बास नेपालका बिभिन्न गतिविधिहरूः जसले देशभर असल शासनको चेतना फैलाइरहेको छ । सार्वजनिक जागरण अभियान, भ्रष्टाचार, ढिलासुस्ती, अव्यवस्था विरुद्ध
र्याली, हस्ताक्षर अभियान, पोस्टर–ब्यानर, सडक नाटक जनसभा जस्ता माध्यमबाट जनचेतना फैलाउने कार्य संस्थाले गरिरहेको छ । युवाहरुको क्षमता विकास गर्न अग्रसर संस्थाले सुशासनका अलवा बिभिन्न कार्यहरु समेत गर्दै आएको छ ।
बास नेपालले २५ बर्षे यात्रामा धेरै कार्यहरु गरेको छ जसमा नागरिक सशक्तिकरण, सुशासन संस्कृतिको विकास, युवा नेतृत्व बिकास, भ्रष्टाचार न्यूनीकरणमा योगदान, सामाजिक उत्तरदायित्वमा बृद्धि, सामुदायिक सहयोग र परोपकारी कार्य रहेका छन् ।
शून्यबाट सुरू भएको संस्था आज राष्ट्रिय स्तरको अभियान बनेको छ । नेपालमा सुशासन, पारदर्शिता, जवाफदेहिता बृद्धि गर्दै भ्रष्टाचारमुक्त समाज बनाउने कार्यमा अघि बढेको संस्थाले यस लक्ष्यलाई पुरा गर्न बास नेपालले गरेको कामहरू केवल आजका लागि होइन आगामी पुस्ताका लागि अमूल्य उदाहरण हुन् ।
समाज बदल्न सरकारको मात्र मुख ताकेर हुँदैन । निडर, सचेत, प्रतिबद्ध र सक्रिय नागरिकको आवश्यकता पनि त्यत्तिकै हुन्छ । मोफसलमा केन्द्रीय कार्यालय स्थापना गरेर देशैभरि मात्र नभएर अन्तर्राष्ट्रियसम्म पनि आफ्नो बर्चस्व कायम गर्न सफल संस्था बास नेपालले प्रभावकारी भूमिका बहन गरिरहेको छ ।
देशभर हजारौँ युवालाई सक्रिय बनाइ, भ्रष्टाचारविरुद्ध आवाज उठाइ, सुशासनलाई व्यवहारमा उतार्दै, जनतालाई अधिकारबारे सचेत गराउँदै अघि बढेको संस्थाको मूख्य उपलब्धि भनेको समाजमा स्थापित हुनु हो ।
यस संस्थाले देखाएको साहस, नेतृत्व र प्रतिबद्धताले आगामी पुस्तालाई प्रेरणा दिने छ र नेपाललाई सुशासनको नयाँ उचाइमा पुर्याउनेछ ।
(शाह बास नेपालकी केन्द्रीय उपाध्यक्ष हुन् ।)









