काठमाण्डौं । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय र नेपाली सञ्चारमाध्यमको समस्याका बारेमा सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत १८ गते जारी सचिव स्तरीय निणर्य र त्यसपछि कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिक रुपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भन्दै उक्त ज्ञापनपत्र बुझाएको पत्रकार महासँघले जनाएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधमण्डलले उक्त परिपत्रमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ । निर्णय पुनर्विचार गरी तत्काल नसच्याइए महासंघ संघर्षमा उत्रिन बाध्य हुने जानकारी गराइएको बताइएको छ ।
महासंघले बुझाएको ज्ञापनपत्रलाई सकारात्मक रुपमा लिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता गरेको महासँघद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ।
महासंघको प्रतिनिधिमण्डलमा उपाध्यक्ष दीपक आचार्य, नितु पण्डित र उमिदप्रसाद बागचन्द, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा र सोनी शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायत पदाधिकारी रहेका थिए ।









